काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले शपथ गराएका हुन् । थपलिया नेपाल सरकारको सचिव थिए ।
यस्तै, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. शान्तराज सुवेदीबाट सोही समारोहमा उक्त आयोगका नवनियुक्त सदस्य विष्णुमाया ओझाले पद तथा गोपनीयताको शपथ लिइन् । नवनियुक्त सदस्य ओझासँग लामो समय अधिकारकर्मीका रुपमा काम गरेको अनुभव छ ।
थपलिया र ओझालाई राष्ट्रपति भण्डारीले गत शुक्रबार नियुक्ति गरेकी थिइन् । प्रमुख निर्वाचन आयुक्त र राष्ट्रिय समावेशी आयोगका सदस्य संवैधानिक परिषद्को सिफारिसमा नियुक्त गर्ने प्रावधान छ ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत र सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।