सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन अन्तय, यस्ता छन् अधिवेशनका उपलब्धी « Nagarik Khabar

सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन अन्तय, यस्ता छन् अधिवेशनका उपलब्धी



धनगढी । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन बिहीबार राति १२ बजेबाट अन्त्य हुँदैछ । प्रदेशसभाको बिहीबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले अधिवेशनको बिहीबार राति १२ बजेबाट अन्त्य गरिएकोसम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको पत्रको व्यहोरा पढेर सुनाए ।

बैठकमा प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सरकार र प्रदेशसभाले कानून निर्माण गर्नेलगायत क्षेत्रमा अन्य प्रदेशको तुलनामा उच्च सफलता पाएको बताए ।

सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले विधि नियम र कर्मचारीको अभावका साथै नयाँ परिवेश भएको अवस्थामा सरकारले जनअपेक्षाअनुसार काम गर्न नसके पनि अधिवेशनले महत्वपूर्ण काम गरेको बताए ।

प्रतिपक्षी नेपाली कांग्रेसका कर्णबहादुर मल्लले यो अवधिमा सरकार जनताका समस्या समाधानमा जिम्मेवार ढङ्गले प्रस्तुत हुन नसक्दा अन्योलता सिर्जना भएको औँल्याए ।

सदनमा अर्को प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीका कृष्णबहादुर चौधरीले सरकारका कामको ढिलासुस्तीले जनताका काम बन्न नसकेको शान्ति सुव्यस्था र सुशासनको अवस्थामा सुधार आउन नसकेको टिप्पणी गरे ।

हिउँदे अधिवेशनका उपलब्धी

गत माघ १० गते शुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशन अवधिभर २६ दिनसम्म २८ वटा बैठक चलेका थिए । सो अवधिमा सुदूरपश्चिमको सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम लोकमार्ग विधेयक र सुदूरपश्चिमको सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

यस्तै अधिवेशनमा प्रदेशसभा पहिलो संशोधन नियमावली प्रदेशसभाको सचिव तथा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशको विपद् जोखिम न्यूनीकरणसम्बन्धी विधेयक पनि पारित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभाको तेस्रो अर्थात् हिउँदे अधिवेशनलाई सम्बोधन गरेका थिए ।

नियम निलम्बन गरी विधेयक पारित

हिउँदे अधिवेशनको आज बसेको अन्तिम बैठकले ‘प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक २०७६’लाई प्रदेशसभाको नियमावलीको नियम निलम्बन गरी पारित गरेको छ ।

बैठकमा नियम निलम्बनको प्रस्तावका प्रस्तावक सत्ता पक्षका सदस्य अक्कलबहादुर रावलले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिपक्षी नेपाली कांग्रेसका श्यामलाल रानाथारूले उक्त प्रस्तावको समर्थन गरेका थिए ।

बैठकमा आन्तरिक मामिलामन्त्री शाहले उक्त विधेयकमाथि सभाबाटै दफावार छलफल गरी पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रदेशसभाको नियमावली २०७४ को नियम ११० लाई प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक २०७५ पारित नभएसम्मका लागि उक्त विधेयकको हकमा मात्र लागू हुने गरी प्रदेशसभा नियमावलीको नियम निलम्बन गरियोस् भन्ने प्रस्ताव सचिवालयमा दर्ता गरिएको थियो । रारास

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: