गेटाफेसँग बाराबरीमै रोकियो रियल « Nagarik Khabar

गेटाफेसँग बाराबरीमै रोकियो रियल



म्याड्रिड । रियल म्याड्रिड स्पेनिस ला लिगाअन्तर्गत बिहिबार भएको खेलमा गेटाफेसँग बराबरीमै रोकिएको छ । गेटाफेको घरेलु मैदानमा भएको खेलमा रियल गोलरहित बराबरीमा रोकिएको हो ।

उपाधि होडबाट निक्कै पछि परेको रियल यो नतिजासँगै घरेलु लिगमा ४५ वर्षपछि लगातार दोस्रो सिजन शीर्ष दुई भित्र नपर्ने सम्भावना पनि बढेको छ । रियलले सन् १९७३÷७४ को सिजन यता लगातार दुई सिजन शीर्ष दुई स्थान गुमाएको छैन । रियललाई यो अवस्थाबाट पार पाउँन अब लिगमा चार खेलको अवसर रहेको छ । यद्यपि ती खेलमा रियलले जित हात पारेर मात्रै पुग्ने छैन । दोस्रो स्थानको एट्लेटिको म्याड्रिडले पनि आफ्नो खेलमा पराजय बेहोर्नुपर्ने छ । किन भने रियल दोस्रो स्थानको एट्लेटिको म्याड्रिड भन्दा स्पष्ट ६ अंकले पछि परेको छ ।

प्रशिक्षक जिनेदिन जिदानले गेटाफेविरुद्धको खेलमा आफ्ना स्टार खेलाडी टोनी क्रुज, लुका मोड्रिच र मार्सेलोलाई बेञ्चमै राखेका थिए । खेलमा दुवै टोलीले गोलका केही राम्रा अवसर सृजना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।

खेलपछि रियलका प्रशिक्षक जिदानले खेलको नतिजामा असन्तुष्टि जनाए । ‘हामी यो भन्दा राम्रो खेल्न सक्छौं । हामीसँग गोलका अवसरहरू थिए’, खेलपछि प्रशिक्षक जिदानले भने, ‘यो नतिजाबाट म सन्तुष्ट छैन ।’

रियलसँगको बराबरीको नतिजाले गेटाफेलाई भने ठूलो राहत मिलेको छ । गेटाफे ला लिगाको चौथो स्थानमा उक्लिएको छ । सिजनको अन्त्यसम्मै यो स्थानलाई कायम राखे गेटाफेले आगामी सिजनको युरोपियन च्याम्पियन्स लिग खेल्न पाउँनेछ ।

गेटाफेका रक्षक दामियन सुआरेजले टोलीको उपलब्धिमा खुसी व्यक्त गरे । ‘हामीले रियससँग एक अंक खोस्यौ र चौथो स्थानको प्रतिस्पर्धामा आइपुगेका छौं’, रक्षक सुआरेजले भने, ‘हामीले यस्तै प्रदर्शन कायम राख्ने हो भने पक्कै पनि हामी अर्काे सिजन च्याम्पियन्स लिग खेल्ने छौं ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: