शब्दकोशकार वसन्तकुमार शर्म्मा नेपालको निधन « Nagarik Khabar

शब्दकोशकार वसन्तकुमार शर्म्मा नेपालको निधन



काठमाडौं । साहित्यकार तथा शब्दकोशकार वसन्तकुमार शर्म्मा ‘नेपाल’को निधन भएको छ।

केही दिनदेखि अस्वस्थ ९७ वर्षीय नेपालको शनिबार दिउँसो चाबहिलस्थित आफ्नै निवासमा निधन भएको हो । नेपालको ‘नेपाली शब्दसागर’ शब्दकोश तथा दर्जनौँ साहित्यिक कृति प्रकाशित छन् ।

नेपालको जन्म वि.सं. १९८४ को रामनवमीको दिन काठमाडौंको महाराजगन्जमा भएको थियो । पाँच महिनाअघि फोक्सोमा समस्या देखिएको थियो । दुई महिनादेखि परिवारकै सदस्यलाई पनि चिन्न छोडेका उनका माहिला छोरा विनयकुमारले जानकारी दिए ।

पाँच महिनाअघि फोक्सोमा समस्या देखिएको थियो । दुई महिनादेखि परिवारकै सदस्यलाई पनि चिन्न छोडेका उनका माहिला छोरा विनयकुमारले जानकारी दिए ।

उनी मस्तिष्कघात (ब्रेन स्ट्रोक), अल्सरलगायत रोगबाट पनि पीडित थिए । उनको पार्थिव शरीरलाई शनिबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली भाषामा सबैभन्दा धेरै शब्द सङ्कलन गरिएको उनको ‘नेपाली शब्दसागर’ वि.सं. २०५७ चैत ३० गते प्रकाशन भएको थियो । शब्दसागरमा एक लाख २५ हजार शब्द थिए । विसं २०७० मा ‘नेपाली शब्दसागर’ को दोस्रो संस्करण प्रकाशन गरी एक लाख ४१ हजार शब्द पुर्याइएको थियो ।

उनले महाभारतलाई गद्यमा चार खण्डमा अनुवाद गरेका छन् । यसैगरी १३५ वटा उपनिषद् पनि अनुवाद गरेको छन् । हालसम्म उनका ७६ कृति प्रकाशन भइसकेको जनाइएको छ । १०० वटा पाण्डुलिपी तयार छन् । नेपालका श्रीमती, चार छोरा र तीन छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: