आठौं राष्ट्रिय खेलकुद : आर्मी पुरुष र महिला फुटबलको फाइनल प्रवेश « Nagarik Khabar

आठौं राष्ट्रिय खेलकुद : आर्मी पुरुष र महिला फुटबलको फाइनल प्रवेश



दाङ । त्रिभुवन आर्मी क्लबको पुरुष र महिला दुवै टिम आठौं राष्ट्रिय खेलकुदअन्तर्गत फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा प्रदेश नम्बर ५ लाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।

नेपालगंज रंगशालामा भएको खेल बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जसमा आर्मीले सफलता हात पार्यो । पेनाल्टीमा आर्मीका नवयुग श्रेष्ठ, विवेक बस्नेत र सन्तोष तामाङले गोल गरे । यस्तै, प्रदेश नम्बर ५ का कृष्ण रानाभाटले मात्र गोल गरे ।

पेनाल्टीअघि खेलमा २० औं मिनेटमा आर्मीले दिपेनसिंह ठकुरीको आत्मघाती गोलबाट आर्मीले अग्रता बनाएको थियो । खेलको ३१ औं मिनेटमा दिपकुमार लामाले गोल गर्दै आर्मीको अग्रता २–० को बनाए ।

तर, खेलको ७५ औं मिनेटमा विनोद केसीले पेनाल्टीमा गोल गर्दै प्रदेश नम्बर ५ लाई खेलमा फर्काए । त्यसपछि खेलको ८० औं मिनेटमा विनोदले पेनाल्टीमा नै व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।
यस्तै, मंगलबार नै भएको महिलातर्फको खेलमा खेलमा त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेको छ । दाङको बेलझुण्डी रङ्गशालामा भएको खेलमा प्रदेश नम्बर ३ लाई ०–६ गोलले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।

खेलमा आर्मीका शर्मिला थापा र कृष्णा खत्रीले २ र २ गोल गरे । शर्मिलाले पहिलो हाफको ३७ र ४० औं मिनेटमा लगातार गोल गरेकी थिइन् । यस्तै, कृष्णाले दोस्रो हाफको १५ र २२ औं मिनेटमा लगातार गोल गरेकी थिइन् । विमला चौधरीले पहिलो हाफको १० औंं र इन्दिरा राईले दोस्रो हाफको ३५ औंं मिनेटमा गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: