देशलाई समृद्ध बनाउन साहस र धैर्यको खाँचो : प्रधानमन्त्री ओली (भिडियोसहित) « Nagarik Khabar

देशलाई समृद्ध बनाउन साहस र धैर्यको खाँचो : प्रधानमन्त्री ओली (भिडियोसहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यको खाँचो रहेको बताएका छन् । प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै उनले साहसी आरोही पासाङको प्रेरणा र आत्मविश्वासबाट अघि बढ्न सके देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने बताए ।

‘हामी आज राष्ट्र निर्माणको एउटा राष्ट्रिय अभियानमा जुटिरहेका छौँ, यस्तो बेलामा साहस र धैर्यसँगै आत्मविश्वासको पनि आवश्यकता छ, त्यही आत्मविश्वासका साथ अगाडि बढेर देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सक्दछौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले पासाङल्हामुबाट प्रेरणा र हौसला लिनुपर्छ, असम्भव भन्ने चिज केही छैन । असम्भवलाई सम्भव बनाउन सक्दछौँ, देशलाई विकसित गर्न सक्छौँ ।’

प्रधानमन्त्री ओलीले पासाङल्हामु नेपाली महिलाका लागि प्रेरणा र साहसको प्रतीक हो भन्दै नेपाली महिला पनि कम छैनन्, सगरमाथाको शिखरमा पाइला टेक्न सक्छन् भन्ने दृष्टिान्त पहिलो पल्ट नेपाली महिलाको तर्फबाट पासाङल्हामुले पुष्टि गरेको बताए ।

‘नेपालको पर्वतारोहणको गौरवपूर्ण इतिहास रहेको र यस पटक सगरमाथाको पुनः उचाइ मापनको काम अघि बढाइएकाले यसको वास्तविक उचाइ पत्ता लाग्ने छ,’ उनले भने, ‘सगरमाथाको उचाइका सम्बन्धमा विभिन्न भिन्नता देखा परेका छन् । तीनलाई कुनै विवाद नहुने गरी सोको टुङ्गो लगाइनेछ । नेपाल र चीन दुवैतर्फबाट सगरमाथाको वास्तविक उचाइ पत्ता लगाइनेछ ।’

प्रधानमन्त्री ओलीले पासाङल्हामु सबैको प्रेरणा र आदरणीय व्यक्तित्व भएकाले उनको स्मरणलाई अर्थपूर्ण र सम्मानजनक ढङ्गले स्थापित गर्न पासाङल्हामु स्मारक निर्माणका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी पर्वतारोहण इतिहासमा प्रथम नेपाली महिलाको कीर्तिमान कायम गर्न सफल भएकी थिइन् । उनले २०५० वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेका थिए । सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गर्नुभएकी पासाङल्हामुको आरोहण सकेर फर्कने क्रममा मृत्यु भएको थियो ।

“>

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: