आन्दोलनको तयारी गर्न कांग्रेस सभापति देउवाको आह्वान « Nagarik Khabar

आन्दोलनको तयारी गर्न कांग्रेस सभापति देउवाको आह्वान



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली सरकारबाट मुक्ति पाउन आन्दोलन गर्ने बेला भएको बताएका छन् । उनले सरकारले सबैलाई दुःख दिएको दाबी गरे ।

नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस सभापति देउवाले सरकारको अत्याचार बढेको आरोप लगाए । निर्मला पन्तको हत्यारालाई कारबाही गर्नुको साटो बचाउन लागेको, महँगी बढेको भन्दै उनले एउटा पनि राम्रो काम गर्‍यो भन्न सक्ने अवस्था नरहेको जिकिर गरे ।

‘ओलीसँग मुक्ति खोज्ने बेला भएको छ,’ सरकारले सबैलाई दुःख दिएको भन्दै सभापति देउवाले भने, ‘भोलिको दिनमा आन्दोलन गर्न विद्यार्थी भाइहरुले पूरा तयारी गर्नुपर्छ ।’

कांग्रेस सभापति देउवाले विघटित नेपाल विद्यार्थी संघको पुनर्गठन छिट्टै गर्ने आश्वासन दिए । नेविसंघकै नेताहरुको परामर्शको आधारमा ३२ वर्षे उमेर हद लागू गर्ने नगर्ने निर्णय भन्दै उनले नेतृत्वको चयनमा अन्याय नगर्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: