पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम ! « Nagarik Khabar

पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम !



काठमाडौँ । भूगर्भीय गडबडीबाट आउने पृथ्वीको कम्पन नै भूकम्प हो । हिमालयन रेन्जमा यो सम्भावना बढी हुन्छ । त्यसैले नेपाल भूकम्पको जोखिम छ । भूकम्पको कम्पनलाई रेक्टरस्केलमा मापन गरिन्छ । ७ रेक्टर स्केल भन्दा माथिका भूकम्पलाई ठुला भूकम्प मानिन्छ ।
जमिनबाट ८० देखि १०० किलोमिटर तलसम्मको पृथ्वीको माथिल्लो भाग धेरै टुक्रामा विभाजित छ । यी टुक्रालाई टेक्टोनिक प्लेट भनिन्छ । यस्ता प्लेटहरू समुद्रमा डुङ्गा तैरिएजस्तैगरी एस्थेनोस्फेयरमा तैरिएका हुन्छन् । तैरिने क्रममा प्लेटहरू एक आपसमा ठोक्किँदा, एक प्लेट अर्कोको मुनि घुस्दा त्यो क्षेत्रमा शक्तिसंचय हुँदै जान्छ । त्यो शक्ति त्यहाँको चट्टानले धान्ने भन्दा बढी भयो भने भूकम्प जान्छ ।
हिमालय रेन्ज दुईवटा प्लेटकोबीचमा पर्छ । भारतीय र तिब्बतीयन प्लेटकोबीचमा पर्ने भएकाले नेपाल भूकम्पको जोखिम क्षेत्रको रूपमा रहेको छ । करिब ५ करोड वर्ष पहिले दक्षिण तर्फबाट आएको इन्डियन प्लेट उत्तरमा रहेको यूरेसियन प्लेटसँग ठोक्किन पुगेको थियो । त्यसपछि ईन्डियन प्लेट उत्तरतर्फ सर्ने क्रम रोकिएको छैन ।
इन्डियन प्लेट उत्तर तर्फ सर्ने क्रम हरेक वर्ष एक इन्चका दरले चलिरहेको छ । विसं २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाकलाई केन्द्र बनाएर ७ दशमलव ८ रेक्टरस्केलको भूकम्प गयो । यो भूकम्प विक्रम संवत् १९९० पछिको सबैभन्दा ठुलो हो ।
नेपालमा भारतीय र तिब्बतीयन प्लेटबिचको टकराबले भूकम्प जान्छ । नेपालको दक्षिणतिरबाट इन्डीयन प्लेट उत्तरतर्फ सरिरहेको छ । जुन पाँच सेन्टिमिटर भारतीय प्लेट उत्तर तर्फ सर्छ त्यसको दुई सेन्टिमिटर नेपालको हिमालयमा पर्छ । हाम्रो तराई चुरेपहाडबाट हिमालय क्षेत्रसम्म त्यहाँ झन्डै १०० किलोमिटरसम्म जम्मा भएर बसेको हुन्छ ।
उत्तरको तिब्बतीयन प्लेटमा घुस्न खोज्छ तर घुस्न पाउँदैन । त्यसको अर्थ हिमालयहरू खुम्चिनछन् । यसरी खुम्चिने क्रममा शक्तिसंचय हुन्छ । हाम्रो सबै हिमालय रेन्जमा यस्तै हुन्छ । तलबाट घुस्न खोज्ने र घुस्न नदिनेबीचको टकरावकारण एक प्रकारको शक्ति उत्पन्न हुन्छ । त्यही शक्ति बेला बेलामा ठाउँ अनुसार फरक फरक समयमा भूकम्पको रूपमा बाहिर निस्किन्छ ।

भूकम्पकै कारण हिमालय रेन्ज बन्यो
विश्वका विभिन्न देशका वैज्ञानिकको अध्ययन अनुसार नेपालमा जुनसुकै बेला भूकम्प जान सक्छ । अमेरिका भूकम्पविद् डाक्टर स्टिभ बेस्रोस्की, जापानी भूकम्पविद् यासुहिरो कुमाहारा सहित नेपालका भूकम्पविद्को अध्ययनले नेपाल भूकम्पीय जोखिमको क्षेत्र भएको र जुनसुकै बेला भूकम्प जान सक्ने देखिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले पनि भूकम्पको पूर्वानुमान गर्न नसकिने भएकाले जुनसुकै बेला, जहाँ पनि भूकम्प जान सक्ने बताएका छन् ।
अमेरिकाको नेभादा विश्वविद्यालयको टोलीले केहीवर्षदेखि नेपालका विभिन्न क्षेत्रको अध्ययन गरेको छ । अमेरिकी र जापानी टोलीसँग त्रिभुवन विश्वविद्यालयका विज्ञ अध्ययनमा संलग्न छन् । टोलीले नवलपरासी र आसपासको क्षेत्र तथा पूर्वी नेपालको झापा लगायतका क्षेत्रमा गरेको अध्ययन दुई वर्षअघिनै सार्वजनिक गरेको थियो । भूकम्पविद् डा सोमनाथ सापकोटाले भने अध्ययन टोलीको निष्कर्षका आधारमा यति ठुलो जान्छ भनेर तोकेर भन्नु गलत भएको बताए ।
नेपाल मात्र होइन हिमालयरेन्ज २ हजार पाँच सय किलोमिटर क्षेत्रफलमा फैलिएको छ । हिमालयरेन्ज भूकम्पकै कारण बनेको हो । नेपालको हिमालय क्षेत्र ८ सय किलोमिटर लम्बाइमा छ । हिमालयरेन्जकै आसपास अधिकांश भूगोल भएकाले नेपाल सधैँ भूकम्पीय जोखिममा छ ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक समेत रहेका सापकोटाले पूर्वी नेपालको तुलनामा पश्चिमी नेपाल भूकम्पको जोखिममा रहेको बताए । नेपालको पश्चिमी क्षेत्रमा भने पछिल्लो ५ सय वर्षदेखि ठुलो भूकम्प गएको देखिएको छैन । पछिल्लो रेकर्ड अनुसार सन् १५०५ मा गोरखाबाट पश्चिमको क्षेत्रमा ठुलो भूकम्प गएको देखिन्छ ।
पश्चिम नेपाल बढी जोखिममा रहेको भन्न सकिन्छ । तर सबै हिमालयरेन्जनै भूकम्पको जोखिममा छ । अर्का भूकम्पविद् एवं भूकम्प मापन केन्द्रका प्रमुख अधिकारीले भने माटोको अध्ययनबाट कहिले भूकम्प गएको र अब कहिले जान सक्छ भन्ने कुराको अनुमान गर्न सकिने बताए । तर यति बेलै जान्छ भनेर भन्न सकिदैंन ।
पश्चिम नेपालमा झन्डै पाँच सय वर्षको हाराहारीमा भूकम्प गएको र पछिल्लो पाँच सय वर्षसम्म ठुलो भूकम्प नगएकाले पश्चिम नेपाल भूकम्पको जोखिममा छ । नेपालको हिमाल, पहाड र तराई जुन संरचना बनेको छ त्यो भूकम्पको असरले निर्माण भएको विज्ञहरूको दाबी छ ।

काठमाडौँको एक तिहाइ जनसङ्ख्या सकियो
काठमाडौँको कुरा गर्दा विक्रम संवत् १२५५ सालको भूकम्प सबैभन्दा ठुलो आएको मानिन्छ । तत्कालीन राजा अभय मल्लको भूकम्पमा परेको मृत्यु भएको थियो । झन्डै ९ रेक्टरस्केलको मानिएको भूकम्पको केन्द्र विन्दु भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
त्यस बेला काठमाडौँको कुल जनसङ्ख्या मध्य ३३ प्रतिशत जनसङ्ख्याको भूकम्पमा परेर मृत्यु भएको अनुमान छ । ८ रेक्टरस्केल भन्दा माथिका भूकम्पको पुनरावृत्तिका लागि झन्डै ५÷६ सय वर्ष लाग्ने विभिन्न अध्ययनले देखाएको छ ।
हालैको अध्ययनले विक्रम संवत् ११०० मा समेत ८ रेक्टरस्केलको भन्दा ठुलो भूकम्प गएको देखाएको छ । यसले छोटो अवधिमा पनि ठुला भूकम्प जाने कुरा देखाउँछ । भूकम्पको केन्द्र विन्दु पत्ता लागेको भए वाग्मती र त्रिवेणी क्षेत्रमा भूकम्प जान सक्छ भन्ने अध्ययनलाई प्रमाणित गर्ने थियो । तर तत्कालै आउँछ भन्न नसकिने भएकाले जोखिमबाट बच्ने आधार खोज्नु नै बुद्धिमत्ता हुने भूकम्पविद्ले बताएका छन् ।

०७२ को भूकम्पले खुमलटारसम्मको मात्र शक्ति नष्ट
भूकम्पविद्हरूले २०७२ सालको भूकम्पले ललितपुरको खुमलटारसम्मको शक्ति मात्र नष्ट भएको बताएका छन् । नेपालको चुरेसम्म पुग्नुपर्नेमा नजिकबाटै रोकिएकाले फेरि भूकम्प जाने खतरा भूकम्पविद्को दाबी छ । भूकम्पविद् डाक्टर सापकोटाका अनुसार पछिल्लो भूकम्पको शक्ति त्यति ठुलो भएन जसले सबै शक्ति चुरेको फेदमा लगेर रिलिज गर्न सकेन ।
सबै भूकम्पको शक्ति विसर्जन हुने भनेको चुरेको फेदमा हो । भूकम्पको शक्ति विसर्जन हुँदा त्यहाँको भौगोलिक बनावट नै परिवर्तन हुन्छ । त्यसैले भूगर्भविद्हरूले भौगोलिक बनावट परिवर्तन भएका ठाउँमा पुगेर अध्ययन गर्छन् । त्यहाँ पाइने कार्बनका टुक्रा र रेडियो धर्मी किरणका माध्यमबाट भूकम्पको अध्ययन हुने गरेको छ । त्यसैको अध्ययनका आधारमा अनुमान गर्ने हो ।
भूकम्पको क्षतिका हिसाबले हेर्दा चट्टान भएको माटोमा कम क्षति र चट्टान कम भएका ठाउँमा बढी क्षति हुने गरेको छ । काठमाडौँमा भने बलौटे माटोमा भौतिक संरचना बनेका छन् जुन भूकम्प प्रतिरोधी छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: