उठ्दैछन् भूकम्पले भत्किएका जलविद्युत आयोजना « Nagarik Khabar

उठ्दैछन् भूकम्पले भत्किएका जलविद्युत आयोजना



 

नागरिकखबर

वैशाख, १२ काठमाडौं

चार वर्षअघि देश लोडसेडिङले आक्रान्त थियो । बन्दै गरेका जलविद्युत आयोजनाहरु समयमै सम्पन्न हुने र उज्यालो पाउने आशामा थिए नागरिक । तर, त्यहीं बेला आयो विनाशकारी गोरखा भूकम्प ।
धेरैको जीवन खोसेको, घरबास उठाएको, सम्पदा र सार्वजनिक सम्पत्तिको भत्काएको भूकम्पले उज्यालोको आशा बनेका जलविद्युत आयोजनाहरुमा क्षति पुर्यायो ।

निर्माणको क्रममा रहेको देशभित्रको हालसम्मकै ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोशी मात्रै नभई अन्य आयोजना समेत धेरै पछाडि धकेलिए । भूकम्पको चार वर्षपछि भूकम्पले क्षति पुर्याएका निर्माणाधीन जलविद्युत आयोजनाहरुमा धमाधम काम भईरहेका छन् ।

अन्तिम चरणमा, तर शतप्रतिशत महंगियो तामाकोशी

माथिल्लो तामाकोशीको बाँधस्थलमा भूकम्पले सबैभन्दा बढी समस्या पार्यो । बाँधको संरचना १९ सेन्टीमिटर भासियो । पहुँचमार्ग पहिरोले ध्वस्त बनायो । स्थानीय काभ्रे भीरमा सडक नै पहिरोले लगेपछि ३५० मिटर लामो सुरुङ मार्ग निर्माण गर्नुपर्यो ।

२०७३ सालमा नै निर्माण सम्पन्न हुनुपर्ने आयोजनाको अवधि सर्दै सर्दै २०७६ को चैत मसान्त पुगेको छ । भूकम्पका कारण सबैभन्दा बढी समस्यामा परेको आयोजनाको रुपमा माथिल्लो तामाकोशीलाई नै लिइन्छ । स्वदेशी लगानीमा निर्माण भइरहेको सो आयोजनाको लागत समेत बढ्न गयो । सुरुवाती लागत व्याज बाहेक रु. ३५ अर्ब भए पनि भूकम्प, भारतको नाकाबन्दी तथा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणका कारण आयोजनाको लागत बढेर रु. ७० अर्बको हाराहारी पुगेको छ ।

‘भूकम्पले हामीलाई समस्यामा पार्यो, जसका कारण आयोजनाको निर्माण अवधि समेत थप भयो, लागत बढ्यो’ माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक विज्ञान श्रेष्ठ बताउँछन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण तथा प्रवद्र्धक माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सघन प्रयास पछि आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत पुगेको छ । ऊर्जा, जलसेत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ले आगामी चैतसम्ममा आयोजनाको काम सक्ने गरी काम गर्न निर्देशन दिएका छन् । उनले ९ चैतमा आयोजनाको स्थलगत निरीक्षण गरी तोकिएको समयमा आयोजना सम्पन्न गर्न निर्देशन दिएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार र आइतबार आयोजना स्थलको पुनः निरीक्षण गरी फर्किएका छन् । भूकम्पले बाँध स्थल, पहुँचमार्गमा समस्या पारे पनि अन्य संरचनामा भने क्षति पुर्याएन । विद्युत् गृह भूमिगत भएका कारण पनि त्यसमा कुनै पनि प्रकारको समस्या नदेखिएको हो ।
भूकम्पले क्षति पुर्याएको बाँध स्थलमा सिमेन्ट र एक प्रकारको रसायनको घोल पठाएर मर्मत गरिने भएको छ । त्यसका लागि आयोजनाले निर्माण व्यवसायीलाई आवश्यक निर्देशन एवम् सहजीकरण समेत गरेको छ ।

निर्माणको अन्तिम चरणमा रसुवागढी

रसुवागढी चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले निर्माण गरिरहेको आयोजना हो । भूकम्पका कारण भीरबाट पहिरो खस्दा निर्माण कार्यमा संलग्न केहीं मजदुरहरुको मृत्यु समेत भएको थियो ।
रसुवागढी जलविद्युत आयोजनाको ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले केहीं अघि रसुवागढीको निरक्षण भ्रमण गरेका थिए ।

सरकारले जनताको जलविद्युत कार्यक्रममा हालै समावेश गरेको उक्त आयोजनामा नागरिकले शेयर आवेदन दिएका छन् ।

पाँच दिनपछि उत्पादन सुरु गर्दै त्रिशूली थ्री ए

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री एमा भूकम्पले धेरै असर गरेको थियो । कूल पाँच किलोमिटर लामो पहुँचमार्गको कुनै नाम निशाना नै बाँकी थिएन । सरकारले नेपाली सेनालाई परिचालन गरेर पहुँचमार्ग निर्माण गर्यो । हाल सो आयोजना परिक्षण उत्पादनको क्रममा पुगेको छ ।
यही वैशाख १७ गतेदेखि सो आयोजनाको पहिलो यूनिटबाट विद्युत् उत्पादन सुरु हुने भएको छ । प्राधिकरणले पहिलो युनिट सञ्चालनमा ल्याउने तयारी गरेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

परिक्षणमा आयो कुलेखानी तेस्रो

निर्माण व्यवसायीले काम नगर्दा उल्झनमा परेको कुलेखानी तेस्रो जलविद्युत् आयोजनालाई पनि भूकम्पले थप समस्यामा पारेको थियो । कूल १४ मेगावाट क्षमताको सो आयोजना हाल परिक्षणमा छ । एकाध दिन भित्रै आयोजनाले विद्युत् उत्पादन सुरु गर्नेछ ।

भूकम्पको पीडा भुलेर उठ्दै साञ्जेन

रसुवामा निर्माण भइरहेको साञ्जेन जलविद्युत् कम्पनीका दुई आयोजनालाई समेत भूकम्पले समस्यामा पारेको थियो । ती आयोजनाको निर्माण अवधि समेत दुई वर्ष पर धकेलियो ।

आगामी वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ हाल काम भइरहेको छ । साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले भूकम्पको पीडा भुल्दै आयोजनालाई चाँडो भन्दा चाँडो सम्पन्न गराउन लागिपरेको बताए ।

जापानी प्राविधिक आएर मर्मत गरे कुलेखानी

भूकम्पले प्राधिकरणको एक मात्र जलाशयुक्त आयोजना कुलेखानीको बाँधमा समेत केही समस्या परेको थियो । प्राधिकरणले जापानी प्राविधिकलाई निम्त्याएर बाँधमा देखिएको समस्याको निरुपण मात्रै गरेन, आगामी दिनमा हुन सक्ने क्षतिका बारेमा समेत आवश्यक सतर्कता सहितको पूर्व तयारी समेत गरेको छ ।

जुरेपछि भूकम्पले थिचेको भोटेकोशी उठ्ने प्रयास गर्दै

सिन्धुपाल्चोकमा आयोजना स्थल रहेको ४५ मेगावाट क्षमताको भोटेकोशीलाई भूकम्पले सबैभन्दा बढी मारमा पार्यो । सो आयोजनाको विद्युत् गृह, बाँध तथा पेनस्टक पाइपमा क्षति पुग्यो ।
जुरेको पहिरो, भूकम्प तथा लगातारको बाढीका कारण सो आयोजनाको सम्पूर्ण संरचना नै पुनः निर्माण गर्नुपर्ने भए पछि हाल पनि पुनर्निर्माणको काम जारी छ । आगामी डेढ वर्षभित्र मात्रै सो आयोजनाको पुनर्निर्माण सक्ने गरी कार्य तालिका बनाइएको छ ।

नीजि क्षेत्रका आयोजना उठे

रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायतका जिल्लामा निर्माणका क्रममा रहेका निजी क्षेत्रका आयोजना पनि भूकम्पले क्षति पुर्याएको थियो ।

७.५ मेगावाट क्षमताको इन्द्रावती आयोजनामा समेत भूकम्पले क्षति पुर्याएको थियो भने पाँच मेगावाट क्षमताको चाकुमा समेत भूकम्पले असाध्यै ठूलो प्रभाव पारेको थियो । २२.२ मेगावाट क्षमताको माथिल्लो चाकु, भैरवकुण्ड जस्ता आयोजनामा भूकम्पले क्षति पुर्याएका थिए ।
क्षति भएका निजी क्षेत्रका धेरै जसो आयोजना पुनः निर्माण भई सञ्चालनमा रहेका छन् । तर, ठूला क्षमताका आयोजनामा भएको क्षतिका कारण लागत र समय दुबै बढ्दा त्यसले नकारात्मक प्रभाव पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: