पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री अधिकारीको २०औं स्मृति दिवस « Nagarik Khabar

पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री अधिकारीको २०औं स्मृति दिवस



काठमाडौं । नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २०औं स्मृति दिवस आज (शुक्रबार) विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

जनजनका हृदयमा बस्न सफल, इमान र निष्ठाका पर्याय अधिकारीको आजकै दिन निधन भएको थियो । उहाँको सम्झनामा शुक्रबार बिहान ८ बजेपछि ललितपुरको सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठान श्रद्धाञ्जली कार्यक्रम राखिएको नेकपाका नेता विष्णु रिजालले जानकारी दिनुभयो ।

सरल जीवन र आजीवन संघर्षका आदर्श व्यक्तित्वका रुपमा अधिकारी नौं महिने शासनकालमा आफ्नो गाउँ आफै बनाऔं, वृद्धभत्ता जस्ता लोकप्रिय र जनप्रिय कार्यक्रमबाट जनजनको मनमा स्थापित हुनुभएको थियो ।

मनमोहन अधिकारी (९ जून १९२०(२६ अप्रिल १९९९) नेपालका पूर्व प्रधानमन्त्री¸ प्रजातान्त्रिक योद्धा तथा राजनीतिज्ञ हुनुहुन्थ्यो । उहाँ विश्वकै इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री हुनुभयो । उहाँ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य हुनुहुन्थ्यो । २०४६ को जनआन्दोलनताका नेकपा मार्क्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसित पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्नुभयो ।

२०५१ को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट उहाँ प्रधानमन्त्री हुनुभयो । उहाँको नेतृत्वमा सरकार बनेको ९ महिनापछि अन्य पार्टीले समर्थन नदिएका कारण ढल्यो, जुन नेपालको इतिहासमा ९ महिने सरकारको रूपमा चिनिन्छ ।

काठमाडौंको लाजिम्पाटमा जन्मनुभएका अधिकारीले आफ्नो बाल्यकाल विराटनगरमा बिताउनुभयो । उहाँलाई १९३८ मा वाराणसी अध्ययन गर्नको लागि पठाइयो । उहाँको बिएस्सीको अध्ययन सकिन लागेका बेला १९४२ मा, मनमोहन भारत छोडो आन्दोलनमा सहभागी हुनुभयो । उहाँलाई ब्रिटिश सरकारले गिरफ्तार गर्यो र अन्य नेताहरूसंगै जेल पठायो । यहाँबाट उहाँको अध्ययन पनि पुरा हुन पाएन ।

भारत बसाईमा नै मनमोहन कम्युनिस्ट आन्दोलनमा लाग्नुभएको थियो । उहाँ भारतीय कम्युनिस्ट पार्टीमा शामिल हुनुहुन्थ्यो । भारतबाट विराटनगर फर्केपछि उहाँ त्यहाँ एक कारखानामा काम गर्न थाल्नुभयो र ट्रेड यूनियनको नेता बन्नुभयो ।

१९४९ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नेमध्ये उहाँ एक हो। बंग्लादेशको स्वतन्त्रता आन्दोलनको क्रममा पनि उहाँ पक्राउ पर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: