भारतको प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि यौन उत्पीडनको आरोप लागेको छ । उनीमाथि उनकै पूर्वजुनियर असिस्टेन्टले यौन उत्पीडन गरेको आरोप लगाएकी हुन् ।
आरोपबारे शनिबार नै सर्वोच्च अदालतमा प्रधानन्यायाधीश गोगोई, न्यायाधीश अरुण मिश्रा र संजिव खन्नाको बेन्चमा सुनुवाइ भयो। उक्त बेन्चले प्रधानन्यायाधीशमाथिको आरोपबारे अन्य न्यायाधीशसहितको विशेष बेञ्चमा सुनुवाइ हुने बताएको छ ।
प्रधानन्यायाधीश गोगोईले आफूमाथि लागेको आरोप आधारहीन र यसको पछाडि ठूलो शक्तिको हात रहेको दाबी गरेको छन् । साथै, आरोप लगाउने महिलाको आपराधिक पृष्ठभूमि भएको समेत गोगोईले बताए। ‘उक्त महिलालाई सर्वोच्चमा कसरी जागीर मिल्यो ?’ उनले भने, ‘जबकी उसविरुद्ध आपराधिक केस छ। यसको पनि जाँच हुनुपर्छ।’
यौन उत्पीडनको आरोप लगाउने महिलाले सर्वोच्च अदालतका सबै २२ जना न्यायाधीशलाई चिठी पठाएकी थिइन्। जसमा उनले गोगोईले आफूमाथि यौन उत्पीडन गरेको, उनको प्रस्तावमा सहमत नभएपछि जागीरबाट हटाएको र आफ्नो परिवारलाई विभिन्न तरिकाले प्रताडित गरेको आरोप लगाएकी छन्।