दुर्भाग्य नै मान्नुपर्छ, भौतिक संरचनाको अझै पुनर्निर्माण गर्न सकेका छैनौं (भिडियोसहित) « Nagarik Khabar

दुर्भाग्य नै मान्नुपर्छ, भौतिक संरचनाको अझै पुनर्निर्माण गर्न सकेका छैनौं (भिडियोसहित)



काठमाडौं । भूकम्प गएको चार वर्ष पूरा भएको छ । तर, दुर्भाग्य नै मान्नुपर्छ, त्यस बेला हामीले गुमाएका भौतिक संरचनाको अझै पुनर्निर्माण गर्न सकेका छैनौं । त्योभन्दा ठूलो दुर्भाग्यको कुरा हामीले मानिसका मनोविज्ञानलाई परिपक्क बनाउन सकेनौं । हिजै मात्रै पनि भूकम्प जाँदा मानिसहरू चिच्याउने, आत्तिने भए ।

भूकम्पमा जसले आफन्त गुमाए, उनीहरूलाई परामर्श गरिएन । यो मानवीय पक्षको जिम्मेवारीमा हामी चुकेका छौं । भौतिक संरचनाको पुनर्निर्माणमा केही प्रगति भएका छन् । तर, त्यो मात्र पुनर्निर्माण हैन । हामीले आफन्तहरू गुमाएकाहरुलाई मानसिक परामर्श दिने र घाइतेलाई उपचार गराउने काम भएकै छैन ।

भौतिक संरचनामा अझैँ एक तिहाइ घर बनेका छैनन् । दुई तिहाइमा जो जो पर्नुभयो, उहाँहरू पनि ऋणमा हुनुहुन्छ । किन भने तीन लाख रुपैयाँले घर बन्दैन । त्यसैले हामी पुनर्निर्माणमा पूर्ण असफल भयौं ।

भूकम्पपीडितका लागि घर बनाउन हामीले जुन रकम निर्धारण ग¥यौं, त्यो निर्धारणको तरिका नै गलत छ । स्थानीय तहमा पाइने कुनै पनि निर्माण सामग्री र स्थानीय सीप प्रयोग नहुने संरचनाको विकास गर्न खोज्यौ । यदि त्यसो गरेको भए रकमले पुग्थो होला ।

पछिल्लो समय हाम्रो परम्परागत सीप मुर्खता हो भन्ने बुझाइ बढेको छ । परम्परागत रुपमा बन्दै आएका घर कुनै न कुनै परीक्षण र अनुभवबाटै बनेका हुन्छन् । यदि भूकम्प प्रभावितलाई त्यति बेलै ठाउँ अनुकूल उनीहरुको परम्परागत सीपअनुसारको घर बनाउनुस् भनेर एकमुष्ट रकम दिएको भए सायद अहिलेको अवस्था सिर्जना हुने थिएन ।

पुनर्निर्माणका क्रममा जति घर बनेका छन् । यदि पुनः भूकम्प आए ती घरहरू एउटा पनि बच्छन् जस्तो लाग्दैन । किन भने ती घर निर्माण गरिँदा न माटोको परीक्षण भएको छ न कुनै विशेष प्राविधिक पुगेर निर्माणमा सहयोग गरेको छ । यसले के देखियो भने पुनर्निर्माण जस्तापाता र सिमेन्ट बेच्ने खेल मात्रै भयो ।

भौतिक संरचना निर्माणका क्रममा हामीले के सोच्नु पर्दछ भने यदि ती संरचना भत्कियो भने जनधनको क्षति नपुगोस् भन्ने हो । जापानमा घर बनाउँदा किन कंक्रिट हाल्दैन् ? किनकि, त्यो भौतिक संरचना भत्किएको खण्डमा टाउकोमा लाग्दा समेत चोट नलागोस् भन्ने उद्देश्यले निर्माण गरिएको हो ।

हामीले फुसको छाना हटाएर जस्ताको राख्दैछौं । यसबाट पनि हामी दुर्घटना निम्त्याइरहेका छौं । भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्दा मैले सिन्धुली जिल्लामा काठ प्रयोग भएको घर भत्किएर मान्छे मरेको मैले भेटिन । ज्यानको क्षति कम भएका छन् ।

पछिल्लो समय चिसोका कारण मान्छे मर्ने ठाउँमा पनि जस्तापाता छ । गर्मीले मर्ने ठाउँमा पनि जस्तापाता छ । यो मापदण्ड कसले निर्धारण गरेको हो ? अचम्म लाग्दो छ ।

भूकम्प गएको दिन म कहिल्यै बिर्सिदिँन । त्यो बेला कोलाहल मच्चिएको थियो । मानिसहरूलाई बस्ने ठाउँ थिएन । त्यस बेला हामी पाँच हजार त्रिपाल, पाँच हजार कम्बल लिएर सिन्धुली पुगेका थियौं । निस्वार्थ सेवाभावले राहत लिएर पुग्दा समेत विभिन्न आरोप आउने रहेछ ।

जब कसैको दुःख देखिन्छ त्यसपछि राज्यले नसके पनि म त सक्छु नि भन्ने भाव आउँदो रहेछ । त्यसैले भूकम्प पीडितका लागि ५०० लाई टहरा बनायौं । हजारौंलाई केही न केही सहयोग ग¥यौं ।

भूकम्पको दौरान चार श्रेणीका व्यक्तिहरू निक्कै दुःखी भेटेँ । त्यसमध्ये पहिलो वृद्धवृद्धा हुुनुहुन्छ । ग्रामीण भेगमा बस्नुहुने वृद्धवृद्धा, जसको सन्तान वैदेशिक रोजगारीमा गएका छन् र उहाँहरूलाई हेर्ने कोही पनि भएनन् । ती वृद्धवृद्धाहरूका लागि घर बनायौं । त्यसपछि अपाङ्गता भएका व्यक्ति, एकल महिलाहरूका लागि घर निर्माण ग¥यौं । र, जोखिमपूर्ण ठाउँमा रहेकाहरूलाई पनि सहयोग गरेका थियौं ।

भूकम्प गएको चौथो वर्ष पुगेको छ । तर, दुःखको कुरा अझै पनि कतिपय वृद्धवृद्धाहरू हामीले जस्तापाता प्रयोग गरी बनाएका टहरामुनि बस्न बाध्य छन् । यसले नै देखाउँछ कि पुनर्निर्माणमा हामी पूर्णरुपमा असफल भएका छौं । इमान्दारीतापूर्वक भन्ने हो भने भूकम्पपीडितको कार्ड भएकामध्ये आधाभन्दा बढी नक्कली पीडित छन् । पुनर्निर्माणको असफलता त्यहीबाट सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: