पत्रकार महर्जनको रिहाईको माग गर्दै धर्ना « Nagarik Khabar

पत्रकार महर्जनको रिहाईको माग गर्दै धर्ना



काठमाडौँ । सर्वोच्च अदालतको आदेश अवज्ञा गरी हिरासतमा राखिएका पत्रकार जितेन्द्र महर्जनलाई रिहाईको माग गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूले विहीबार राजधानीको माईतीघर मण्डलामा धर्ना दिएको छ ।

आस्थाका आधारमा उचित र पर्याप्त प्रमाण बिना हिरासतमा राखिएको भन्दै दबूले माईती मण्डलामा डेढ घण्टा धर्ना दिएको हो ।

कीर्तिपुरबाट प्रकाशित हुने नेपाल भाषाको ज्वजलपा साप्ताहिकका प्रधानसम्पादक समेत रहेका पत्रकार महर्जन दबूका काठमाडौं शाखाका सदस्य हुन् ।

पत्रकार महर्जनलाई समाचार संकलनको क्रममा रहेको बेला चैत्र २६ गते प्रहरीले गिरफ्तार गरेको थियो ।

धर्नाको समापनमा पत्रकार महर्जनको रिहाई र विचार तथा अभिव्यक्ति स्वतन्त्राको प्रत्याभुत गर्न माग गर्दै नेपाल पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ र नेवाः पत्रकार राष्ट्रिय दबूले थप दवावका कार्यक्रम गर्ने भएका छन् ।

धर्नालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले सरकार एकपछि अर्को प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्दै आएको बताउँदै पत्रकार महर्जनको रिहाइ गर्न माग गरेका थिए । उनले महर्जनलगायत देशभर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रमाथि सरकारले हस्तक्षेप गरेको भन्दै जैसीले त्यसविरुद्ध महासंघले आन्दोलनमा गएको जानकारी गराएका थिए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ्गले वैचारिक आस्थाका आधारमा पत्रकार मात्र नभई जो कसैलाई पनि धरपकड गर्न नहुने बताउनुभयो ।

त्यसैगरी क्रान्तिकारी पत्रकार महासंघका प्रदेश नं ३ का संयोजक रमेश महतारा, क्रान्तिकारी पत्रकार संगठनकाका महासचिव बाबुराम भुसाल, पत्रकार दबूका केन्द्रीय महासचिव सुनील महर्जन र सचिव के। के मानन्धरले सरकारले पत्रकार गिरफ्तार गरेर लोकतन्त्रको आवरणमा निरंकुशता र राज्य आतंक मच्चाएको आरोप लगाएका थिए । उनिहरुले पत्रकार महर्जनलाई रिहाइ नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका थिए ।
धर्नाको समापन गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले अदालतको आदेश विपरीत हिरासतमा राखेर सरकारले कानून शासनको बर्खिलाप कार्य गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: