सिन्धुली फिक्कलबासी अल्लो कपडा उत्पादनप्रति आकर्षण « Nagarik Khabar

सिन्धुली फिक्कलबासी अल्लो कपडा उत्पादनप्रति आकर्षण



नवीनबाबु अधिकारी

सिन्धुली । फिक्कल गाउँपालिका–१ महादेवडाँडाका स्थानीयवासीले अल्लोलाई प्रशोधन गरेर कपडा बनाउन थालेका छन् । अल्लोबाट कपडा बनाउने एक महिने तालिम लिएपछि उनीहरुले व्यावसायिक रूपमै कपडा बुन्न थालेका हुन् ।

फिक्कल गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीले अल्लोको महत्त्व र उपयोगिताबारे जानकारी गराएपछि स्थानीयवासी त्यसबाट कपडा बुन्ने व्यवसायमा लागेका हुन् । महादेवडाँडाका जङ्गलमा अल्लो प्रशस्त पाइन्छ । त्यत्तिकै खेर गइरहेका अल्लोबाट कपडा उत्पादन गरी घरमै रोजगारी सिर्जना गर्ने र आफू पनि आत्मनिर्भर हुने भएपछि उनीहरु यो व्यवसायप्रति आकर्षित भएका हुन् ।

अहिले उनीहरुको क्षमता अभिवृद्धिको कार्य भइरहेको छ । अल्लोलाई प्रशोधन गरेर कपडा बनाउन आवश्यक पर्ने मेसिन फिक्कल गाउँपालिका र दातृ निकायको सहयोगमा खरिद गरिएको छ । स्थानीयवासी अहिले अल्लोको कपडा उत्पादन गरी गाउँपालिकालाई नै समृद्ध बनाउने योजनाका साथ लागिपरेका छन् ।

गाउँघरमा पाइने अल्लोलाई प्रयोग गर्दा आम्दानी हुने थाहा पाएपछि आफूलाई अल्लोको कपडा बुन्न इच्छा जागेको स्थानीय कर्णबहादुर सुनुवार बताउँछन् । ‘युवा पैसा कमाउन विदेश जान्छन् तर यहाँ पैसा फलाउने स्थानीय कच्चा पदार्थ कुहिएर गएको देखेनन्’, उनी भन्छन्, ‘अल्लोलाई प्रशोधन गर्दा आम्दानी हुने थाहा पाएँ, गाउँघरमा प्रशस्त पाइने अल्लोलाई सही सदुपयोग गर्दा विना लगानी चोखो आम्दानी हुने भएकाले अल्लो बुनाइको सीप लिएको छु, सीप सिकेर घरमै स्वरोजगार बन्ने छु ।’

विनापैसा गाउँघरको स्थानीय वस्तुलाई प्रयोग गर्दा आम्दानी गर्न सकिने भएकाले हामीले गाउँपालिकालाई आग्रह गरेको उनको भनाइ छ । स्थानीयवासी केशकुमारी सुनुवारले अल्लोलाई सही सदुपयोग गरेर आयआर्जन गर्ने बताए । ‘अल्लोबाट पैसा कमाउन सकिन्छ भन्ने सोचेको पनि थिइनँ । अहिले थाहा पाउँदा उद्यमी बन्ने रहर पलाएको छ’, उनी भन्छन्, ‘अब घरमै बसेर स्वरोजगार हुने योजना बनाएकी छु ।’

अल्लोबाट उत्पादन गरेको कपडाको गाउँपालिकाले बजारीकरण गर्ने भएकाले आफूहरू यो ब्यवसायतर्फ आकर्षित भएको उनीहरू बताउँछन् । स्थानीयवासीले चासो देखाएपछि गाउँपालिकाले अल्लोको कपडा उत्पादनमा लगानी गरेको फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारले बताइन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: