नेपाल सेमिफाइनलमा « Nagarik Khabar

नेपाल सेमिफाइनलमा



काठमाडौं । नेपाल थाइल्यान्डमा जारी एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार आयोजक थाइल्यान्डसँगको खेल वर्षाले अवरुद्ध बने पनि अंक तालिकाको शीर्ष स्थानमा रहँदै नेपालले प्रतियोगिताको अन्तिम दुईको यात्रा निश्चित गरेको हो ।

समूह एमा तीन खेलबाट सर्वाधिक पाँच अंक बनाएको नेपाल समूह विजेता बन्यो । नेपालले अव सेमिफाइनल खेलमा समूह बीको उपविजेता टोली हङकङसँग प्रतिस्पर्धा गर्ने छ । 

साविक विजेता नेपालले यस अघि भएको प्रतियोगिताको समूहगत चरणको अघिल्लो दुई खेलमा म्यानमार र मलेसियालाई पराजित गरेको थियो । बिहिबार टस जिती पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा सात विकेट गुमाउँदै दुई सय ३४ रनको योगफल तय गरेको थियो ।

जवाफमा थाइल्यान्डले १.५ ओभरमा कुनै रन जोड्नु अघि एक विकेट गुमाउँदा सुरु भएको वर्षा नरोकिदा खेल अनिर्णीत बनेको थियो । त्यससँगै थाईल्यान्ड र नेपालले एक÷एक अंक बाढेका थिए ।

नेपालका लागि तेस्रो क्रमका ब्याट्सम्यान आइस भट्टराईले सर्वाधिक ५८ रनको अर्धसतकीय पाली खेलेका थिए । यस्तै कप्तान विशाल बिक्रम केसीले ३८ तथा प्रारम्भिक ब्याट्सम्यान दिपक बोहोराले ३५ रनको योगदान दिएका थिए । त्यस बाहेक विशालकुमार पटेल २३ बलमा २८ रन तथा निखिल कुमार सिंह १२ बलमा २२ रन जोडेर अविजित रहे ।

नेपालका लागि आइसले बिशालसँग मिलेर चौथो विकेटका लागि सर्वाधिक ७३ तथा दीपकसँग मिलेर दोस्रो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । त्यससँगै नेपालको पाली उकाँसिएको थियो ।

वर्षाले खेल अवरुद्ध हुनु अघि बलिङतर्फ नेपालका प्रशान्त महतले दोस्रो ओभरमै थाइल्यान्डको विकेट लिएका थिए । थाइल्यान्डकाका लागि भने नरवित नुन्तरचले तीन विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: