कुम्लोकुटुरो बोकेर सिंहदरबार « Nagarik Khabar

कुम्लोकुटुरो बोकेर सिंहदरबार



-सचित राई

२०७२ साल वैशाख १२ गते १२ बज्ने तरखर थियो, घट्टेकुलोस्थित डेरामा कम्प्युटर अगाडि बसेर युट्युबमा साहित्यकार टंक सम्बाहाङ्फेको रेडियो अन्तर्वार्ता सुनिरहेको थिएँ । शनिबार बिदाको दिन परेकाले पुष्पा पनि डेरामै थिइन् । उनी पलङमा आराम गरिरहेकी थिइन्, सुमित्रा (सुमा) म भएकै कोठामा पल्टिएकी थिइन् । अचानक घर हल्लिन थाल्यो । तब पुष्पा चिच्याउन थालिन् । पुष्पा बरन्डामा पुगेर फर्किंदै गर्दा भुइँचालोले भेटेछ । उनी चिच्याएपछि म हत्तपत्त दौडिएर त्यतै गएँ । किचेनतिरको ढोकामा अडेसो लागेकी रहेछन्, म उनलाई सम्हाल्न पुगें । सुमित्रा पनि त्यहीं आइपुगिन् । तीनै जना एकथलो भयौं । घर झनै जोडतोडले हल्लिन थाल्यो । हामी पनि जसरी हल्लिरहेका थियौं, त्यसरी नै हल्लिरहेको थियो जोबनको आस पनि । पिङले के मच्चाउँछ र ! घरले हामीलाई त्योभन्दा बढी मच्चाइरह्यो । घरले यसरी हल्लाइरहेको थियो कि सारा संसार प्रलय हुँदै थियो । हामी असहाय भइसकेका थियौं । मैले एक–एक हातले पुष्पा र सुमित्राको टाउको छोप्ने प्रयत्न गरें । त्यो सुरक्षा सतर्कता होला । मैले आफ्नै टाउकोचाहिँ छोप्न बिर्सेछु । घर भत्किएको भए केही गरी कालको मुखबाट बच्न सकिन्नथ्यो होला । अहिले कल्पना गर्न मात्र सकिन्छ । त्यो बेला पुष्पा र सुमित्रालाई अँगालोमा बेरेर भावशून्य हुनुको विकल्प नै थिएन । मन गलिसकेकै थियो तर घर नढलेर थामियो ।

घर हल्लिरहेकै थियो । हामी जीवनको याचना गर्नबाहेक केही गर्न नसक्ने अवस्थामा थियौं । खासमा हामीसँग जीवनको आशा समाप्त भइसकेको थियो । सामान्य अवस्थामा सबैभन्दा सुरक्षित मानिने घरै कालकोठरीजस्तो लाग्न थाल्यो । घरले कसरी किचेर मार्ने भन्ने मात्र लागिरह्यो । विपत्तिमा त धेरैलाई सम्झने फुर्सद पनि कहाँ मिल्दोरहेछ र ! एकपटक ‘माङ’ अर्थात् पुर्खाको सम्झना गरेको हुँ । ‘ओ माङ भुइँचालो रोकाइदेऊ ।’ माङसँग जीवनको याचना गरें, सुने कि सुनेनन् ? पुष्पा र सुमित्राले पेटमा भएको बच्चाका लागि रोइकराइ गरे । पुष्पा ‘मेरो बच्चा–मेरो बच्चा’ भन्दै आलाप–विलाप गरिरहेकी थिइन् । सुमित्रा पनि ‘बच्चा–बच्चा’ भनिरहेकी थिइन् । म उनीहरूलाई सम्हाल्नमै व्यस्त भएँ कि क्या हो ?

विनाशकारी भूकम्पमा भोगाइ आआफ्नै रह्यो । डर लुकाउने ठाउँ कहाँ हुँदोरहेछ र ! ९० सालको भुइँचालोको कथा सुनेको, ४५ सालमा त अलि–अलि भोगेको पनि, ६८ मा गजबसँग चाल पाएको । ६८ सालमा त गर्भको बच्चै खेर गयो । ७२ मा पनि पुष्पा दुईजीउको थिइन् । बच्चालाई कस्तो असर पर्छ भन्ने थाहा नहुँदा त्रास पैदा भयो । जन्म हुने दिन वैशाख २३ गते तोकिएको थियो । डाक्टरले त्यसअघि नै अप्रेसन गर्नुपर्ने अवस्था रहेको पनि बताएका थिए । त्यहीअनुरूप तयारी थियो । जन्मने महिना पुगेको बच्चा केही भइहाल्ला कि भन्ने त्रास मनमा गढ्यो । अघिल्लोपटक बच्चा खेर गएकाले बढी त्रास भयो । चिनजानकाले पुष्पालाई ‘नडराउन’ भने । स्वास्थ्य क्षेत्रका साथीभाइले ‘बच्चा चल्दै छ÷छैन’ भनेर सोधे । पुष्पाले ‘चल्दै गरेको’ सुनाइन् । उनीहरूले ‘त्यसो भए डराउनुपर्दैन’ भन्ने सुझाव दिए । ठूलो सान्त्वना मिल्यो ।

महाभूकम्पले एकैछिनमा यत्ति हल्लायो कि जिन्दगीलाई लल्याकलुलुक बनाइदियो । त्यही बेला थाहा भो जीवनको
महत्व ! बाँचेर पो संसार देख्न पाइन्छ । एकदिन मर्नु त छँदै छ । घरबाट भाग्नै नमिल्ने, खुला ठाउँ भए पो भाग्नु ! भाग्यो भने उल्टै गल्लीमा अरू घरले किच्ला भन्ने झनै ठूलो जोखिम । घर भत्किएन भने बाँच्न सकियो नत्र त्यही घर काल बन्ने हो । भूकम्प फर्किन्छ भन्छन् । भूकम्प रोकिएकै बेला हामी नजिकैको खुला ठाउँ (घर नबनाएर बाँकी रहेको घडेरी)मा निस्कियौं । फेरि भुइँचालोले हल्लाउन थालिहाल्यो । छिन–छिनमा हल्लाउन छाडेन । भूकम्पले हल्लाएका घर हेर्दै बस्न थालियो । ती घर ढल्ला र किच्ला भन्ने डर पनि थियो ! ‘कंक्रिटको जंगल’मा कता पाउनु धक फुकाउन मिल्ने खुला ठाउँ ? टुँडिखेलको विकल्प छैन, कत्ति अट्ने त्यहाँ पनि ?

मोबाइल फोन अवरुद्धजस्तै भए । घरीघरी फोन लाग्दा संसार जितेजस्तो लाग्थ्यो । फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जाल पनि खुल्दैनथ्यो । न्युज पोर्टल पनि उस्तै अवस्थामा थिए । कोही रेडियो खोल्दै थिए । त्यत्रो ठूलो भुइँचालो आयो, कहाँ के–के भयो होला ? को कता के भए होलान् ? परिवार र आफन्तजनको अवस्थाबारे खुल्दुली हुने नै भो । हाम्रो परिवार तथा आफन्तजनमा मानवीय तथा भौतिक दुवै खाले क्षति भएन । राजेन्द्र दाजु सिक्किम जाँदै हुनुहुँदोरहेछ, पानीट्यांकी पुग्दा फोन सम्पर्क भयो । धरानबाट सबिता नानासँग पनि कुराकानी भयो । काठमाडौं ध्वस्त भइसकेको खबर प्रवाह भइसकेको रहेछ । हामीलाई केही जानकारी मिलिरहेको थिएन । आफन्तले सोधीखोजी गरिरहेकै थिए । हामी यहाँ मानसिक रूपमा खलबल भए पनि भौतिक रूपले सकुशल नै थियौं ।

‘एक कान दुई कान मैदान’ भनेझैं धरहरा ढलेको खबर विदेशबाट पो आयो । ध्वस्तै भएछ । १९९० सालको भुइँचालोपछि पुनर्निर्माण गरिएको सम्पदा ध्वस्त हुँदा नेपालै बाँकी रहेन भनेजसरी खबर फैलिएछ । धरहरा ढलेर ठूलो मानवीय क्षति भयोे । पोखरामा पनि बढी क्षति पुगेको हुन सक्ने हल्ला आइपुग्यो (संयोगवश त्यहाँ ठूलो असर भएन) । क्रमशः क्षतिको खबर सुन्न थालियो । चिनजानकाहरूले मलाई क्षतिको खबर सोध्न थाले । म त्यस बेला कहाँ पत्रकार थिएँ र ! मैले भूकम्पसम्बन्धी अधिकांश खबर सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट प्राप्त गरिरहें । प्रविधिको विकासले मोबाइलमै इन्टरनेट सुविधा हुँदा हातबाटै संसार नियाल्दा कत्ति मज्जा ! अरू सञ्चारका माध्यमको पहुँच कहाँ हुनु र त्यति बेला ! बुटवलबाट पत्रकार भाइ विकास पराजुलीले फोन गरे । उनलाई क्षतिबारे जानकारी लिनुु थियो होला, दाइको सम्झना पनि होला । मैले सेरोफेरोको वस्तुस्थितिबारे मात्र जानकारी गराउन सकें– ‘घट्टेकुलो–अनामनगर क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएको खबर आएको छैन । भए पनि अति न्यून होला । हामी खुला ठाउँमा बसिरहेका छौं । भूकम्पको धक्का निरन्तर छ ।’

अफिस जाऊँ कि नजाऊँ ? एकदम अन्योलको अवस्था थियो । दिउँसो ‘सौर्य’ अनलाइन हेर्न त गइनँ नै । बेलुका ‘कारोबार’ राष्ट्रिय आर्थिक दैनिकको डेस्कको काम थियो । पुष्पालाई इष्टमित्रको साथ छाडेर म अफिस गएँ । अफिसमा पनि अन्योलको अवस्था थियो । त्यहीमाथि तेस्रो तलामा बसेर काम गर्नुपर्ने, ०६८ सालमा त्यही ठाउँमा नमज्जा गरी भुँइचालोले हल्लाएको थियो । यसपटक के हुने हो ? १२ पृष्ठको पत्रिकालाई ८ पृष्ठको प्रकाशन गर्ने निधो भयो । परकम्प आउने क्रम जारी रह्यो । ठूलो आइहाले पिलरको सहारा लाग्यो, होइन भने काम ग¥यो । त्रासै–त्रासमा काम गरियो । पृष्ठ ५ का लागि समाचार तयार थियो, त्यसलाई काँटछाँट गरी मैले डिजाइनमा पठाएँ । यो विश्व पृष्ठ भएकाले भारत र बंगलादेशमा पनि भूकम्पबाट मानवीय तथा भौतिक क्षति पुगेको खबर थाहा पाएँ । चीनमा पनि यसको असर पुग्यो । पृष्ठ २ पनि जसोतसो भरियो । अन्तर्वार्ता राख्ने गरेको अन्तिम पातो फोटो फिचरले भरिने भो । यत्ति काम सकेर म हतार–हतार फर्किएँ ।

मान्छेहरू खुला सडकमा निस्किएका थिए । हुनेखानेहरू गाडीमै आराम गरिरहेको देखिन्थे भने हुँदा खानेहरू खुला आकाशमुनि थिए । सिंहदरबारको पूर्वी गेटतर्फको खाली ठाउँ खुला गरिएछ । सरकारी प्रेस पास भएका पत्रकार, सरकारी कर्मचारीसहित केहीलाई मात्र सरासर सिंहदरबार छिर्न अनुमति छ नत्र त भित्रबाट पास मगाउनुपर्छ । भित्र चिनजानका मान्छे छैनन् भने सिंहदरबार प्रवेशमा अनुमति छैन । त्यही ठाउँको केही भाग भूकम्पपछि खुला गरियो । स्थिति हेर्दै–हेर्दै फर्किएँ । गगनचुम्बी भवनहरूबाट जोगिँदै हिँड्नुपर्ने अवस्था थियो । राति खानपिनको व्यवस्था केही थिएन । अनामनगरको एक पसलमा चाउचाउ मात्र बाँकी रहेछ, त्यही पनि २० रुपैयाँ प्याकेट, ३ वटा लिएर आएँ । दिउँसो बसेभन्दा पूर्वतर्फको खुला ठाउँमा चाउचाउ र भुजा खाएर रात कटाइयो । राति पनि धर्ती हल्लिन छाडेन । छेउछाउका घरले किच्ला भन्ने त्रासले सताइरह्यो ।

सिंहदरबारमा बास

भोलि आइतबार त अति भएन । घरमा भएजति परिवार मिलेर खुला ठाउँको खोजीमा प्रदर्शनीमार्गतिर हानियौं । तर, घट्टेकुलो चोक नपुग्दै दोस्रो ठूलो धक्का बेहोर्नुपरेपछि सिंहदरबारतर्फ मोडियौं । अनामनगरको सडकसम्म पुग्न कम्ता सकस परेन । सिंहदरबारमा नेपाल टेलिभिजन र राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय अगाडि रहेको खुला ठाउँमा हामी पनि मिसियौं । टोलीमा घरभेटीका परिवारजन, डेरावालमा हेम सुवेदी, राजकुमार सुवेदी र हामी थियौं, अशोक बान्तवा परिवारसहित त्यहीं भेटिए । साँझसम्म मौसम ठिकै थियो तर बेलुकीको झरीले हामीलाई तितरबित्तर बनाइछाड्यो । घरबाट बोकेको बर्सादीले झरी छेक्न सकेन । ठूलो चिन्ता पुष्पाको थियो । के गर्नु ? विपत्ति झेल्नुको विकल्पै रहेन । उनीसँगै पेटमा भएको बच्चालाई जोगाउनुपर्ने चुनौती त कत्ति थियो कत्ति । त्यही भएर ओतको खोजी गर्नै पर्ने भयो । म, पुष्पा र सुमित्रा छाता ओढेर ओतको खोजीमा लाग्यौं । सँगै थिए घरभेटी दाइ सोमनाथ निरौला पनि ।

झरी परेपछि खुला ठाउँ मात्र होइन, त्यसभन्दा उता पनि प्रवेश खुला पारिएछ । साँझतिरै खुला गरेको भए ओत लाग्न सजिलो हुन्थ्यो । तर, बेलुका पनि एकदमै कडाइका साथ । जाँदा–जाँदै एक जना प्रहरी भेटिए । मैले उनलाई सोधें, ‘भाइ ! कतै ओत लाग्न मिल्ने ठाउँ छैन ?’ उसले श्रम तथा रोजगार मन्त्रालयतिर इसारा ग¥यो । म त्यतै गएँ, खाली ठाउँ रहेनछ ।

खाली ठाउँ खोज्दै म प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेछु । त्यहाँ केही मान्छे ओत लागिसकेका थिए । मैले पुष्पालाई बोलाएँ । राणा प्रधानमन्त्री चन्द्र शमशेरले निर्माण गराएको सिंहदरबारमा बस्न उनलाई डर लागेछ, मिडिया सेन्टरतर्फ भएको पार्किङमा आयौं । त्यहाँ खोइ के गनाइरहेथ्यो, त्यसको परवाह नगरी रात कटाउनुको विकल्प थिएन । धन्न ! त्यो ठाउँ पनि पाइयो । घरभेटीका परिवारजन पनि त्यहीं आइपुगे । अशोकजीको मोबाइल स्विच अफ थियो । राजकुमार दाइ झरी पर्न थालेपछि हिँडिसकेका थिए । म पानीले भिजेर निथ्रुक्क भइसकेको थिएँ, कपडा ज्यानमै सुक्यो ।

बिहान भो, घरभेटीका परिवार आश्रयस्थलको खोजीमा लागे । राजकुमार दाइ र हामी बाँकी रह्यौं । प्रहरीले हामीलाई ‘ठाउँ छाड्न’ भन्दै थिए, हामी अल्याङटल्याङ गर्दै त्यहीं बसिरह्यौं । बिहानको खाना त्यहीको एउटा क्यान्टिनमा खान पाइयो । चार जनाको २४० रुपैयाँ तिरियो अर्थात् ६० रुपैयाँ छाक । शनिबारपछि बल्लतल्ल मुखमा खाना परेको थियो । बिहान १० बजेपछि केही कर्मचारी देखिए । उनीहरूले प्रधानमन्त्री कार्यालय एकदमै जीर्ण भइसकेको सुनाए । हामी पार्किङस्थलमै ओत लाग्ने आसले बाहिर निस्किएनौं । बरु छिमेकी हेम सुवेदीको परिवारलाई पनि बोलायौं । उनीहरू सुरक्षाकर्मीले रोक्दा–रोक्दै भित्रन पाएछन् । म अफिसबाट आउँदा ओछ्यानको बन्दोबस्त भइसकेको थियो । तर, पृथ्वी हल्लिने क्रम रोकिएन । खाली गाडी देखेपछि हामी त्यतातिरै गयौं । गाडीभित्र पुष्पालाई झन् सास्ती भएछ । त्यसपछि रातको २–३ बजेतिर खुला चउरमा झरेर सुतियो ।

मंगलबारचाहिँ डेरामै खाना खाने सल्लाह भयो । लुगाफाटा फेर्न मन लागेको थियो । कुम्लोकुटुरो पूर्वी गेटनेर छाडेर हामी घर आयौं । डेराबाट फर्किंदा म नेपाल वायुसेवा निगमको कार्यालय सुन्धारातिर लागें । अरू सिंहदरबारतिर हिँडे । पुष्पा र सुमित्रा ‘हाम्रो सामान भित्रै छ’ भनेर पस्न पाएछन् । तर, प्रहरीले हामीलाई पूर्वी गेटको खुला ठाउँ कट्न दिएन । निजामतीको परिचयपत्र हुनेलाई पस्न दिँदा रहेछन् । त्रासको बेला मसँग पनि कुनै परिचयपत्र छ कि भनेर पर्स खोलेर हेर्दा प्रेस पास देखियो । प्रहरी जवानले नै देखिइहाल्यो र भन्यो, ‘तपाईं त पत्रकार हुनुहुँदोरहेछ । दक्षिण गेटबाट जानोस् न ।’ नवीकरण नगरिएको प्रेस पास थियो । हुन त म पत्रकारको हैसियतबाट सिंहदरबार गएको पनि थिइनँ । मलाई कुनै सूचना लिनु पनि थिएन सिंहदरबारसँग । पत्रकार भएर त्यहाँ जान कुम्लोकुटुरोको जरुरत पनि पर्दैन । डर लुकाउने ठाउँ कतै नभेटेपछि केही खुला ठाउँ, जहाँ झरी पर्दा ओत पाइयोस् भन्ने ध्येय थियो ।
हेम सुवेदीसँगको परिवारजनसँग पुरानै ठाउँको आसपास पाल टागियो । तर, आकास गडगडाउन थाल्यो । झरी पर्ने छाँटकाँट देखिइहाल्यो । ओत लाग्न पाउनेजति ठाउँ भरिभराउ थिए । झरी पनि न सिमसिमे होस्, कत्रो दर्किनुपरेको हो ? ओत लाग्ने ठाउँ नपाएपछि डेरा फर्किनुको विकल्प रहेन । त्यहीमाथि पुष्पाको अवस्था यस्तो छ । झरीले खुला चउरको बसाइ पनि कष्टसाध्य बनायो । हामीलाई ओत लाग्न सिंहदरबारको पार्किङ सहज लागेको थियो ।

लेखक/पत्रकार राईको ‘माङखिम’ किताबमा संग्रहित ‘घरको पिङ !’ लेखको अंश

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: