काठमाडौं, ७ वैशाख । गत साताको तुलनामा यो साता पुँजीबजार सुधारोन्मुख देखिएको छ। यो साता पुँजीबजार ४८.२८ अंकले सुधार भएको हो। कारोबार खुला भएको चार दिन नै बजार बढेको छ। २०७६ साल लाग्दा ११८४.०२ अंकबाट सुरु भएको पुँजीबजार एक सातामा १२३२.३० अंकमा पुगेको छ। दुई अर्ब ६२ करोड दुई लाख रुपैयाँको कारोबार भएको छ।
पुराना लगानीकर्ता सेयर बजारमा फर्किने क्रम सुरु भएकाले बजार सुधारको दिशातर्फ अघि बढेको हो । ठूला लगानीकर्ताहरू बजार सुधार हुने अपेक्षासहित बजारमा प्रवेश गरेका छन्। तीन वर्षदेखि निरन्तर रूपमा बजार घटिरहेको थियो। लगानीकर्ताको मनोविज्ञानका आधारमा बजार चलायमान हुने गर्छ। बजारप्रति लगानीकर्ता आशावादी देखिएकाले बजार बढेको शेयर विश्लेषकहरुको भनाई छ।
यो साताको पुँजीबजारलाई उकास्नुमा वाणिज्य बैंकहरूको प्रमुख भूमिका छ। साताभर कारोबार भएको रकममध्ये ६५ प्रतिशत कारोबार वाणिज्य बैंकको मात्र छ। बैंकिङ समूहको कारोबार मात्रै एक अर्ब ७० करोड ५९ लाख रुपैयाँ छ। बैंकिङ समूहको परिसूचक ७० अंकले बढेको छ। सोमबार १०५२.१६ अंकबाट बढ्न थालेको परिसूचक ११२१.६९ मा पुगेको छ।
कारोबार रकम र सेयर खरिदबिक्रीमा पनि बैंकहरू नै अघि छन्। सबैभन्दा धेरै सेयर खरिदबिक्री गर्ने शीर्ष १० कम्पनीमा बैंक छन्। कुमारी बैंकको सबैभन्दा धेरै ६ लाख ५८ हजार कित्ता सेयर कारोबार भएको छ। कारोबार रकमको आधारमा शीर्ष नौ स्थान बैंकले नै लिएका छन्। एनएमबी बैंकको १९ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
तेस्रो त्रैमासको सुरुवातसँगै असोजसम्मलाई लगानीकर्ताले सेयर खरिद गर्ने मौसमका रूपमा लिने गर्छन्। यो अवधिमा सेयरमा गरिने लगानीले छोटो समयमै प्रतिफल दिने भएकाले असोजसम्मको अवधिमा लगानीकर्ताले सेयर खरिदमा जोड दिने गरेका छन् । बजार मूल्यभन्दा वाणिज्य बैंकहरूको सेयरले उचित मूल्य पाउन सकेको छैन। थोरै लगानीमा उच्च प्रतिफल प्राप्त गर्ने विश्वासमा लगानीकर्ता छन्। वाणिज्य बैंकहरूले तेस्रो त्रैमासको प्रतिवेदन ल्याउने तयारीमा छन्। सकारात्मक वित्तीय विवरण आउने आशमा पनि लगानीकर्ताले बैंकको सेयरमा जोड दिइरहेका छन्। आर्थिक वर्षको अन्तिम त्रैमासिक सुरु भइसकेकाले सरकारी खर्च बढेर वित्तीय तरलता बढ्ने अनुमान छ। सरकारी रकम बैंकिङ च्यानलमा प्रवेश गरेसँगै ब्याजदर घट्ने अपेक्षामा लगानीकर्ता छन्।