प्रधानमन्त्रीद्वारा श्रीलंका बिस्फोटको भत्सर्ना, क्षतिप्रति दुःख व्यक्त « Nagarik Khabar

प्रधानमन्त्रीद्वारा श्रीलंका बिस्फोटको भत्सर्ना, क्षतिप्रति दुःख व्यक्त



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई फोन गरी श्रीलंकामा भएको श्रृङ्खलावद्ध बम विस्फोटको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले आइतबार अपराह्न श्रीलंकाका समकक्षी विक्रमासिंघेलाई कुराकानी गर्दै बम बिस्फोटनको घटनामा कैयौं निर्दोषहरुको ज्यान गएकोमा दुःख व्यक्त गरेका छन् ।

यस्तै, प्रधानमन्त्री ओलीले आइतबार नै विक्रमासिंघेलाई समवेदना सन्देश पठाउँदै दुःख व्यक्त गरेका छन् । उनले सन्देशमा भनेका छन्, ‘आज बिहान श्रीलंकाका विभिन्न सार्वजनिक स्थानहरुमा भएको श्रृंखलावद्ध बम आक्रमणमा परी कैयौं निर्दोषहरुले जीवन गुमाउनु परेको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ ।’

प्रधानमन्त्री ओलीको सन्देशमा नेपाल सरकारले मानवताविरोधी जघन्य घटनाको भत्सर्ना गरेको उल्लेख गरेका छन् । ‘यस्तो आपराधिक घटनामा संलग्न अपराधीहरुलाई सकेसम्म चाँडै कानुनको दायरामा ल्याइनेछ भन्ने कुरामा म विश्वस्त छु । नेपाल आतंकवादविरुद्धको आफ्नो सैद्धान्तिक अडानमै उभिएर कुनै पनि रंग र रुपको आतंकवादको कडा शब्दमा निन्दा गर्दछ।’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल सरकार र सम्पूर्ण नेपाली जनताको तर्फबाट घटनाका मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । सन्देशमा उल्लेख छ, ‘दुःखको यस घडीमा हामी श्रीलंकाका मिलनसार जनताका साथ उभिएका छौँ । म घटनामा परी घाइते हुनु भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: