कांग्रेसले सशक्त प्रतिपक्ष भूमिका निर्वाह गर्छ : सभापति देउवा « Nagarik Khabar

कांग्रेसले सशक्त प्रतिपक्ष भूमिका निर्वाह गर्छ : सभापति देउवा



झापा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका जिम्मेवारसँगै सशक्त प्रतिपक्षको भूमिकाबाटै जनताको पक्षमा दृढताका साथ उभिने बताएका छन् ।

सोमबार झापाको दमकमा कांग्रेस क्षेत्रीय समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन तथा ६ पुराना कार्यकर्तालाई सम्मान गर्दै उनले वर्तमान सरकारबाट जनता आशावादी होइन्, आजित हुँदै गएको आरोप लगाए । उनले भने, ‘चुनावमा अनेकौँ लालच देखाए पनि सरकारमा आएपछि गतिलो काम गर्न सकेका छैनन् ।’उनले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खोजेको, जथाभावी पत्रकार पक्राउ गर्न थालेको, सेना परिचालनको अधिकार प्रधानमन्त्री मातहत ल्याउन खोज्नु अधिनायकवादको सङ्केत भएको जिकिर गरे ।

पार्टी विधानअनुसार बाँकी रहेका समिति सबैको सहमतिमै गठन गर्ने स्पष्ट पार्दै सभापति देउवाले पार्टीलाई बलियो बनाउन खाँचो रहेको औंल्याए । कांग्रेसको भविष्य सबै नेता, कार्यकर्तामा रहेकाले अब कांग्रेसलाई बलियो र जनताको बनाउन जुट्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कांग्रेस उपसभापति विजयकुमार गच्छदार, महामन्त्री डा. शशाङ्क कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारको कार्यशैलीको आलोचना गरे । दमक–५ स्थित पार्टी कार्यालय भवन करीब रु ३५ लाखको लागतमा निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: