बार्सिलोना उपाधि नजिक « Nagarik Khabar

बार्सिलोना उपाधि नजिक



बार्सिलोना स्पेनिस ला लिगा उपाधि निजक पुगेको छ । मंगलबार भएको खेलमा अलाभेसलाई २–० गोलले पराजित गर्दे बार्सिलोना स्पेनिस ला लिगाको अर्काे उपाधि नजिक पुगेको हो ।

स्पेनिस ला लिगामा अन्तिम चार चरणको खेल बाँकी रहँदा बार्सिलोना उपाधिबाट मात्रै तीन अंकले पछि छ । बाँकी रहेको चारमध्ये एक खेलमा जित हात पारेको अवस्थामा बार्सिलोनाले यो सिजनको स्पेनिस ला लिगा उपाधि जित्ने छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडले बाँकी रहेकोमध्ये एक खेलमा पराजय बेहोरे वा सबै खेलमा गरी तीन अंक गुमाएको अवस्थामा समेत ला लिगा उपाधि बार्सिलोनाले पक्षमा जाने छ ।

यो समिकरणमा बार्सिलोना बुधबार नै स्पेनिस ला लिगाको उपाधि विजेता बन्ने सम्भावना पनि रहेको छ । बुधबार भ्यालेन्सियाविरुद्ध हुने तय भएको खेलमा एट्लेटिको म्याड्रिड पराजित भएको अवस्थामा बार्सिलोनाको उपाधि निश्चित हुने छ ।

भ्यालेन्सियाविरुद्धको खेलमा एट्लेटिको विजयी बनेको अवस्थामा समेत बार्सिलोना यही शनिबार आफ्नो घरमा हुने खेलमा लेभान्तेलाई पराजित गर्दै उपाधि जित्न सक्षम हुने छ । बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भालभर्दी आफ्ना कुन समय भन्दा उपाधि जित्नु नै महत्वपूर्ण रहेको बताए ।

‘हामी कहिले उपाधि जित्छौ भन्ने कुराले खासै महत्व राख्दैन’, प्रशिक्षक भालभर्दी भन्छन्, ‘हामी जहिले सक्छौं, मात्रै उपाधि जित्न चाहन्छौं । किन भने हामीलाई राम्रोसँग थाहा छ कि स्पेनिस ला लिगाको उपाधि जित्न निक्कै मुस्किल छ ।’

बार्सिलोनाले मंगलबार आफ्ना महत्वपूर्ण खेलाडी लियोनल मेसी बेञ्चमा रहँदै दुई गोल गर्दै जित निश्चित गरेको थियो । खेलको दोस्रो हाफमा ६ मिनेटको अन्तरमा दुई गोल गर्दै कार्लेस एलेना र लुइस सुआरेजले बार्सिलोनाको जित पक्का गरेका थिए । बार्सिलोनालाई खेलको ५४औं मिनेटमा एलेनाले १–० ले अघि बढाएका थिए । सर्जी भालभर्दीले क्रस गरेको बललाई सुआरेजले मिलाई दिएपछि एलेनाले गोल गरेका थिए । त्यसपछि खेलको ६०औं मिनेटमा पेनाल्टी अवसर सदुपयोग गर्दै सुआरेजले टोलीको जित २–० ले पक्का बनाएका थिए ।

टोलीका लागि विजयी गोल गरेका एलेना आफू टोलीका लागि शनिबार उपाधि जित्न इच्छुक रहेको बताउँछन् । ‘एट्लेटिकोको खेलले पनि हाम्रो उपाधिको निर्धारण गर्ने छ’, एलेनाले भने, ‘तर, म शनिबार घरमै हुने खेलसँगै उपाधि जित्न चाहन्छु । किन भने त्यसले हामीलाई घरमा घरेलु समर्थकसँग उपाधिको खुसी मनाउँने अवसर दिने छ ।’

खेलमा केसी खेलको ६०औं मिनेटसम्म बेञ्चमै थिए । उनी ओस्मान देम्बेलेको स्थानमा खेलको ६१औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए । यो जितसँगै बार्सिलोनाले सबै खाले प्रतियोगितामा गरी आफ्नो अपराजित यात्रालाई २१ खेलसम्म लम्ब्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: