‘माओवादीका कारण लोकतन्त्रको स्थापना’ (भिडियो सहित) « Nagarik Khabar

‘माओवादीका कारण लोकतन्त्रको स्थापना’ (भिडियो सहित)



हामीले बैशाख ११ गतेलाई लोकतन्त्र स्थापना दिवसको रुपमा मानेका छौं। लोकतन्त्र दिवस झण्डै ७० वर्ष लामो लोकतान्त्रिक आन्दोलनको एउटा घटना हो। लोकतन्त्रपछि हामी जेठ १४ गतेलाई गणतन्त्र दिवस र असोज ३ गतेलाई संविधान दिवसको रुपमा मानेका छौं। यी सबै ऐतिहासिक दिनलाई संस्थागत गर्ने दस्तावेज निर्माण भएको दिनलाई संबिधान दिवसलाई नै मुख्य बनाएर जानुपर्छ भन्ने निर्णय गरेको छ। जसले गणतन्त्र, लोकतन्त्र, जनयुद्ध, विभिन्न जनआन्दोलन, मधेश आन्दोलन,जनजाति आन्दोलन सबैलाई समेट्ने छ।

२०६२/६३ ताका म तत्कालीन नेकपा माओवादीको राजधानी काठमाडौंसहित यसका वरिपरिका नारायणी, बाग्मती, गण्डकीका केही जिल्लासहितको विशेष कमाण्डको इन्चार्ज थिएँ । म राजनीतिक इन्चार्च र सैन्य कमाण्डको पनि सहइन्चार्च थिएँ । २०६२/६३ को १९ दिने जनआन्दोलनमा हामीले काभ्रेबाट मात्रै ९१ हजार ६०० जना काठमाडौं पठाएका थियौं । जनयुद्धको जगमा जनआन्दोलन र जनआन्दोलनमा पनि हाम्रो प्रत्यक्ष सहभागिता थियो। त्यसैले यसमा कुनै पार्टीको योगदानलाई धेरै र थोरै भनी मूल्यांकन गरिनु हुँदैन।

२००७ साल वरिपरिका लोकतान्त्रिक, सशस्त्र, शान्तिपूर्ण र सबै प्रकारको आन्दोलनको योगको रुपमा अहिलेको संविधान, व्यवस्था र परिवर्तन आएको हो। त्यसैले यसलाई नै स्थापित गरेर नै जानुको बिकल्प छैन।

बैशाख ११ भनेको तत्कालीन राजा ज्ञानेन्द्रविरुद्ध सात राजनीतिक दलले तत्कालीन माओवादीसँग गठबन्धन गरेर १२ बुँदे समझदारीमार्फत जनयुद्ध र जनआन्दोलनलाई समायोजन गरेर १९ दिने आन्दोलन सुरु गरेको दिन हो। त्यसको क्लाईमेक्सको रुपमा राजा ज्ञानेन्द्रपछि हटेको रुपमा हामीले विशेष स्मरण गरेका छौं।

राजतन्त्रको पाटोको रुपमा राजा ज्ञानेन्द्र पछि हटे। तर राजतन्त्र जेठ १४ को घोषणाबाट अन्त्य गर्यौं । यसमा विभिन्न विश्लेषण छ। तर, यो एउटा ऐतिहासिक परिघटना हो । यसलाई हामीले सम्मान र आत्मसात् गर्नुपर्छ । घटनालाई अलगअलग गरेर हेरियो भने न्याय हुँदैन।

माओवादीको कोणबाट हेर्दा १२ बुँदे सहमतिमा माओवादीको पहल छ। प्रयत्न छ । सात दल तीनचार वर्षदेखि आन्दोलनरत थिए। तर, उनीहरुको आन्दोलन निर्णायक बन्न सकेको थिएन । माओवादी जनआन्दोलन १० वर्षदेखि चलिरहेको थियोे । ऊ पनि सफल भएको थिएन । यद्यपि, माओवादी जनयुद्धले सामन्तवादका जराहरू गाउँबाट काट्दै शहरसम्म र झण्डै काठमाडौंको नाराणहिटीमा मात्रै सीमित गरेको अवस्था थियो।

त्यही समयमा दुवै शक्तिले मिलेर जानुपर्छ भन्ने अनुभूत गरेर दुवै पक्ष मिलेर राजतन्त्रमाथि प्रहार गरेको ऐतिहासिक परिघटनालाई बैशाख ११ लाई लिनु पर्दछ।

जनयुद्धको भूमिका बढी

माओवादीले आफ्नो २१ औं शताब्दीकोजनवादअन्तर्गत एउटा प्रस्ताव पास गरेको छ । जसमा बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, विगतको भन्दा अहिलेको समाजवाद फरक हुन्छ । प्रतिस्पर्धात्मक र गतिशील हुन्छ भनेको छ । उसको त्यही ‘कन्भिक्सन’को आधारमा राजतन्त्रविरुद्ध संघर्ष गर्न तयार हुने शक्तिहरुसँग सहकार्य गर्नुपर्छ भन्ने निस्कर्षमा पुगेको हो । र, त्यो सहकार्यमा गएको हो।

त्यसैले तत्कालीन माओवादीको लोकतान्त्रीकरण, कांग्रेस, एमालेलगायत सात दलको अलिकति गणतन्त्रिककरण, समावेशीकरण, धर्मनिरपेक्षकरण अनि संघीयताकरण भएको हो। त्यसैले यसमा को के भन्दा पनि समग्र उपलब्धीको हिसाबले भन्दा सबै माओवादीले उठाएको एजेन्डामा गएको हो ।

माओवादीले उठाएको एजेण्डामा जाँदा यसलाई प्रतिस्पर्धात्मक ढंगबाट जनताको अभिमत र संविधानसभामार्फत जाउ,, हिजो एकअर्काविरुद्ध लडेका शक्तिहरू आज राजतन्त्र मुख्य भएर आउँदा त्यसकाविरुद्ध लडौं र हामी सहकार्य र आपसी रचनात्मक प्रतिस्पर्धा गरौं भन्नेमा पुगेको हो।

त्यसैले यो नयाँ धार बनाइएको हो। यो विशुद्ध माओवादी धार थिएन। यो संसदीय धार पनि थिएन। यो लोकतान्त्रिक, गणतान्त्रिक धार थियो। हिजो राजतन्त्र भनिथ्यो, राजा र प्रजा थियो । अहिले हामी नागरिक भयौं। जनता भयौं । अर्थात्, सबै बराबरी भयौं । यो माओवादीको जनयुद्धको आधार र संसदवादी पार्टीसँगको सहकार्यले सम्भव भएको हो। यो कुरा सबैको स्वीकार गरेको पनि हो।

त्यसैले एकले अर्कालाई कसैले कसको मात्रा कति भन्दा पनि जनयुद्धले उठाएको धेरै माग पूरा भएकाले जनयुद्धको मात्रा बढी देखिन्छ। यो माओवादीले एक्लै गर्छु भनेको थियो तर अन्य पार्टीसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने भएकाले यसमा माओवादी केही लोकतान्त्रिक प्रतिस्पर्धामा आयो भन्दा केही हिचकिचाहट गर्नुपर्ने छैन।

माओत्से तुङले सन् १९४९ मा जनवादी क्रान्ति गर्नुभयो। सन् १९५६ मा समाजवादतर्फ जाने भन्नुभयो । समाजवादमा गएपछि पनि तलब स्केल फरक भयो । बराबरी हुनुपर्नेमा किन यस्तो भन्ने प्रश्न गरियो । मानसिक श्रम र भौतिक श्रमबीच फरक रहन्छ । गाउँ र शहरबीच फरक रहन्छ। निजी सम्पत्ति र सामुहिक सम्पत्तिबीच केही संघर्ष र अस्तित्व पनि रहन्छ। त्यसैले यो साम्यवादसम्म पुग्दा यो चलिरहने संघर्ष हो भनेका छौं। तर, केही मान्छेसँग मात्रै सम्पत्ति रहने अवस्थाको अन्त्य गर्ने हो भनेर माओत्से तुङले भन्नुभएको थियो ।

हामीले भनेको पनि यस्तै हो। अहिले राजा र प्रजा कोही छैन। राजाले दिएको प्रजाहरुको तन्त्र छैन। राजा र रैतीहरुको अवस्था छैन । हामी सबै समान नागरिक भएका छौं। सबैभन्दा ठूलो कुरा हो यो । नागरिक वा जनताले छनोट गर्ने शासकीय विधिबाट र प्रनिनिधिबाट शासन हुनु धेरै राम्रो हो । संविधानले नै समाजवाद उन्मुख भनेको छ । यो राम्रो हो । प्रतिस्पर्धात्मक समावेशी लोकतान्त्रक भनेको छ । यो पनि राम्रो हो। कोही पनि मुलधारभन्दा बाहिर रहँदैन भनेको छ।

यद्यपि, मुल प्रवाहमा अघि हिँडेका केही अघि नै हुँदो रहेछन्। शहरहरु अघि र गाउँहरु पछि नै हुँदा रहेछन्। पढेलेखेका सचेत व्यक्तिहरु नयाँ व्यवस्थामा पनि केही अघि नै हिँडिहाल्दा रहेछन् । पछि परेकालाई जगाउन समय लाग्दो रहेछ । ३० औं, ४० औं वर्षमा चलिरहेको संस्कार संस्कृतिजन्य कमजोरीहरु रातारात लोकतन्त्र, गणतन्त्र आएर परिवर्तन आउँदो रहेनछ।

ठूलो कुरा के रहेछ भने विगतमा जस्तो हतियार उठाएर व्यवस्था बदल्नुपर्ने, जस्तो २००७ सालमा नेपाली कांग्रेसले बदल्यो। २०२८ सालमा तत्कालीन झापा समूह वा मालेले बदल्न खोज्यो, पछि फेरि २०१८ देखि ३१/३२ मा कंग्रेस र माओवादीले २०५२ देखि २०६२ सम्म कोसिस गर्यो।

समाजवादतर्फको यात्रा

अब सशस्त्र आन्दोलनविनै जनअभिमतबाटै आफ्नो कुराहरु गर्न सकिन्छ । समाजवादतर्फ जान सकिन्छ भन्ने सबैभन्दा ठूलो उपलब्धी हो । अबको राजनीतिक संघर्ष सशस्त्र वा हिंसात्मक हैन, शान्तिपूर्ण प्रतिस्पर्धात्मक जनताको अभिमतको हुन्छ । त्यो स्पेस छ भनेको हो र सबैभन्दा ठूलो परिवर्तन यो हो।

यस अर्थमा यो महान कुरा हो। जनताको विजय पनि हो । तर, यस परीपाटीमा आर्थिक, राजनीतिक र अवसरको कुराहरू योभन्दा अझ राम्रो हुनुपथ्र्यो। त्यो भइरहेको छैन । यसमा हाम्रो शासकीय कमजोरी छ। आन्दोलनबाट आएका पार्टी र नेताहरु छौं । हामी शासकीय क्षमताबाट जन्मिएका होइनौं । हाम्रा कार्यकर्ता र जनताहरू पनि आन्दोलन र आलोचना मन पराउँछन् । विरोध मन पराउँछन् । निर्माण हुँदै छ भन्यो भने के काम भएको छ र ? भन्छन् । फलानो मन्त्री या मन्त्रालयले राम्रो काम गर्दैछ भन्यो भने हाम्रै मिडियाले पनि समाचार बनाउँदैनन् ।

आलोचनात्मक भयो, त्यहा भत्कियो, बिग्रियो भन्यो भने हुन्छ । ठूलै काम ग¥यो भने चाहि यो सामान्य हो भन्ने हुन्छ । त्यसैले हामी रचनात्मक, निर्माणमुखी, विकासमुखी राजनीति बनाउने क्रममा छौं । हाम्रो साेंच संस्कार बनाउने क्रममा छौं । यो बन्दै पनि जानेछ । यसलाई अन्यथा लिनु पनि हुँदैन ।

राजनीतिक क्रान्ति कठिन भए पनि सापेक्षित सजिलो पनि हो । यसलाई आर्थिक क्रान्तिमा बदल्नु अझ मुस्किल काम हो । मान्छेको वैचारिक क्रान्ति, सोच्ने तरिका परिवर्तन गर्ने र संस्कार परिवर्तन गर्नु धेरै कठिन काम हो । यसमा समय लाग्छ ।

यसमा नेतृत्वले धैर्यतापूर्वक कोसिस गर्नुपर्छ । नबुझ्नेलाई बुझाउनुपर्छ । आलोचना गर्नेलाई पनि विश्वासमा लिँदै, खण्डन गर्दै आफ्नो कुरा राख्नु पर्दछ । कुनै बेला धर्मनिरपेक्षता, समावेशिता, संघीयता, गणतन्त्रलाई जनताले विरोध गर्दा सम्भव नहोला कि जस्तो भएको थियो । अहिले सम्भव भएको छ । जनताको आदत बनेको छ । जीवन पद्धति बन्यो ।

सामन्तवादमा केन्द्रिकृत व्यवस्थामा केही मान्छे वा एक जना व्यक्तिले शासन गरेको बानीबाट धेरै जनाले सल्लाह गर्दा, यसले त सक्दो रहेनछ, यो त कमजोर रहेछ जस्तो लाग्न सक्छ । तर, यो बिस्तारै बानी हुन्छ । संस्कार, कार्यशैली बन्दै गएको छ । लोकतन्त्रको सुन्दरता पनि यही हो ।

लोकतन्त्रको प्रयोग गर्ने आधार अभ्यासबाटै हो । भारतमा संविधान बनेको अहिले ७० वर्ष नाध्यो । त्यहाँ पनि संघीयताको अभ्यास गर्दै विकसित गरियो । पहिले ‘क्वासी फेडेरल’ अर्थात् अर्ध संघीयता भनिन्थ्यो । अहिले पूर्ण संघीयता भनिन्छ । केही अभ्यासले अफ्ठ्यारा फुकाउँदै गयो । केही अभ्यास गर्दै जनतालाई शासकीय अधिकार दिनेमा गयो । केही अदालतले व्याख्या विश्लेषण ग¥यो । केही अन्तर्राष्ट्रिय अनुभव पनि भयो र अहिलेको शासकीय स्वरुपमा गयो ।

मैले भन्न खोजेको कुुरा, चिनियाँ मोडलको समाजवाद, जसलाई आफ्नो चरित्रसहितको भनिन्छ, उनीरुले पनि सांस्कृतिक क्रान्ति गरे । फेरि आर्थिक रुपान्तरण, सुधारका काम गरे । अहिले चीन विश्वको दोस्रो अर्थतन्त्रको रुपमा अघि बढेको छ ।

हाम्रो पनि केही समय लिन्छ । हाम्रो केही राजनीतिक, शासकीय, प्रशासनिक कुराहरुलाई परिमार्जन गर्दै जानुपर्छ । मुल सिद्धान्त ठीक छ तर हाम्रो आर्थिक कुराहरु पनि अभ्यासका साथ जानुपर्छ ।

अधिकार रक्षामा चुनौती

हामीसँग युवा जनशक्ति छ । प्राकृतिक स्रोत साधन छ । हामी दुई ठूला अर्थतन्त्र भएको देशको बीचमा छौं । ती देशको उपलब्धी हाम्रो लागि पनि उपलब्धि हो । किनकि, त्यसलाई सदुपयो गर्न सके हामीलाई फाइदा छ । तर, यसलाई ठीक ढंगले प्रयोग गर्न सकनौं भने यो हाम्रा लागि कमजोरी पनि हुनसक्छ । दुई विशाल छिमेकीले बजार हस्तक्षेप गर्ने, हामी उपभोक्ता मात्रै हुने, हामी आफ्नो सीमा सुरक्षा गर्न नसक्ने, सार्वभौमिकता र स्वाधीनता खतरामा पर्ने सम्भावना पनि छ ।

तर, यसमा नेतृत्व अर्थात् राज्य संरचना कस्तो बनाउँछौ भन्ने पनि हो । हामी अलि प्रजातान्त्रिक, समावेशी, स्वाधीनता, विकासमुखी, देशभक्तिपूर्ण र स्वाभिमानी तरिकाले सोच्ने राज्य संरचनामा छौं । यसबाट देशले कोर्स पनि लिन्छ । यदि हामी सक्दैनौं, अरुले सोच्दिन्छन्, ठूला छिमेकी छन् भन्ने हो भने पराधीन खालको राज्य संरचना बन्दै जानेछ । त्यसैले अहिलेको चरण संस्थाहरु निर्माण गर्ने, नेतृत्व निर्माण गर्ने चरण पनि हो ।

देश विकास संस्थाले गर्छ । संस्था भनेको व्यक्ति पनि हो । प्रधानमन्त्री राम्रो हुनुप¥यो । मन्त्रीहरु राम्रो हुनुप¥यो । पार्टी अध्यक्ष राम्रो हुनुप¥यो । मिडिया राम्रो हुनु पर्छ । किनकि, मडिया एउटा संस्था हो । त्यसलाई चलाउने प्रकाशक वा सम्पादक पनि एउटा संस्था हो ।

त्यसको सोच्ने, गर्ने तरिका राम्रो हुँदा सबै राम्रो हुँदै जान्छ । यो मेरो विश्वास हो। बिस्तारै दूरदृष्टिका साथ देश जानुपर्छ । सन् २०२१ को भिजन अघि सारेको छ । दूरदृष्टि २५ वर्षको । १५ औं योजनाको आवधिक योजना तर्जुमा भइसकेको छ । यो वर्षलाई हामीले आधार वर्षको रुपमा सबैभन्दा बढी कानुन बनाएका छौं । परिमार्जन गरेका छौं । संरचनाको कुरा गरेका छौं। संघीयतालाई कार्यान्वयन सुरु गरेका छौं । अब अर्को वर्षदेखि नतिजा दिने हो । यदि नतिजा आएन भने आलोचना र समीक्षाको विषय हुन्छ । यो वर्ष नीतिगत, संरचनागत र संगठनात्मक आधारहरु बनाइएको छ । त्यसैले देश अहिले सही दिशामा छ भन्ने लागेको छ ।

लोकतन्त्र दिवसको अवसरमा भन्नुपर्दा जनताको आकांक्षा ठूलाठूला छन्। हुन्छन् र हुनु पनि पर्छ। सूचना प्रविधिले विश्व अहिले एउटै गाउँ जस्तो भएको छ। सामसुङ, आइफोनको कुनै नयाँ भर्सन सार्वजनिक हुन साथ त्यही साता नेपाल आइपुग्छ। तर, हाम्रो आर्थिक अवस्था त्यसलाई थेग्ने भएको छैन ।

पेरिस र लण्डनमा नयाँ फेसन आइपुग्नबित्तिकै नेपालमा आइपुग्छ। हाम्रो क्रय शक्ति त्यहाँ पुगेको हुँदैन। अमेरिका, चीनमा कुनै नयाँ अन्वेषण हुँदा नेपालमा आइपुग्छ । तर, हाम्रो चेतना त्यो स्तरमा हुँदैन । कलकत्तामा पहिले मेट्रो आएको हो। दिल्लीमा धेरैपछि भएको हो । त्यहाँ तीन महिनासम्म मेट्रो चढ्ने तालिम दिइएको थियो ।

यसको अर्थ शिक्षा र जनताको स्तरअनुसार त्यहाँ धेरै विकासको चिजहरु पनि जाँदा रहेछन्। कहिले प्रविधि र विकास अघि लिएर आउने तर मान्छेको चेतना पछि रहने। त्यसैले मान्छेको चेतना र प्रविधि पनि बढाउने। हाम्रो काम गर्ने तौरतरिका बढाउँदै लानुपर्ने छ।

त्यसअर्थमा हाम्रो शैक्षिक, सामजिक चेतनाको स्तर उठ्दै गएको छ। यसले अनिवार्य रुपमा हाम्रो विकासको चेतना पनि उठाउने छ। र, हाम्रो देश समृद्धितर्फ जान सक्छ । धैर्यतापूर्वक जहाँ जहाँ पुगेको छैन, त्यहाँ जनताको आलोचना जरुरी छ । मिडियाको आलोचना जरुरी छ। तर, फेरि हामी सही दिशामा छौं है भनेर पनि विश्वासका साथ जानु पर्दछ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: