राष्ट्र बैंकको बचत पत्र पाँच प्रतिशत मात्रै विक्री « Nagarik Khabar

राष्ट्र बैंकको बचत पत्र पाँच प्रतिशत मात्रै विक्री



काठमाडौं, ७ वैशाख । वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्ष्य गरी ल्याइएको वैदेशिक रोजगार बचतपत्र लक्ष्य अनुरुप विक्री हुन सकेको छैन । रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लaगाउने उद्देश्यले बचतपत्र ल्याइए पनि निकै कम विक्री भएको छ ।

राष्ट्र बैंकले हालसम्म ११ अर्ब आठ करोड ७९ लाख रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र जारी गरेको छ। त्यसमध्ये करिब ५८ करोड रुपैयाँ बराबरको मात्रै बिक्री भएको छ । यो जारी रकमको पाँच प्रतिशत मात्रै हो । रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगाउने उद्देश्यले सरकारले नौ वर्षदेखि बचतपत्र सञ्चालनमा ल्याएको थियो।

तर, बचतपत्रले सेयरमा लगानी गरेजस्तो लाभ नदिने र वार्षिक १० प्रतिशतमात्र ब्याज हुने भएकाले बचतकर्ताहरुको आकर्षण कम देखिएको हो। पुँजीगत लाभ नहुने भएकाले बचतपत्रप्रति आकर्षण नदेखिएकाले उद्देश्यअनुरूप रेमिट्यान्स उत्पादनशील क्षेत्रमा लगाउन समस्या परेको राष्ट्र बैंकले स्वीकार गरेको छ।
रेमिट्यान्सलाई औपचारिक च्यानलबाट ल्याएर उत्पादनशील क्षेत्रमा लगानी गर्न सरकारले विश्वासयोग्य वातावरण नबनाएका कारण पनि बचतपत्र विक्री नभएको स्रोतले जनाएको छ ।

मुलुक भित्रिएको रेमिट्यान्समध्ये अधिंकाश रकम उपभोगमै सकिन्छ। केहीले घरजग्गालगायत अनुत्पादक क्षेत्रमा लगानी गर्छन्। वैदेशिक रोजगारीमा जाने अधिकांश युवाले जीवनस्तर सुधार्न खर्च गर्नुका साथै घरजग्गा जोड्ने प्रचलन बढ्दै गएको छ।
अधिकांश युवाले दैनिक खर्च, पढाइ, घडेरी र खेतमै उपयोग गर्छन्। त्यसकारण पनि लगानीमा प्राथमिकता नभएको हो । गत वर्ष मात्र सात खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो ।

राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका नागरिकलाई बचत गर्न प्रोत्साहन गर्नुका साथै उनीहरूको बचत उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने उद्देश्यले वैदेशिक ऋणपत्र निष्कासन गर्ने गरेको छ। राष्ट्र बैंक राष्ट्र ऋण पत्र शुरुमा भने आकर्षण देखिएको थियो । अहिले भने त्यो विक्री नभएर अलपत्र परेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: