के हामी सही बाटोमा छौं ? हाम्रो नेतृत्व सही बाटोमा छ ? (भिडियो सहित) « Nagarik Khabar

के हामी सही बाटोमा छौं ? हाम्रो नेतृत्व सही बाटोमा छ ? (भिडियो सहित)



काठमाडौं । २०६३/६३ को ऐतिहासिक जनक्रान्तिबाट नेपालमा लोकतन्त्र स्थापना भएको १४ वर्ष पूरा भएको छ। उक्त आन्दोलनमा तत्कालीन नेकपा एमालेको आन्दोलन परिचालन समितिको मुख्य व्यक्ति म पनि हुँ।

त्यसैले त्यो आन्दोलन कस्तो जगमा उभिएको थियो भन्ने म अहिले पनि स्मरण गरिरहेको छु । विशेष गरी माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सम्पूर्ण सत्ता हातमा लिएपछि मुलुकमा एउटा ठूलो राजनीतिक अन्योलता सिर्जना भएको थियो । त्योभन्दा अगाडि मुलुक एउटा ठूलो द्वन्द्वमा थियो । एकतर्फ त्यस समय तत्कालीन नेकपा माओवादी सशस्त्र रुपमा अघि बढिरहेको थियो । संसदीय व्यवस्थाभित्र गतिविधि गर्दै आइरहेका नेकपा एमाले, नेपाली कांग्रेसजस्ता पार्टीहरु थिए। अर्कोतर्फ राजा ज्ञानेन्द्र शाह थिए, उनीसँग परम्परागत राजतन्त्रको शक्ति पनि थियो।

२०४६ सालपछि पटकपटक सरकारमा पुगेका पार्टीहरु, मुलतः नेपाली कांग्रेस र केही हदसम्म नेकपा एमालेले जनताको गुनासालाई राम्रोसँग सम्बोधन गर्न सकेको थिएन। यससँगै अनेकौं कारणले संसदीय व्यवस्थाप्रति जनताको वितृष्णा पैदा भइरहेको सन्दर्भमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएका थिए।

यस बेला जनतामा एउटा ठूलो भ्रम के थियो भने राजनीतिक दल अनेक काण्डमा मुछिएका छन्। बेथिति र विकृतिमा मुछिएका छन् । त्यसैले उनीहरुभन्दा राजा ज्ञानेन्द्रले मुलुकलाई चलाउँछन् कि भन्ने थियो। जनताहरुले राजा ज्ञानेन्द्रप्रति जनताले आशावादी नजरले हेरेका थिए। यद्यपि, यो गलत थियो।

यस्तै, मुलुक एउटा लामो द्वन्द्वमा फसिरहेको, ठूलो जनधनको क्षति भएको थियो। यस्तो अवस्थामा अन्तर्राष्ट्रिय शक्तिले समेत नेपालमा विभिन्न क्षेत्रबाट हात हालिरहेका थिए। यही बेला राजा ज्ञानेन्द्रको नेतृत्वमा पो मुलुकले द्वन्द्वबाट मुक्ति पाउँछ कि भन्ने अपेक्षा पनि कतिपयले गरेका थिए। यो पनि गलतै अपेक्षा थियो।

राजतन्त्रको निश्चित अवधिसम्म राजा ज्ञानेन्द्रको गतिविधिले देशभरि एउटा तरङ्ग ल्याएको थियो । त्यस्तो अवस्थामा राजतन्त्रविरुद्धको आन्दोलनमा अघि बढ्नु चुनौतीपूर्ण अवस्था थियो । यही अवस्थामा हामीले काठमाडौं उपत्यकाभित्र बसेर माघ १९ को शाही कदमविरुद्ध लोकतन्त्रको पक्षमा गतिविधि गर्नुपरेको थियो।

एमालेभित्र गणतन्त्रमा जानु हुन्न भन्ने पनि थिए

आज पनि सम्झन्छु, माघ १९ गते तत्कालीन नेकपा एमालेको बल्खुमा रहेको कार्यालयमा बसेर टेलिभिजन हेर्दाहेर्दै तत्कालीन राजा ज्ञानेन्द्रले सबै शक्ति हातमा लिएको घोषणा गरे। त्यो बेला त्यस घोषणाविरुद्ध जनता स्वस्फुर्त सडकमा आउँलान् भन्ने एउटा अपेक्षा पनि थियो। किनकि, त्यो घोषणाले जनताको अधिकार खोसिएको थियो। मिडियामाथि प्रतिबन्ध लगाइएको थियो। त्यसैले त्यो कदमविरुद्ध जनता र मिडियाहरु आउँछन् भन्ने थियो । तर, आएनन्।

विगतमा राजनीतिक दलले गरेको कमजोरीका कारण राजाको उक्त घोषणाले जनतामा एक किसिमको आनन्दको अनुभूति गराएको थियो। त्यसैले त्यो बेला पार्टीको नाम वा नेताहरुका
अपिलबाट जनता सडकमा आउने स्थिति थिएन। यद्यपि, हामीले प्रयास गरेका हौं। आन्दोलन, जुलुस निकाल्ने प्रयास ग¥यौं। सहभागी निक्कै कम हुन्थे । त्यसैले हामीले एउटा उपाय निकाल्यौं । नागरिक समाजको नाममा स्वतन्त्र व्यक्तिहरू, समाजमा प्रतिष्ठा, इज्जत कमाएका व्यक्तिहरुलाई अघि सार्नुपर्छ भन्ने कुरा चल्यो। नागरिक समाजको अवधारणा बन्यो । उहाँहरुले त्यसको अगुवाइ गर्नुभयो। यद्यपि, त्यसमा पछाडिबाट व्यवस्थापन गर्ने, जनता परिचालन गर्ने राजनीतिक दल नै थिए। तर, बाहिर देखाउने फेस चाहिँ उहाँहरु हुनुहुन्थ्यो।

यस बेला मुलुकले नयाँ दिशा खोजिरहेको थियो । किनकि, माघ १९ ले नेपालको राजनीतिमा निर्णायक मोड आयो भन्ने छलफल चलिरहेको थियो। अर्थात्, नेपालको राजतन्त्र आफ्नै कारणले आफ्नो अन्त्य निम्त्याएको थियो । तर, त्यसो भन्दैमा धुप बालेर त राजतन्त्र जाने अवस्था थिएन । पहलकदमी गर्नुपथ्र्याे । यही बेला राजनीतिक दलभित्र गणतन्त्रमा जानुपर्छ भन्ने आवाज उठ्न थाल्यो। विद्यार्थी संगठनले कलेजकलेजमा त्यसको वातावरण बनाउन थाले । युवाहरूले पनि त्यही ढंगले काम गरे। त्यसले शान्तिपूर्ण ढंगले आन्दोलन गरिरहेका एमाले, कांग्रेसजस्ता राजनीतिक दलहरूमा प्रभाव पार्यो । र, गणतन्त्रको एजेण्डा पार्टीभित्र प्रवेश गर्यो।

त्यस समय पार्टीभित्र गणतन्त्रमा जानुहुन्न भन्ने आवाज पनि थियो। अहिले सम्झन्छु, एमालेकै बैठकमा राजतन्त्रविरुद्ध गणतन्त्रलाई नै आन्दोलनको मुख्य नारा बनाउनुपर्छ भन्दा अहिले बेला भएको छैन भनी विरोध गर्ने वा नोट अफ डिसेन्ट लेख्ने काम पनि भयो। कांगे्रसमा त नेतृत्वको ठूलै जमात त्यसविरुद्ध थियो।

तर यी सबै कुरालाई ध्यान दिँदै नेकपा एमालेको नेतृत्वको पहलमा आन्दोलनरत राजनीतिक दलबीच सशस्त्र आन्दोलन गरिरहेको माओवादीसँग समझदारी कायम गर्नुपर्छ भन्ने सहमति भयो । त्यसमा कांग्रेस पनि सहमत थियो । यसअघि नै एमालेले माओवादीसँग पटक–पटक छलफल गर्दै आएको थियो।

उक्त छलफल कहिले दिल्लीमा भएको थियो। कहिले सिलगुडीमा भएको थियो। वामदेव गौतमले रोल्पामै पुगेर माओवादी अध्यक्ष प्रचण्डसँग भेट गर्नुभएको थियो। यी सबै प्रयासले नै १२ बुँदे सहमतिमा आइपुग्यौं । त्यो १२ बुँदे सहमतिले एक साथ दुई/तीन वटा काम गर्यो।

पहिलो, तीन वटा ध्रुवमा विभाजित नेपालको राजनीतिलाई दुई ध्रुवमा ल्यायो । यसले एमाले, कांग्रेस, माओवादीलगायत राजनीतिक दल एकतर्फ र अर्काैतर्फ परम्परागत राजनीतिक शक्ति र राजा ज्ञानेन्द्र छुट्यायो। यसले स्वभाविक हिसावले सशस्त्र आन्दोलन गरिरहेको माओवादीलाई शान्तिपूर्ण बाटोबाट अवतरण गर्ने बाटो खोल्या ।

यस्तै, उक्त सहमतिले नेपाली राजतीतिक आन्दोलन निर्णायक ठाउँमा जाँदैछ भनेर जनतामा उत्साह जगायो । अर्काैतर्फ लोकतन्त्र र खुला समाजको पक्षमा अन्तर्राष्ट्रिय समुदायले पनि राजनीतिक दलले सुरु गरेको आन्दोलनलाई साथ, समर्थन र ऐक्यवद्धता जनाउने वातावरण सिर्जना भयो।

त्यसपछि लगत्तै पुनस्र्थापित अन्तरिम संसदले धेरै ठूला घोषणा गर्यो। राजा र दरबारको सबै अघिकार खोस्यो । आर्थिक, राजनीतिक, सांस्कृतिक अधिकार खोसेर संसदले आफ्नो मातहत ल्यायो । यसले झण्डै सात दशक लामो लोकतान्त्रिक गणतन्त्रको राजनीतिक क्रान्तिले यहाँ पूर्णता पाएको छ। नेपाल आज संघीय लोकतान्त्रिक गणतन्त्रमा आएको छ।

लोकतन्त्र सही बाटोमा छ ?

हामी अहिले गम्भीर समीक्षा गर्ने ठाउँमा आइपुगेका छौं । के हामी सही बाटोमा छौं ? हाम्रो नेतृत्व सही बाटोमा छ ?
उपलब्धीका दृष्टिले, नेपालमा शान्तिपूर्ण ढंगले गणतन्त्रको स्थापना र राजतन्त्रको अन्त्य भयो । यो दुनियालाई देखाउन सकिने हाम्रो अद्वितीय उपलब्धी हो । किन भने दुनियाका कुनै पनि राजतन्त्र यत्रि सजिलै विगठन भएका थिएनन् ।

जनताका प्रतिनिधिहरूले एक पटक असफल भए पनि दोस्रो पटकको कोसिसमा संविधान निर्माण गरे । यो संविधान लोकतान्त्रिक छ । आमजनताको प्रतिनिधिको संविधान हो । यो संविधान समावेशी आधारमा बनाइएको छ । पुराना एकात्मक, केन्द्रिकृत र सामान्ती ब्यवस्थाका संरचनालाई विस्थापित गरेर नयाँ संरचना निर्माण गरिएको छ । नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न बनाइदिएको छ । सबै तहमा जनताबाट निर्वाचित जनप्रतिनिधिको उपस्थिति बनाइदिएको छ । यो ज्यादै ठूलो उपलब्धी हो । मौलिक हक, राज्यका निर्देशक सिद्धान्तजस्ता नयाँ दृष्टान्तहरू समेत संविधानमा हामीले समावेश गरेका छौं ।
तीन तहको निर्वाचान भएको छ । संरचनाहरू खडा भएका छन् । देश असफल पो हुन्छ कि भन्ने आशंका तत्कालीन अवस्थामा थियो । त्यो भयबाट हामीले मुक्त ग¥यौं । यसको नेतृत्व अहिलेकै नेतृत्वले गरेका हुन् ।

एउटा चुनौतीपूर्ण अवस्थाबाट उहाँहरूले मुलुकलाई यो अवस्थामा ल्याइपु¥याउनु भएको हो । यसमा कुनै दुविधा छैन । यसमा उहाँहरुको प्रशंसा गर्नुपर्छ । कृतध्न हुनु हुँदैन । आज राम्रो गर्नु भएन भन्दैमा पहिलेको योगदानलाई बिर्सनु हुँदैन । तर, आज त्यही क्रान्तिको जगमा नेपाली समाजका आर्थिक, भौगोलिक, समाजिक, वर्गीय विभेदहरूलाई अन्त्य गर्दै नेपाली समाजलाई न्यायमुलक, समतामुलक समाजको रुपमा अघि बढाउँदै समाजवादी दिशामा अघि बढाउनुपर्छ ।
देशभित्र देखिएका भ्रष्टाचार, विकृति, कुशास होलान्। त्यसलाई हटाएर अघि बढ्नु पर्छ । नेतृत्व र पार्टी बढीभन्दा बढी लोकतान्त्रिक बनोस् । राज्य व्यवस्था बढीभन्दा बढी जनमुखी बनोस् भन्ने जनताको अपेक्षा थियो। यसमा हामीले ठोस् उपलब्धी हात पार्न सकिरहेका छैनौँ ।

आज लोकतन्त्र दिवस अवसरमार यसबारे गम्भीर समीक्षा गर्दै अघि बढ्न हामीलाई नेपाली जनताले ऐतिहासिक अवसर दिएका छन्। त्यसलाई सदुपयोग गर्दै विकृति र विसंगतिमाथि प्रहार गरी विजय हासिल गर्दै अघि बढ्नु पर्दछ। यसमा समाज कस्तो बन्छ भन्दा पार्टी कसरी चलिरहेको छ भन्ने कुराले निर्धारण गर्दछ।

कम्युनिष्ट पार्टीको सदस्यको हैसियतको रुपमा के भन्छु भने अहिले सत्तामा नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व छ । केन्द्रीय सरकारमा छ। प्रदेश र स्थानीय तहमा छ। यो पार्टीले समाज कस्तो बन्छ भन्दा आफ्नो पार्टी कसरी चलिरहेको छ भनेर देखाउँ छ।

विडम्बना एक वर्ष जति भयो, हाम्रो पार्टी केन्द्रमा एकता भएको,यो अवधिमा जति काम गर्नुपथ्र्यो, त्यसमा हामीले वान्छित सफलता हात पार्न सकेनौं। यसमा अरु केही कारण छैन । पार्टी नेतृत्वले सही ढंगले त्यसलाई बाटो दिन सकेन। यसमा कसैको दोष खोज्न जान परेन । मात्रै नेतृत्वको कमजोरीले हो। किन भने नेतृत्वमा सर्वाधिकार थियो। तैपनि उहाँहरूले गर्न सक्नुभएन।

प्रतिपक्षसँगको सम्बन्ध

लोकतन्त्रलाई सही दिशातर्फ अघि बढाउन पार्टीभित्र पनि लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउनु पर्दछ । पार्टीभित्र सामुहिकता विकास गर्नु प¥यो। पार्टीभित्र एजेण्डामाथि छलफल हुनुप¥यो । यो समाजलाई कसरी लाने भन्नेमा पार्टीले आफ्नो दृष्टिकोण दिनुप¥यो। कार्यक्रम दिनुपर्यो।

त्यसलाई सरकारले पछ्याउनु पर्यो। यसमा हाम्रा केही कमजोरी छन्। आगामी दिनमा यसलाई सुधार गर्दै अघि बढ्नुपर्छ । लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ। प्रतिपक्षी दल हुन्छन्। प्रतिपक्षी दलसँग शत्रुवत नभई मित्रवत सम्बन्ध हुन्छ। प्रतिस्पर्धाको सम्बन्ध हुन्छ। त्यसैले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि एउटा सौहार्दपूर्ण सम्बन्ध विकास गर्दै अन्य राजनीतिक दलहरुलाई पनि सम्मानकासाथ अघि बढाउँदै नेपाली समाजलाई अघि बढाउनु, जनअपेक्षाअनुसार काम गर्नुपर्ने ऐतिहासिक दायित्व नेपाल कम्युनिष्ट पार्टीको काँधमा छ।

मलाई विश्वास छ कि १४ औं लोकतन्त्र दिवसको उपलक्ष्यमा हामी यसप्रति गम्भीर हुन्छौं । हाम्रो नेतृत्व गम्भीर हुनेछ र हामी अगाडि बढ्ने छौं।

ओली र प्रचण्डले फर्केर हेर्नुपर्छः

सकारात्मक कुराबाट सुरु गर्नुपर्दा पार्टीको एकता हुनुपर्थाे त्यो भयो। पार्टीको एकता गर्नुभनेको केन्द्रमा नेताहरूको बिचमा केही भागबन्डा मिलाएर केही समिति बनाउँनु मात्रै एकता हैन । हाम्रा राजनीतिक कार्यदिशाहरुलाई एकरुपता ल्याउँनु, हाम्रा कार्यशैलीलाई एकता गर्नु, हाम्रो विधान र आगामी कार्यदिशालाई एकठाउँमा ल्याउनु र तहगत कमिटीहरूलाई एकिकृत गर्नुपनि पार्टी एकता हो ।

पार्टी एकतामा भएको ढिलाईका कारण यी तमाम काम यो एक वर्षमा पेन्डिङमा बसे । समय क्रममा जुन ढंगले हुनुपथ्र्यौ भएन । मेरो बिचारमा यो एक वर्षमा नेपालको कम्युनिष्ट आन्दोलनले यो ७० वर्षमा बिभिन्न अवस्थामा जुन क्षति बेहो¥यो यो एक वर्षमा नेकपाले निक्कै ठूलो क्षति व्यहोर्नुपर्यो। किन भने आफ्नो सरकार थियो । जनतामा लहर ल्याउनु पथ्र्यो, सिंगो पार्टी त्यसको पक्षमा खटिनुपथ्र्यो। तहगत कमिटीहरु नहुँदा, नेताहरुलाई जिम्मेवारी नदिदा पार्टी शिथिलतातिर गयो। एक किसिमले भन्ने हो भने पार्टी एकवर्षसम्म सुत्यो।

म फेरी भन्छु यसमा १० जनालाई दोष दिएर हुँदैन। पार्टीका मुख्य नेताले यसमा जवादेहीता लिनुपर्छ। कमजोरीहरू पार्टीमा जुन खालको लोकतान्त्रिक अभ्यास हुनुपथ्र्यौ त्यो भइरहेको छैन। नेतृत्व सही नै हुन्छ तर त्यो सही कुरा पनि पार्टी भित्रको सामूहिकताबाट उत्पति हुन्छ ।

यदि सामूहिकता नहुने हो भने किन पार्टी बन्छ त ? एक ब्यक्तिको शासन हुने हो भने त पार्टी नै चाहिदैन थियो। दुनियामा औद्योगिक क्रान्ति पछि पुँजीवादको विकाससँगै पार्टीहरुको निर्माण किन भयो भने हिजोको जस्तै सामान्त प्राणालीमा एक दलिय शासन हुदैन भनेर पार्टीहरू शुरु भएका हुन्। यो पुँजीवादको ठूलो उपहार हो।

यस्तो मर्मलाई पार्टीभित्र यो एक वर्षमा स्थापित गर्न सकेनौ। मान्छेहरू के भन्छन् भने, गुटबन्दीले गर्दा भएन। आधुनिक पार्टीमा मान्छेहरु भाषाले गुटबन्दी भन्छन्, तर हामी त्यसलाई शब्य भाषामा विचार समूह भन्न रुचाउँछौं । यो विचार समूह पार्टी हैन, मान्छे जीवित रहुन्जेल रहन्छ। कसैले विचार समूहलाई समाप्त पारेर पार्टी चलाउँछु भन्छ भने त्यो मुर्खता मात्रै हुन्छ।

हामी फरक फरक अवस्थाबाट आएका कारण पार्टीभित्र विचार समूह हुन्छन। यसले गर्दा पार्टी भित्र पनि यसको प्रभाव हुन्छ। त्यसैले यसलाई पार्टीभित्र व्यवस्थापन गर्न सक्नुपर्छ । ती सबैलाई सम्मानजनक सह–अस्तित्वको आधारमा नै पार्टी अघि बढ्ने हो, जुन कुरा यो एक वर्षमा राम्रोसँग हुन सकेन । अव यो लोकतन्त्र दिवसको उपलक्षमा अपेक्षा गर्दछु की हाम्रो पार्टीले यो एक वर्षको गम्भिर समीक्षा गर्नेछ। नेताहरुले पनि एक पटक पछि फर्केर हेर्नुपर्छ। अझै म किटेरै भन्छु पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले आफूहरू आईरहेको बाटो फर्केर हेर्नुपर्छ। सही ढंगले आउनुभयो की गलत ढंगले आउनुभयो। यो कुरा हेर्नुहोस् र अघि बढ्ने प्रयास गर्नुहोस्।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: