पछिल्ला ३० दिनमा ९ भूकम्प ! « Nagarik Khabar

पछिल्ला ३० दिनमा ९ भूकम्प !



काठमाडौँ । नेपालमा पछिल्लो विनाशकारी भूकम्प गएको चार वर्ष पुरा भएको छ । पछिल्ला ३० दिनमा देशका विभिन्न ठाउँमा ९ भूकम्पको धक्का महसुस गरिएको छ । बझाङ, दैलेख, लम्जुङ, गोरखा, धादिङ, रसुवा र दोलखा जिल्लामा धक्का महसुस गरिएको हो ।
विसं २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु भएर ७ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको थियो । गोरखा भूकम्पपछि साना ठुला पराकम्प अझै पनि निरन्तर छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रको पछिल्लो तथ्याङका अनुसार ०७२ वैशाख १२ गतेको भूकम्पपछि साना ठुला गरी ४ हजार ५ सय पराकम्प गएका छन् । देशभरका २१ स्थानमा रहेका भूकम्प मापन केन्द्रको तथ्याङ्क अनुसार ४ म्याग्निच्युट भन्दा माथिका ५ सय १५ पटक पराकम्प गएका छन् ।
गोरखा, सिन्धुपाल्चोक, काठमाडौँ, दोलखामा क्रमशः सबैभन्दा धेरै पराकम्प गएको तथ्याङ्क रहेको भूकम्प मापन केन्द्रका भूकम्पविद् चिन्तन तिमिल्सनाले बताए । नेपालको सन्दर्भमा प्रविधिका कारण पनि भूकम्पको मापन र सतर्कताको विषयमा प्रश्न उठ्ने गरेको उनले बताए ।
प्रविधिका कारण पूर्व जानकारी नहुँदा धेरै क्षति भयो भन्ने जमात नभएको होइन । प्राविधिकहरू भने भूकम्प कुन बेला कहाँ जान्छ ? कसरी गयो ? भन्ने पूर्वानुमान गर्न सक्ने प्रविधि नभएपनि जोखिम क्षेत्रको पहिचान भने गर्न सकिने बताउँछन् । भूकम्पविद् तिमिल्सना भन्छन्, ‘भूकम्प गएपछि छिटो जानकारी दिने प्रविधि छ तर पहिले नै यहाँ जाँदैंछ भनेर भन्न सकिँदैन ।’
प्रविधिको हिसाबमा नेपाल अन्य देशको तुलनामा कमजोर छैन । अर्को कुरा छिटो सूचना प्रवाह गर्ने विषयमा अरू मुलुक बढी मापन गर्ने स्टेसन र अटोमेटिक सिस्टममा चलेका छन् । नेपालमा पनि स्टेसन थप गर्ने र अटोमेटिक सिस्टमका लागि काम भइरहेको छ ।
०७२ को भूकम्पपछि नेपाल विकासको हिसाबले धेरै पछि धकेलियो त्यसमा दुईमत छैन । तर आम नागरिकमा सचेतनाको हिसाबले धेरै विकास भएको भूकम्पविद्हरूको बुझाई छ । भूकम्प आएपछि कसरी बच्ने वा जोगिने विषयमा मात्र नभई त्यसको पूर्व तयारीमा समेत नागरिकहरू धेरै सचेत भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक तथा भूकम्पविद् डा।सोमनाथ सापकोटा बताउँछन् । उनी भन्छन् ‘पछिल्लो समय नेपालमा भूकम्प भनेको हाउगुजी जस्तो भयो यो विषय हरेक नागरिकसम्म पु¥याउन तल्लो तहबाट नै शिक्षा दिन आवश्यक छ ।’जस्तो विद्यालय पाठ्यक्रममा नै समावेश भयो भने अझ उत्कृष्ट हुन्छ उनको तर्क छ । गैरसरकारी संस्था, दातृ निकाय लगायतले दिएको सचेतनाले मात्र अपुग हुने सापकोटाको दाबी छ ।
पुनर्निर्माणमा ४ सय २९ अर्ब बजेट अपुग
विनाशकारी भूकम्पका कारण हजारौँ नागरिकले आफ्नो ज्यान गुमाए । सयौँ विस्थापित भए भने कयौँ नागरिक घरबार विहीन भए । जनधनको क्षतिसँगै धार्मिक तथा सांस्कृतिक रूपमा महत्त्वपूर्ण पुरातात्विक सम्पदा गुमाउनु प¥यो । यो चार वर्षको अवधिमा अझै पनि पुनर्निर्माणको कामले भने फड्को मार्न सकेको छैन ।
अझै पनि नागरिकको निजी आवास समेत बनेको छैन । भूकम्पले लडाएका धरोहरहरू पुर्ननिमार्णले बल्ल गति लिएको छ । पुनर्निर्माणको सम्पूर्ण जिम्मेवारी पाएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले भने पछिल्लो समय पुर्ननिर्माण र पुर्नस्थापनाको काम द्रुत गतिमा अघि बढी रहेको जनाएको छ ।
भूकम्प गएको ४ वर्ष भयो भने प्राधिकरण स्थापना भएको ४० महिना पुगेको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुर्ननिर्माणका लागि ४ सय २९ अर्ब बजेट अपुग भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: