ट्राफिक प्रहरीलाई ४० प्रतिशतसम्म भत्ता प्रस्ताव « Nagarik Khabar

ट्राफिक प्रहरीलाई ४० प्रतिशतसम्म भत्ता प्रस्ताव



काठमाडौं, ६ वैशाख । सरकारले ट्राफिक प्रहरी अधिकारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गर्न त्यसको कार्यविधिलाई स्वीकृत गरेको छ । गृहमन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदको बैठकले कार्यविधिलाई स्वीकृत गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्न बनेको कार्यविधि स्वीकृत गरेको जानकारी दिएका छन् । भत्ताको व्यवस्थासहित ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन कार्यविधि २०७५ स्वीकृत भएको हो । सो कार्यविधि अनुसार ट्राफिक प्रहरीमा कार्यरत सिपाही र हवल्दारले ४० प्रतिशत भत्ता पाउनेछन् । प्रहरी नायब निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक (असई) ले २० प्रतिशत भत्ता पाउने छन् भने प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी नायब उपरीक्षक (डीएसपी) ले १० प्रतिशत भत्ता पाउनेछन् ।

उनीहरुले आफ्नो न्यूनतम तलब अनुसार भत्ता पाउने गृह मन्त्रालयले जनाएको छ । धुँलो, धुँवा र अन्य कार्यालयमा भन्दा बढी समय सेवामा खटिनु पर्ने भएकाले भत्ताको ट्राफिक प्रहरीलाई भत्ता व्यवस्था गरिएको हो । यसअघि बाबुराम भट्टराईको सरकारले १५ प्रतिशत भत्ता दिने निर्णय गरेको थियो । तत्कालिन समयमा गृहमन्त्रालयले गरेको प्रस्ताव अनुसार १५ प्रतिशत भत्ता दिइएको थियो । तीन बर्ष अघि सरकारले त्यसलाई रोकेको थियो ।

हाल भत्ताका लागि कार्यविधि ल्याउन स्वीकृती मात्रै दिएको हो कार्यविधिमा प्रस्ताव गरेको भत्ता दिन अर्थले स्वीकृत गरेर बजेट निकासा गर्नुपर्ने गृहमन्त्रालयले जनाएको छ । २०६८ सालमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रोत्साहन भत्ता दिनेबारे मन्त्रिपरिषद बैठकमा प्रस्ताव गरेका थिए । प्रधानमन्त्री भट्टराईको सो प्रस्ताव सर्वसम्मत पारित भएको थियो ।

हाल देशभर करिव दुई हजार ट्राफिक प्रहरी कार्यरत छन् । उपत्यकामा मात्रै ९ सय ट्राफिक प्रहरी सवारी व्यवस्थापनमा तैनाथ छन् । प्रहरीले जथाभावी पार्किङ गर्ने, सिटबेल्टको प्रयोग नगर्ने, मादकपदार्थ सेवन गरी सवारी चलाउने, ओभरलोड, तीव्र गति, जेब्रा क्रसिङलगायतमा कारबाही गर्दै आएको छ । मादकपदार्थ सेवन गरी सवारी चलाएमा पनि ट्राफिक प्रहरीले कारवाही गर्दे आएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: