महलाई वसुन्धरा-मान पुरस्कार « Nagarik Khabar

महलाई वसुन्धरा-मान पुरस्कार



काठमाडौं, ७ वैशाख । वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानले यस वर्षको वसुन्धराश्री र मानश्री पुरस्कार बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । दुवै पुरस्कारको राशी नगद ५० हजार रुपैयाँ रहेको छ ।

वि.सं.२००७ साल वैशाख ७ गते काठमाडौंको जीतपुरफेदीमा जन्मेका विशिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ एवं २०१४ साल कार्तिक २७ गते काठमाडौंको टंगालमा जन्मेका विशिष्ट कलाकार हरिवंश आचार्यले संयुक्तरुपमा यमलोक, प्यारालाइसिस, अंशवण्डा, कक फाइट, रद्धीको टोकरी, रङ नम्वर, प्रश्नोत्तर, शपथग्रहण, ऐना, विज्ञापन, लण्डन एयरपोर्ट, वडा नं. घद्ध, श्राद्ध, पिकनिक, अभिभावक, सङ्गीत, रिमोट कन्ट्रोल, नेपालबन्द, काउकुती, नाता, २०५, बोसे आन्द्रे भुँडीको, होस्टेहैँसे, सालिक, महदोहोरी र राष्ट्रिय गाउँखाने प्रतियोगिताजस्ता कालजयी हास्यव्यङ्ग्य सिर्जना गरी जीवन्त रङ्गमञ्चीय प्रस्तुति दिएका छन् ।

सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले वासुदेव, के घर के डेरा, लोभीपापी, ट्रक ड्राइभर, शत्रु गते र दालभात तरकारीजस्ता सफल नेपाली चलचित्रहरुमा अविस्मरणीय अभिनय एवं फिप्टीफिप्टी, सन्तति, भकुण्डे भूत, दशैं, पन्ध्र गते, चिरन्जीवी, रात, वनपाले, सुर बेसुर, कान्तिपुर, राजमार्ग, पानी, कालाजार, असली लोग्ने, लक्ष्मी, लालपूर्जा, सृष्टि, जलपरी, भाइरस, टिकेको तीन मन्त्र र महचौतारीजस्ता लोकप्रिय नेपाली टेलिचलचित्रहरुको लेखन, अभिनय र निर्माण गरेका छन्। स्रष्टाद्वय श्रेष्ठ र आचार्यले संयुक्त रुपमा ’महसञ्चार’ नामक कला र रङ्गमञ्चसम्वद्ध संस्थाको स्थापना र सञ्चालनका साथै हास्यव्यङ्ग्यकृति ‘महसन’ को लेखन समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: