सामाजिक सुरक्षा भत्ताको दुरुपयोग, मृत्यु भएकाको नाममा पनि रकम निकाशा « Nagarik Khabar

सामाजिक सुरक्षा भत्ताको दुरुपयोग, मृत्यु भएकाको नाममा पनि रकम निकाशा



काठमाडौं । सरकारले नागरिकलाई उपलब्ध गराएको सामाजिक सुरक्षाभत्तामा अनियमितता रहेको पाइएको छ । स्थानीय तहले नामै नभएका, मृत्यु भइसकेका तथा कुनै विवरण नै नभएकालाई समेत सामाजिक सुरक्षा भत्ताका नाममा रकम खर्च उपलब्ध गराएको पाइएको हो ।

महालेखापरीक्षकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको मुल अभिलेख नभएको, भरपाई परीक्षण गर्दा लगतमा नाम नभएको, मुल लगतमा संख्या नमिलेको तथा, मृत्यु भइसकेका र बसाइँसराइ भइसकेकालाई समेत साामाजिक सुरक्षाभत्ता प्रदान गरेको पाइएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाले समेत सामाजिक सुरक्षा भत्ता वितरणमा लापरवाही गरेको र सम्बन्धित व्यक्ति नजाँदा पनि रकम सेवाग्राहीको खातामा जम्मा नगर्ने गरेको पाइएको छ ।

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७२ अनुसार अन्तिम किस्ताको पेश्की असार २५ गतेभित्र फछ्र्योट गर्नुपर्ने व्यवस्था भए पनि सो प्रावधानलाई पालना नगरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखाले २० लाख रुपैयाँभन्दा बढी पेश्की बाँकी रहेको तर फछ्र्योट नभएकामा नमुना परीक्षण गर्दा प्रदेश नम्बर २ का ४० स्थानीय तहले मात्रै ८४ करोड १४ लाख ६२ हजार रुपैयाँ बराबरको फछ्र्योट नगरेको पाएको छ । यस्तै, प्रदेश नम्बर ५ का १३ स्थानीय तहले २४ करोड २४ लाख ९२ हजार, प्रदेश नम्बर १ का १४ स्थानीय तहले १५ करोड ४३ लाख २६ हजार रुपैयाँ बराबरको बेरुजु फछ्र्योट गरेका छैनन् ।

मुगुको सारु गाउँपालिकाले तीन करोड ९४ लाख ६८ हजार, बाग्लुङको निस्तीखोला गाँउपालिकाले एक करोड ३८ लाख ३७ हजार, सल्यानको बागचौर नगरपालिकाले ८८ लाख १४ हजार, जाजरकोटाको भेरी नगरपालिकाले ३५ लाख १६ हजार र भक्तपुरको सूर्यविनायक नगरपालिकाले २९ लाख ४६ हजार रुपैयाँ फछ्र्योट नगरेको पाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले तोकिएको समयमा आर्थिक विवरण प्रस्तुत नगर्ने र नगराउनेलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ । यस्तै, सामाजिक सुरक्षाभत्ताको विवरणसमेत गोलमाल रहेको पाइएको छ । कसलाई के कति भत्ता दिइएको हो भन्नेसमेत स्पष्ट नभएको पाइएको छ । मूल अभिलेख र भर्पाई परीक्षण गर्दा लगतमा नाम नभएको, मूल लगतमा संख्यासमेत नभिडाएको, पाँच वर्ष उमेर पुगिसकेको दलित बालबालिकाको नाममा भत्ता वितरण भएको पाइएको छ । यस्तै, मूल अभिलेखसँग नभिडाइक भर्पाई गरेको, दोहोरो भुक्तानी गरिएको पाइएको छ । विभिन्न चार स्थानीय तहले २४ लाख ८६ हजार रुपैयाँ बराबरको रकम त्यसरी वितरण गरेको पाइएको छ ।

सामाजिक सुरक्षा कार्यक्रमतर्फ लगत नभएका, मृत्यु भइसकेका, बसाइँसराइ गरेकाले समेत पेश्की लगेको, वर्षातमा खर्च नभई बाँकी रहेको, बढी भुक्तानी गरेका १५ स्थानीय तहले असुल गर्नुपर्ने ८८ लाख ४० हजार रुपैयाँको कुनै हिसाब किताब नभएको पाइएको छ । बढी भुक्तानी भएको रकम असुल गरी सङ्घीय सञ्चितकोषमा दाखिला गर्न महालेखाले आग्रह गरेको छ ।

महालेखाले लाभग्राही किस्ताको रकम लिन नआई बाँकी भएको रकम बैंकले स्थानीय तहलाई फिर्ता गर्नुपर्नेमा नगरीकन अपचलन गरेको समेत जनाएको छ । त्यस्तो रकम एक करोड ९९ लाख ४१ हजार रुपैयाँ पुगेको छ । बैंकले लाभग्राहीको नाममा बैंक खातामा रकम जम्मा गर्नुपर्नेमा नगरीकन लाभग्राही आएपछि मात्रै दिने गरेको पाइएको छ । राज्यले उपलब्ध गराएको सामाजिक सुरक्षाको रकममा अनियमितता भएको उल्लेख गर्दै महालेखाले सम्बन्धित पदाधिकारीलाई समेत कारावाही गर्न प्रतिवेदनमा सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: