सीमा क्षेत्रमा साना हतियारको बिगबिगी « Nagarik Khabar

सीमा क्षेत्रमा साना हतियारको बिगबिगी



काठमाडौँ । नेपाल–भारत सीमा क्षेत्रमा साना हतियारको बिगबिगी बढेको छ । खुला सीमाका कारण सीमावर्ती क्षेत्रमा साना हतियारको बिगबिगी बढेको हो । तराईका १६ जिल्ला र आसपासबाट प्रहरीले साना हतियार बरामद गर्ने गरेको छ ।
भारतीय बजारमा सहजै किन्न पाइने भएकाले नेपाल र भारत दुवैतर्फका आपराधिक समूहले हतियार ल्याउने गरेको प्रहरीको दाबी छ । साना हतियार देखाएर आपराधिक समूहले सीमा क्षेत्रका बजारमा लुटपाट गर्ने, धम्की दिएर चन्दा असुली गर्ने तथा अपहरण समेत गर्ने गरेका छन् । प्रहरीले केही दिन अघि मात्रै नेपाल सीमा नाकाबाट हतियार सहित गोली बरामद गरेको छ ।
प्रहरी प्रधान कार्यालयले दिएको विवरण अनुसार विसं २०७४ सालमा पेस्तोल ३४, रिभोल्वर ३, कटुवा ६२ र भरुवा बन्दुक १८ वटा बरामद गरेको छ । त्यसमध्ये अधिकांश हतियार सीमा क्षेत्रबाट बरामद भएका थिए । त्यस्तै २०७५ सालमा पेस्तोल ५३, रिभोल्वर ६, कटुवा ४४ र भरुवा बन्दुक ३३ वटा बरामद भएको छ ।
अधिकांश आपराधिक घटनामा साना हतियारको प्रयोग भएको पाइएको छ । सीमावर्ती क्षेत्रमा सहजै उपलब्ध हुने नल कटुवा सस्तो पर्ने भएकाले आपराधिक गिरोहको पहिलो रोजाइ नल कटुवा बनेको प्रहरीको दाबी छ । भारतसँग सीमा जोडिएको पर्सा, बारा र रौतहटमा सहजै हतियार उपलब्ध हुन्छन् । सीमा क्षेत्रबाटै राजधानीसम्म साना हतियार आउने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक पप्पु नायकको कमाण्डमा खटिएको एम्बुस टोलीले एक थान कटुवा पेस्तोल बरामद गरेको थियो ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम राज सुवेदीका अनुसार सीमा क्षेत्रमा साना हतियारका कारण असुरक्षा बढ्दै गएपछि स्थानीय प्रहरी युनिटले सुरक्षा सतर्कता अपनाएका छन् । ‘सीमाक्षेत्रमा सधैँ सुरक्षा सतर्कता बढाउनुपर्छ त्यसको कारण के हो भने दुवै देशका आपराधिक गिरोहले हतियारको आडमा दुवै देशमा अपराध गर्न सक्छन्,’ एसएसपी सुवेदीले भने ।
सङ्क्रमणको फाइदा उठाउँदै हतियारधारी समूहले तस्करी र असुलीलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।
पश्चिम तराई निशानामा
पछिल्लो एक वर्षमा बढ्दो हत्याका घटनाले पश्चिम तराईमा पनि साना हतियारको बिगबिगी रहेको प्रहरीको दाबी छ । तराई क्षेत्रमा उद्योग चलाउने उद्योगी र प्रतिष्ठित व्यक्ति साना हतियारको भयमा छन् । सामान्य रिसइबीका घटनामै हतियार प्रयोग भएको छ ।
रुपन्देहीको बुटवलमा गत चैतमा भारतीय नागरिक फिरोज खानको साना हतियार प्रयोगबाट हत्या भयो । उनको हत्या श्रीमतीको योजनामा खानकै साढु भाइले गरेका थिए ।
विसं २०७५ मङ्सिर ७ गते कपिलवस्तु शुद्धोधनका राजाबाबु भनिने दीपेन्द्रकुमार चौधरीको हत्या भयो । सामान्य रिसइबीमा स्थानीय अजित पाण्डेले उनको हत्या गरे । उनको हत्यामा भारतीय बजारमा सजिलै पाइने सानो हतियार प्रयोग भएको थियो ।
गत पुस २९मा रुपन्देहीको भैरहवामा इन्काउन्टरमा मारिएका रुपन्देही सिद्धार्थनगर–६ का केदार सहनीको साथबाट पनि यूएसए अटोमेटिक पेस्तोल फेला परेको थियो । कुख्यात अपराधी उनले प्रहरीमाथि नै गोली चलाएपछि मारिए ।
०७५ जेठ २ गते राति नल कटुवा पेस्तोलले रुपन्देहीको कोटहीमाई गाउँपालिका–४ का ४१ वर्षीय घर निर्माण गर्ने मजदुर रामकेश धवलको हत्या भयो । यी घटनाले साना हतियारको बिगबिगी रहेको देखिन्छ ।
चर्चित गुन्डा नाइके मनोज पुनदेखि हालसम्मका अपराधले फेरि साना हतियार बढेको देखिएको छ । मनोज पुन मारिँदा समेत अटोमेटिक पेस्तोल बरामद भएको थियो ।
सामान तस्करदेखि हत्या धम्कीमा फिरौती उठाउने काममा साना हतियार प्रयोग बढेको छ । यसले सर्वसाधारण त्रासमा छन् । अघिल्लो वर्ष फागुन २८ मा भैरहवाका व्यापारी हरिश सेठियामाथि गोली प्रहार गरेर भाग्ने क्रममा भारतीय सीमावर्ती सहर नौतनवाका ४६ वर्षीय रमजान मुसलमान ‘सुटर’ पक्राउ परेका थिए । उनको साथबाट पनि नल कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली एक थान बरामद भएको थियो । रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया तथा कैलालीमा समेत बेलाबखत साना हतियारले सुरक्षा चुनौती थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: