नागरिकताका विषयमा एकहप्तामा सर्वोच्चका दुई फरक-फरक आदेश « Nagarik Khabar

नागरिकताका विषयमा एकहप्तामा सर्वोच्चका दुई फरक-फरक आदेश



काठमाडौं । सर्वोच्च अदालतले अंगीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले जारी गरेको सकुर्लर कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रवार प्रधानन्यायशीश चोलेन्द्र शम्सेर जबरा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले गृहको सर्कुलर कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

गृहको सर्कुलर विरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की सहितले रिट दायर गरेका थिए । गृहले चैत १९ गते अंगीकृत नागरिकका सन्तानलाई बंशजको नागरिकता वितरण गर्न सर्कुलर जारी गरेको थियो । सर्वोच्च अदालतले एक हप्तामा एकै विषयमा बाँझिनेगरी फैसला गरेको छ । अहिले पनि सर्वोच्च अदालतले कतिपय व्यक्तिका हकमा नागरिकता वितरणमा अन्तरिम रोक लगाइएको छ ।

सर्वोच्चको आदेशपछि कतिपय जिल्लामा नागरिकता वितरण शुरु भएपनि अब आदेश अनुसार कतिपय व्यक्तिलाई नागरिकता वितरण रोकिने गृह मन्त्रालयका अधिकारीले बताएका छन् । सर्वोच्चको फैसलाले अब ०५४ र ०५८ सालमा नागरिकता वितरण टोलीबाट नागरिकता पाएका अंगीकृत नागरिकका सन्तानले नागरिकता पाउने छैनन् ।

सर्वोच्चमा रिट दायर गर्ने मध्यका एक साध्यबहादुर भण्डारीले आफूहरुको अभियानले नागरिकता वितरण टोलीले बाँडेका अंगीकृत नागरिकका छोराछोरीलाई वंशजको नागरिकता दिन रोकेपनि पूर्णरुपमा रोक्न भोली काठमाडौंमा प्रदर्शन गर्ने बताएका छन् । सरकारले विसं २०५४ सालमा जिल्ला प्रशासन कार्यालय मार्फत ३४ हजार ९५ नागरिकता वितरण गरेको थियो ।

यसअघि सर्वोच्चले बितरण गरिएका नागरिकता खारेज गर्न निर्देशन दिएको थियो । बालकृष्ण न्यौपानेले जिल्ला प्रशासन कार्यालयको अधिकार खोसिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा फैसला गर्दै सर्वोच्चले नागरिकता बदर गर्न आदेश जारी गरेको थियो । तर गृहको सर्कुलर अनुसार नागरिकता वितरण नरोक्न एकहप्तामा न्यायधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: