नेकपा एकता प्रक्रिया : आज तीन शीर्ष नेताहरुवीच छलफल « Nagarik Khabar

नेकपा एकता प्रक्रिया : आज तीन शीर्ष नेताहरुवीच छलफल



काठमाडौं, ८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकिकरण प्रक्रिया चाँडो टुंग्याउन पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालमाथि दबाब परिरहेकै बेला तीन नेताहरु छलफलमा जुटेका छन। आज दिउसो देखिनै तीन नेताहरुले छलफल गरेर टुग्याउने तयारी गरेका छन्।

नेकपा स्थापना दिवस वैशाख ९ (अप्रिल २२) मा सबै प्रक्रिया टुंग्याउने भनिए पनि तीन नेताहरूबीच सहमति भएको छैन। सहमति नहुँदासम्म वैशाख ९ अर्थात सोमबार नै सबै एकता प्रकृयाको सबै विषय टुंगिनेमा नेताहरु शसंकित छन्।

यसअघि सचिवालय सदस्य वामदेव गौतमसँग भएको छलफलपछि वरिष्ठ नेता माधवकुमार नेपालसँग पटक पटक छलफल भएको थियो। नेता नेपालले विधि, मापदण्ड र वरिष्ठताको आधारमा एकता प्रक्रिाय टुग्याउन आग्रह गर्दे आएका छन्।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली र नेपालवीच एक्लाएक्लै छलफल समेत भएको थियो। सो छलफलले खासै निष्कर्ष निकालेको थिएन। विहिबार र शुक्रबारपनि दुई नेताहरुवीच छलफल भएको थियो। तर शनिवार भने ओली व्यस्त भएका कारण उनीहरुवीच भेटघाट भएको थिएन । आज आइतबार भने अध्यक्षद्धय र नेपालवीच पुनः छलफल हुने कार्यक्रम रहेको वालुवाटार स्रोतले जनाएको छ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच केन्द्रमा एकीकरण भएको एक वर्ष पुग्न लाग्दा पनि तत्लो तहमा अझै एकता भइसकेको छैन। पार्टी कार्यालयसमेत दुईवटा सञ्चालनमा छन्। शीर्षनेताहरू पटकपटक छलफलमा बसे पनि प्रक्रिया टुंगिएको छैन।

पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जिल्ला कमिटी गठन, भ्रातृ संगठन तथा मजदुर संगठनहरूको एकता प्रक्रिया टुंग्याउन अध्यक्षद्वय ओली र दाहाल, सचिवालय सदस्य रामबहादुर थापा, महासचिव विष्णु पौडेल, वरिष्ठ नेता नेपाल, सचिवालय सदस्य वामदेव गौतम र ईश्वर पोखरेलबीच छलफल भए पनि वरिष्ठता र संगठनमा लामो समय काम गरेका नेता–कार्यकर्ताको व्यवस्थापनमा कुरा मिल्न सकेको छैन।

‘एकता प्रक्रिया टुंग्याउन शीर्ष तहका नेताहरूबीच छलफल भए पनि वरिष्ठता र संगठनमा लामो समय काम गरेका नेता–कार्यकर्ताको व्यवस्थापनमा कुरा मिल्न सकेको छैन’, नेकपा स्रोतले भन्यो।

केही प्रदेश कमिटीको एकता टुंगो लागिसके पनि गण्डकी प्रदेश र प्रदेश ५ मा अझै निष्कर्ष निकाल्न सकिएको छैन। जिल्ला नेतृत्वको निर्णय नहुँदा कमिटी चलायमान हुन सकेका छैनन्। ७७ मध्ये पूर्वएमालेले करिब ४५ र पूर्वमाओवादी केन्द्रले ३२ जिल्लाको नेतृत्व लिने सहमति भए पनि नेतृत्व टुंगो लागिसकेको छैन। ४० भन्दा बढी जिल्लामा साबिक दुवै पार्टीको संयुक्त कार्यदलले स्थानीय तहको एकीकरण टुंगो लगाइसके पनि केन्द्रमा विवाद नमिलेका कारण सार्वजनिक हुन सकेको छैन।

९ गते एकीकरण प्रक्रियालाई टुंग्याउन सचिवालय बैठकसमेत राख्नुपर्छ। तर नेताहरुवीच सहमति नहँदासम्म सचिवालय बैठकको समेत टुंगो लागेको छैन। महासचिव पौडेल चीन भ्रमणबाट फर्केपछि सचिवालय बैठक बस्ने भनिए पनि अहिलेसम्म बस्न सकेको छैन। कुरा मिल्यो र सहमति भयो भने सचिवालय बैठक तुरुन्तै बस्न सक्ने एक नेताले बताए।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: