काठमाडौं । थाइल्याण्डमा जारी एसिसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ ।
थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो । नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा म्यान्मालाई सात विकेटले पराजित गरेको थियो ।
जितसँगै समूह ‘ए’मा रहेको नेपालले दुई खेलबाट चार अङ्क जोडेको छ । नेपाल साविक विजेता समेत हो । अघिल्लो संस्करणको खेलमा नेपालले सिङ्गापुरलाई ७१ रनले पराजित गर्दै उपाधि हासिल गरेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले मलेसियालाई जितका लागि १४२ रनको लक्ष्य दिएको थियो । जवाफमा मलेसिया ३३ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै १०२ रनमा समेटियो ।
मलेसियाका लागि सार्भिन सुरेद्रनले सर्वाधिक ४६ रनको योगदान दिए भने अमहेद अस्यार्फले १७ तथा किशन कुमारले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।
मलेसियालाई १०२ रनमा समेट्ने क्रममा नेपालका रमेश कुर्मी, तिलकराज भण्डारी र प्रशान्त महतले दुई÷दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३४ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १४१ रन जोडेको थियो । नेपालका लागि आशीष भट्टराईले सर्वाधिक ३४ रनको योगदान दिए । त्यस्तै, विशालविक्रम केसीले २८, दीपक बोहोरा र अर्जुन कुमालले समान १६÷१६ र सुवास ऐरले ११ रन जोडे ।
बलिङतर्फ मलेसियाका सिद्धार्थ कार्तिकले चार तथा लुकम्यान नुर हाकिम सहरले दुई विकेट झारे । नेपालले बिहीबार आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।