नागरिकका लागि नागरिक खबर « Nagarik Khabar

नागरिकका लागि नागरिक खबर



आज वैशाख ११ अर्थात सार्वभौम नेपाली जनताको अजेय शक्तिले निरंकुश राजतन्त्रलाई घुँडा टेकाएको ऐतिहासिक दिन, लोकतन्त्र दिवस । लोकतन्त्र दिवसको अवसरमा सबैमा शुभकामना ।

यस अभूतपूर्व दिनको अवसरमा ‘अनलाइन मल्टिमिडिया’ नागरिकखबर डटकम शुभारम्भ गर्न पाउँदा अत्यन्त हर्षित छौँ । हामीसँग ठूला संकल्प छैनन् । न ठूला प्रतिबद्धता र योजना छन् । सकेसम्म हामी हरेक नागरिकका आवाजलाई स्थान दिने कोशिस गर्नेछौँ । पत्रकारिताको मूल्य मान्यतामा रहेर ईमान्दारपूर्वक काम गर्नेछौँ ।

पत्रकारिताले विश्वास गुमाइरहेको, अनलाइन पत्रकारिताप्रति नागरिकका गुनासा बढेकोप्रति हामी जानकार र सचेत छौँ । विश्वव्यापी र नेपालमा पनि मल्टिमिडियाको उच्च अभ्यास भईरहँदा सामान्य रुपमा शुभारम्भ भएको नागरिक खबरका अनेक चुनौती छन् । हामी प्रष्ट छौँ, सुरुवात जगमात्रै हो । दिन प्रतिदिन ईट्टा थप्दै जाने छौँ । पाठक, दर्शक र स्रोताका अमूल्य सुझावबाट नै ईट्टा थपिने छन् ।

निरंकुश शासनले सञ्चार माध्यम माथि लगाएको प्रतिबन्ध लोकतन्त्रले स्थापित गरेको थियो । त्यसैको जगमा सञ्चार माध्यमको विकास र विस्तारले नेपालमा ठूलो फड्को मारेको छ । आज हामी त्यहीं आन्दोलनको बलमा स्थापना भएको व्यवस्थामा स्वतन्त्र रुपमा लेख्ने, बोल्ने र अभिव्यक्ति गर्ने स्वतन्त्रताको प्रयोग गरिरहेका छौँ ।

लोकतन्त्र र गणतन्त्र प्राप्तीको लामो अवधिमा पनि जनताका आकांक्षा पूरा भएका छैनन् । लोकतन्त्र सुदृढ् हुन सकेको छैन । भ्रष्टाचार र अनियमितताका श्रृङ्खला बढेका छन् । जति अपेक्षा हुन्छ स्वभावैले उति निराशा पनि हुन्छ । नागरिकमा अहिले त्यस्तै निराशा छाएको छ । गलत काममा हाम्रो खबरदारी हुनेछ भने राम्रो कामको हामी प्रशंसा गर्नेछौं ।

हाम्रो लोकतन्त्रको सुन्दर पक्ष भनेको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीता हो । राज्यबाट पिछडिएको, अपहेलित भएको महसुस गरेका महिला, दलित, आदिवासी जनजाति, मधेसी, सिमान्तकृत अल्पसंख्यक, पिछडिएको क्षेत्रका अझै असन्तुष्टीहरु छन् । राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ् गर्दै लोकतन्त्रलाई बलियो र आम नागरिकलाई अपनत्व दिलाउन गरिने अभियानमा हाम्रो साथ रहनेछ ।

देश स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको यात्रामा छ । यो यात्रा तीव्र हुनुपर्दछ । र, यो यात्रामा हरेक कुरामा नागरिक सचेत हुनुपर्दछ । खबरदारी जारी राख्नुपर्दछ । नागरिकको खबरदारी अभियानमा नागरिक खबरसँगै हुनेछ ।

पाठक, दर्शक र स्रोता, नागरिक खबर तपाईंकै हो । रचनात्मक आलोचना, सुझावको अपेक्षा छ । अरुको खबरदारी गर्ने हामीलाई पनि खबरदारी चाहिन्छ । हामी विश्वास दिलाउन चाहन्छौँ, नागरिक खबर हरेक नागरिकका आवाज बोक्ने सत्य, निष्पक्ष, स्वतन्त्र र भरपर्दो व्यावसायिक पत्रकारिताको एक स्तम्भ हुनेछ ।

नागरिकका लागि नागरिक खबर ।

 डण्ड गुरुङ
अध्यक्ष
नेपालश्री मल्टिमिडिया प्रा.लि.

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: