नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्ने « Nagarik Khabar

नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्ने



काठमाडौं, ७ वैशाख । एसीसी यू १६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित थाइल्याण्ड पुगेको नेपाली युवा टोलीले आज (शनिबार) पहिलो खेलमा म्यानमारसंग खेल्दैछ ।

थाइल्याण्डको चियाङमाईमा नेपाल र म्यानमारबीचको खेल बिहान ९ः१५ मा सुरु हुनेछ । र, दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

म्यानमारविरुद्ध मैदान उत्रदा नेपाल जितसहित सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । तुलनात्मक रुपमा कमजोर टोलीविरुद्ध नेपाललाई जित निकाल्न कठिन भने छैन ।

प्रतियोगिताको लागि थाइल्याण्ड जानुअघि नेपाली टोलीका मुख्य प्रशिक्षक बसन्त शाहीले तयारी छोटो भएपनि आफ्नो टिम उपाधि रक्षा गर्न सक्षम रहेको बताएका थिए । साविकको विजेता नेपाललाई उपाधि रक्षाको चुनौती समेत रहेको छ ।

यू(१६ प्रतियोगितामा म्यानमारविरुद्ध नेपालको नतिजा उत्कृष्ट रहेको छ । गत संस्करणको समूह चरणको भेटमा नेपालले म्यानमारलाई ३३७ रनले हराएको थियो ।

नेपाल शनिबार पहिलो खेलमा म्यानमारविरुद्ध अघिल्लो संस्करणको जितलाई कायम राख्ने लक्ष्यमा हुनेछ । यता, म्यानमार भने नेपालसंग बदला लिने योजनासहित मैदान उत्रने छ ।

अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: