एपिएफलाई राष्ट्रिय क्रिकेटको उपाधि « Nagarik Khabar

एपिएफलाई राष्ट्रिय क्रिकेटको उपाधि



नेपालगञ्ज । बाँकेमा जारी आठौँ राष्ट्रिय प्रतियोगिता अन्तर्गत क्रिकेट तर्फ एपिएफले बाजी मारेको छ । बाँकेको कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै एपिएफले उपाधि जितेको हो ।
कोहलपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङमा उत्रिएको एपिएफले पहिलो पारिमा १ सय १० रन जोड्न सफल भएको थियो । अनुभवी खेलाडीको वर्चस्व रहेको एपिएफमा नयाँ खेलाडीले राम्रो प्रदर्शन गरे ।
टिमकालागि अनिल शाहले ४ चौकाको मद्धत्तले सर्वाधिक ३१ रन जोडेका थिए । शङ्कर रानाले २३ रन जोडे । राष्ट्रिय टिमका प्रभावशाली खेलाडी शरद भेषवाकरले ९ रन जोड्दा भुवन कार्कीले ११ रन जोडे ।
वसन्त रेग्मीको नेतृत्वमा उत्रिएको एपिएफ विरुद्ध नेपाल पुलिस क्लबका ललित नारायण राजवंशीले ३ विकेट लिएका थिए भने सागर ढकालले २ तथा दीपेन्द्र सिंह ऐरी र मंजित श्रेष्ठले समान १/१ विकेट लिए ।
१ सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेपाल पुलिस क्लब ७८ रनमै समेटियो ।
सुरुवाती ब्याट्सम्यान सुनिल धमलाले १५ रन जोडेपनि अन्य ब्याट्सम्यान क्रिजमा जम्न सकेनन् । सुरुवाती ओभरमै धर्मराएको पुलिसलाई कप्तान मंजित श्रेष्ठले लयमा ल्याउने प्रयास गरेका थिए । श्रेष्ठले ३६ बलमा १ छक्का र २ चौका प्रहार गर्दै २९ रन जोडेपनि टिमलाई जिताउन सकेनन् । पुलिसलाई
दबाबमा राख्ने क्रममा एपिएफका बलर कमलसिंह ऐरीले ३ विकेट लिएका थिए भने एपिएफका कप्तान वसन्त रेग्मी र शरद भेषवाकरले समान २/२ विकेट लिए ।
त्यसै गरी भुवन कार्की र अमरसिंह रौटेलले समान १/१ विकेट लिए ।
प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई पूर्व युवा तथा खेलकुद मन्त्री दलजित सेर्पाली, राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा, कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत, उपप्रमुख सन्जु चौधरी लगायतले संयुक्त रूपमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: