अमेरिका र ओमनलाई एकदिवसीय टोलीको मान्यता « Nagarik Khabar

अमेरिका र ओमनलाई एकदिवसीय टोलीको मान्यता



विन्दहोइक (नामिबिया) । अमेरिका र ओमानले एकदिवसीय टोलीको मान्यता प्राप्त गरेका छन् । नामिबियामा जारी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुईको खेलमा शीर्ष चार स्थानमा रहने निश्चित गरेसँगै अमेरिका र ओमानले एकदिवसीय टोलीको मान्यता पनि सुरक्षित गरेका हुन् ।

साथै यी दुई टोलीले आईसीसी विश्वकप क्रिकेट लिग दुई प्रतियोगितामा समेत छनोट सुरक्षित गरेका छन् । आईसीसीले जारी डिभिजन दुई प्रतियोगिताका शीर्ष चार टोलीले एकदिवसीय टोलीको मान्यता प्राप्त गर्ने र चारवटै टोली आगामी चार वर्षपछिको विश्वका लागि छनोट प्रतियोगिताको रुपमा रहेको लिग वान प्रतियोगिताका लागि पनि छनोट हुने नियम बनाएको थियो ।

आईसीसी विश्वकप क्रिकेट लिग दुई प्रतियोगिता आईसीसीले घोषणा गरेको नयाँ प्रतियोगिता हो । यो प्रतियोगिता सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताको रुपमा रहेको छ । लिग दुईमा अमेरिका र ओमानले नेपाल, स्कटल्याण्ड र संयुक्त अरब ईमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्ने छ ।

जारी डिभिजन दुई प्रतियोगिताबाट थप दुई टोली पनि लिग दुई प्रतियोगिताका लागि छनोट हुने छन् । अमेरिका र ओमान डिभिजन तीनबाट गत वर्ष मात्रै डिभिजन दुईमा बढुवा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: