‘आन्दोलनका क्रममा भूमिगत भएँ’ (भिडियो सहित) « Nagarik Khabar

‘आन्दोलनका क्रममा भूमिगत भएँ’ (भिडियो सहित)



लोकतन्त्र दिवसको कुरा गर्दा असोज १८ लाई पहिले सम्झन्छु । जतिखेर राजाको कदमले हामीलाई उपलब्ध भएको ‘डेमोक्रेटिक स्पेस’ खुम्चियो । त्यो स्पेस एकातिर माओवादीको दवदवा भएको ठाउँमा खुम्चिएकै थियो । बाँकी स्थानमा पन त्यो खुम्चियो । त्यो बेलामा राजनीतिक दलहरुको नेतृत्व चरम अलोकप्रिय भएको अवस्था थियो । त्यसैले हामीलाई यो यात्रा आन्दोलन निर्माणका लागि लामो हुन्छ, कठिन छ भन्ने थाहा थियो । आन्दोलनका लागि जनमत निर्माण गर्नुपर्ने थियो ।

आम नागरिकसँग जोडेर आन्दोलन गर्नुपर्ने अवस्था रहेकाले विद्यार्थी आन्दोलनलाई मुख्य माध्यम बनाएका थियौं । त्यसका लागि साझा विद्यार्थी आन्दोलन बनाउनुपर्छ भनेर हामीले सुुरु गर्यौं । त्यही क्रममा अगाडि बढ्दै जाँदा विद्यार्थी आन्दोलकै मोर्चाबाट प्रजातन्त्र हुँदै हामी लोकतन्त्रमा फड्को मार्यौं । माघ १९ पछि परिस्थिति बदलियो । त्योभन्दा केही समयअघि १२ बुँदे समझदारीको पनि कुरा रह्यो । खासगरी त्यो कालखण्डमा चाहिँ नेपालको विद्यार्थी आन्दोलका लागि पनि सबैभन्दा गौरवशाली कालखण्डमध्ये एक थियो ।

पार्टीको नेतृत्व र जनताबीचमा ठूलो खाडल रहेको र आन्दोलनमा सहभागी राजनीतिक दलबीच मुद्दामा पनि ठूलो मत भिन्नता थियो । हामी सहभागी भएको विद्यार्थी आन्दोलनले यी दुईवटै कुरालाई एक ठाउँमा ल्याउन ठूलो मद्दत पुग्योे । बिस्तारै हाम्रो अगुवाइमा आन्दोलनले पार्टी र जनतालाई जोड्ने काम गर्यो ।

नेपालको वामपन्थी आन्दोलनले उठाएका आफ्नै खालका विषय पनि थिए । तर पनि माओवादीसँग १२ बुँदे समझदारी भयो । त्यो विषय रातारात भएको होइन । त्यसको पृष्ठभूमिमा त्योभन्दा पहिल्यै हामी विद्यार्थीले सँगै काम गर्न थालेका थियौं । केही राजनीतिक, शैक्षिक मुद्दामा सँगसँगै काम गराइबाट केही साझा अनुभव पनि हामीले बनाएका थियौं ।

आन्दोलनमा भूमिगत भएँ

मैले सबैन्दा बढी सम्झने भनेको चैत २३ र २४ देखि सुरु भएर वैशाख २१ मा सम्पन्न भएको आन्दोलन हो । त्यो आन्दोलन कि वार कि पार भनेर शुरु गरेका थियौं । तर, प्रारम्भको दुई तीन दिनमा सहभागिता एकदम न्युन थियो । मनमा ठूलो डर थियो । सरकार अत्यन्त दमनकारी भएर आएको अवस्था थियो ।

त्यो बेला मलाई कुनै पनि हालतमा पक्राउ पर्नु हुँदैन भन्ने लागेको थियो । किनकि मैले आन्दोलनमा यतिखेर मद्दत पुर्याउन सक्ने भनेकै जन परिचालनमा थियो । ठूलठूला सभामा गई त्यहाँ जनमत निर्माण गर्ने क्रममा हो । त्यसैले मलाई पक्राउ पर्नबाट जोगिँदै विरोध कार्यक्रममा सहभागी हुनुपर्ने बाध्यता थियो ।

म हरेक दिन जसो मोटरसाइकलको प्रयोग गर्थें । बस्ने ठाउँ बदल्नुपर्ने, आफ्नो हुलिया बदल्नुपर्ने थियो । मलाई यसअघि त्यस्तो अनुभव थिएन । भूमिगत बन्नु पर्ने अवस्था आयो । म कीर्तिपुरको सभादेखि लिएर बनेपा, बालाजु, चाबहिल, कलंकी, मैतीदेवीलगायत स्थानमा भएका महत्त्वपूर्ण सभामा सम्बोधन गरें ।

सभा स्थल वरिपरि प्रहरीले घेराबन्दी गरेर समात्नका लागि तयारी गरेको हुन्थ्यो । तर, कसरी छल्ने भन्ने योजना बनाएर सभामा छिर्ने अनि सभा सकिएलगत्तै बाहिरिने गर्थें । त्यो कुरा अहिले सम्झँदा पनि रोमाञ्चित हुन्छु ।

राजनीतिक अधिकार पाए पनि व्यवहारिक कुरा पुरा गर्न सकेनौं

बैशाख ११ गते लोकतन्त्र घोषणा भइसकेपछि हामीले संविधानसभाको निर्वाचन गर्यौं । संविधान बनायौं । सशस्त्र आन्दोलन गर्दै भूमिगत रहेको माओवादीलाई खुला राजनीतिमा ल्यायौं । यी कुराबाट नेपाललाई लोकतन्त्रको नयाँ आधारमा लिएर गयौं । त्यो भनेको पश्चिमी उदारवादी लोकतान्त्रिक मान्यताहरुभन्दा भिन्नै तरिकाले अघि बढ्यौं ।

नेपालको आन्दोलनका केही मौलिक कुराहरु छन् । हाम्रा लोकतन्त्रलाई समावेशी बनाउनु पर्ने, सोहीअनुसार राज्यको संरचना गर्नुपर्ने थियो । त्यहीअनुरुप अहिले राज्यको पुनर्संरचना भएको छ । यदि यो गर्नबाट हामी चुकेको भए नेपाल जातीय, धार्मिक तथा गृहयुद्धमा फस्ने सम्भावना थियो । किनकि हाम्रो देशजस्तै परिर्वतन भएको मुलुकहरु ५/७ वर्षपछि पुनः पुरानै अवस्थामा फर्किएको हामी हेरेका र पढेका छौं ।

यो अवस्थमा आउन समय लागेको छ । कष्टप्रद भएको छ । तर, आन्दोलनबाट प्राप्त अधिकार संविधानमा सूत्रवद्ध गरेका छौं । त्यसलाई कार्यान्वय गरेका छौं । हामीसँग तीन तहको सरकार छ । निर्वाचन भएको छ । यद्यपि, केही कुरा बाँकी नै छ ।

नेपाल संघीयता हुन्छ कि एकात्मक रहन्छ भन्ने जनतामा भएको द्विविधा टुंगिएको छ । तर, लोकतन्त्रले जनताको जीवनमा के परिवर्तन ल्यायो ? भन्ने प्रश्न अझैं बाँकी नै छ । गणतन्त्र स्थापना भएको लामो समयसम्म त्यसको उत्तर नपाएकाले जनताहरु निराश बने । दैनिक जीवनमा उनीहरुले परिवर्तन महसुस गर्न पाएनन् ।

संविधान निर्माणअघि हामीले आमनागरिकलाई संविधान निर्माणपछि शान्ति प्रकृया टुङ्गिन्छ, त्यसपछि ठीक हुन्छ भनेका थियौं । अस्थिर सरकार भएकाले मुलुकमा विकास नभएको भनेका थियौं । तर, निर्वाचनपछि बनेको स्थिर सरकारले पनि नागरिकले हामीले भनेका कुरा अनुभव गर्न सकेनन् । त्यसले उनीहरुमा ठूलो निराशा ल्याएर आएको छ ।

सरकारले अवसर गुमायो

संविधान निर्माण नटुङ्गिने बेलासम्म समस्याहरु रहन्छन् । संविधान निर्माणको काम सकियो । त्यसपछि सबै तहको निर्वाचन भयो । निर्वाचन पछि बनेको सरकारले नागरिकको चाहना पूरा गर्नेछ भन्ने लागेका थियो । किनकि, अहिले सरकारलाई काम गर्न अनुकुल वातावरण छ ।

हाम्रो प्रतिस्पर्धा पनि नयाँ चरणमा छ । हाम्रो मतभेदको नयाँ चरणमा छ । हामीले यसअघि उठाएका मुद्दा पुराना भएका छन् । अब हामीसँग नयाँ चुनौती आएको छ ।

परिवर्तनलाई नेतृत्व गर्नेको मुख्य एजेन्ट भनेको राजनीतिक दल नै हो । संसदीय राजनीतिक अभ्यास गरिरहेका दलहरुले ६० सालपछि माओवादीलाई पनि सँगै लिएर परिवर्तनको बाटोमा जाने संकल्प गरेका थिए । त्यो राजनीतिक दलहरुले सम्भवत ठूलो रुपान्तरण हो । यही संकल्पले नेपाल गणतन्त्रमा गयो । माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गरायो ।

शासकीय क्षमताको सर्वता अभाव भएको हाम्रो अवस्था हो । शासकीय क्षमताको अभावलाई इमान्दारिताले पूर्ति गर्छ । जवाफदेहीको भावनाले गर्छ । यो वंशानुगत आधारमा आएको नेतृत्वमा नभई जनताको विश्वासबाट आएका नेतृत्वले गर्दछ । किनकि, उनीहरुमा जवाफदेही रहनुपर्ने डर हुन्छ । यस्तै, ज्ञान र प्रमाणको आधारमा मैले भनेको नीतिहरु बनाउनुपर्छ । त्यसको आधारमा परिणाम दिनुपर्छ भन्नेरुझान शासकीय इमान्दारिताले पूर्ति गर्छ । अहिले नेतृत्वमा माथि उल्लिखित तीन वटै कुराको अभाव देख्छु ।

प्रधानमन्त्रीको एउटा विवरण मात्र लिऔंँ, अहिलेको सरकारले आँखामा पट्टी लगाएको छ । अहिलेको सरकारले जनताले गरेका केही देखिरहेको छैन । सरकारले एक वर्षभित्र नागरिकले देख्ने गरी काम गर्न सकेको छैन । किनकि, उसले केही आधारहरु बनेको छ , भनेको जस्तो भएको छैन, नआत्तिनुस् भनेको छ भने नागरिक आश्वस्त हुन्छन अब केही हुन्छ की भनेर ।

सरकारको उक्त भनाइले काम कसरी भइरहेको छ भन्ने देखाउँछ । सरकारले आफूले गरेका कामको ठोस स्टेटमेण्ट दिए आलोचना हुन्छ भन्ने डरमा सरकार छ । सरकार उक्त गल्ती सच्याउन चाहँदैन । आफूलाई सच्याउने चेत उसमा छ , तर सच्चिन चाहँदैन । उसलाई आफू म शत प्रतिशत ठीक छु, सत्य भनेको नै सत्य हो भन्ने दम्भ पालिरहेको छ । यो बढो डर लाग्दो कुरा हो । यो राजा माहाराजाहरुले जस्तो सोच्ने तरिका हो ।

मेरो सभापतिको तरिका पनि गलत छ

अहिले म तेस्रो पटक सांसद छु । छोटो समय भए पनि मैले मन्त्री भएर काम गर्ने मौका पाएको छु । संसदीय समितिको सभापति भएर काम गर्ने मौका पाएको छु । उक्त अनुभवले परिवर्तन कसरी आउँछ भन्ने केही अनुभाव छ । तर, मैले अहिले त्यो संकेत पाएको छैन । सरकारले सही दिशा लिएको छैन ।
यसले समस्या सिर्जना गरेको छ । मेरो दल प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि सही ठाउँमा उभिएको छैन । मेरो पार्टी सभापति भन्नु हुन्छ, ‘हिजो भोट दिने बेलामा तिमीले भोट दिएनौं, त्यसैले तिमी मलाई प्रश्न गर्न आउने ?’ भनी जनतालाई भनिरहनुभएको छ । यो गलत तरिका हो । नागरिकलाई सबै नेतृत्वलाई प्रश्न गर्न पाउँछ । किनकि, पार्टी सार्वजनिक संस्था हो ।

कांग्रेस पनि आफ्नो भूमिकामा चुकिरहेको छ । नेतृत्वले राम्रोसँग काम नगर्दा आफ्नो भूमिकामा कांग्रेस चुकेको हो । सरकार पनि आफ्नो भूमिकामा चुकिरहेको छ । यही कारण नागरिकमा निरासा पैदा भएको हो ।

कांग्रेस पनि आफ्नो भूमिकामा चुकेको छ । नेतृत्वले राम्रो काम गर्न सकेको छैन् । सरकार पनि आफ्नो भूमिकामा चुकिरहेको छ । यही कारण नागरिकमा निरासा पैदा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: