तेस्रो श्रमशक्ति सर्वेक्षणः नौ लाख मात्र बेरोजगार « Nagarik Khabar

तेस्रो श्रमशक्ति सर्वेक्षणः नौ लाख मात्र बेरोजगार



काठमाडौँ । मुलुकमा नौ लाख युवामात्रै बेरोजगार रहेको तथ्याङ्क सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागले एक वर्ष लगाएर गरेको तेस्रो नेपाल श्रम शक्ति सर्वेक्षण २०७४÷७५ ले नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसङ्ख्यामध्ये नौ लाख आठ हजार व्यक्ति बेरोजगार रहेको देखाएको छ । जसमध्ये पाँच लाख ११ हजार पुरुष र तीन लाख ९७ हजार महिला छन् । बेरोजगारमध्ये बसोबासका आधारमा छ लाख ४० हजार शहरी क्षेत्रमा र दुई लाख ६८ हजार ग्रामीण क्षेत्रमा छन् ।

आज सार्वजनिक गरिएको सर्वेक्षणमा नेपालको बेरोजगारी दर ११।४ प्रतिशत देखाएको छ । पुरुषको तुलनामा महिलामा बेरोजगारीको दर बढी रहेको पाइएको छ । पुरुषको र महिलाको बेरोजगारी दर क्रमशः १०।३ र १३।१ प्रतिशत छ । यसैगरी शहरमा ११।६ प्रतिशत र ग्रामीण क्षेत्रमा १०।९ प्रतिशत बेरोजगारी छ ।

त्यस्तै १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको दुई करोड सात लाख ४४ हजारमध्ये ७० लाख ८६ हजार जनसङ्ख्या कुनै न कुनै रोजगारीका क्षेत्रमा रहेको पाइएको छ । यसमा ४४ लाख ४६ हजार पुरुष र २६ लाख ४० हजार महिला छन् । रोजगारीका क्षेत्रमा रहेको जनसङ्ख्या काम गर्ने उमेर समूहअन्तर्गतको जम्मा जनसङ्ख्याको ३४।२ प्रतिशत रहेको छ ।

यसैगरी बसोबासको आधारमा रोजगारीका क्षेत्रमा रहेको जनसङ्ख्यामध्ये ४९ लाख एक हजार शहरी क्षेत्रमा रहेको र २१ लाख ८५ हजार ग्रामीण क्षेत्रमा रहेको सर्वेक्षणले देखाएको छ । जम्मा रोजगारीमा रहेको जनसङ्ख्यामध्ये ६९ प्रतिशत शहरमा र ३१ प्रतिशत ग्रामीण क्षेत्रमा छन् । रोजगारीमा रहेको पुरुषमध्ये शहरमा ६८ र ग्रामीण क्षेत्रमा ३२ प्रतिशत छन् । यसैगरी रोजगारीमा रहेका महिलामध्ये ७० प्रतिशत शहरमा र ३० प्रतिशत ग्रामीण क्षेत्रमा रहेको पाइएको छ ।

सन् २०१७÷१८ मा नेपालको श्रम शक्तिमा सहभागिता दर ३८।५ प्रतिशत रहेको छ । यो दर शहरमा ४१।७ प्रतिशत र ग्रामीण क्षेत्रमा ३२।९ प्रतिशत रहेको छ । यसैगरी पुरुष र महिलाको श्रम शक्तिमा सहभागिता दर क्रमशः ५३।८ र २६।३ प्रतिशत छ । रोजगार रहेको जनसङ्ख्यालाई हेर्दा सबैभन्दा बढी प्रदेश नं २ मा २०।१ प्रतिशत र सबैभन्दा कम प्रदेश नं ३ मा सात प्रतिशत मात्र रहेको छ । प्रदेशअनुसार श्रम शक्तिमा सहभागिता दर सबैभन्दा बढी ४७।१ प्रतिशत प्रदेश नं ३ र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २७।३ प्रतिशत छ ।

श्रमको अल्पउपयोग दर ३९।३ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । लिङ्गका आधारमा पुरुष ३२ र महिला ४८।८ प्रतिशत रहेको छ । मुख्य काम गर्ने समय साताको ४४ घन्टामध्ये पुरुषको ४८ घन्टा र महिलाको ३९ घन्टा छ । अर्थतन्त्रलाई आधार मानेर औपचारिक र अनौपचारिक क्षेत्रमा ३७।८ प्रतिशत क्रियाकलाप औपचारिक र ६२।२ प्रतिशत अनौपचारिक क्षेत्रमा रहेको पाइएको छ ।

सर्वेक्षणले १५।४ प्रतिशत औपचारिक रोजगारी र ८४।६ प्रतिशत अनौपचारिक रोजगारी रहेको देखाएको छ । रोजगारमा रहेको र तलब÷ज्याला प्राप्त गर्ने औसत मासिक आम्दानी रु १७ हजार ८०९ रहेकामा पुरुषको औसत मासिक आम्दानी रु १९ हजार ४६४ र महिलाको औसत मासिक आम्दानी रु १३ हजार ३६० रहेको छ । पुरुषको तुलनामा महिलाले औसत ३० प्रतिशत कम तलब पाउने गरेका छन् । नेपाली महिलाले पुरुषको तुलनामा औसत मासिक रु पाँच हजार ८३४ कम कमाउने सर्वेक्षणले देखाएको छ ।

प्रामाणिक औद्योगिक वर्गीकरणअनुसार रोजगारीको वितरण मुख्य पाँच क्षेत्रमा बढी देखिएको छ । सबैभन्दा बढी व्यक्ति कृषि, वन र माछापालन, थोक तथा खुद्रा बिक्री, मोटरगाडी तथा मोटरसाइकलको मर्मत सम्भार, उद्योग, निर्माण र शिक्षामा क्रमशः २१।५, १७।५, १५।१, १३।८ र ७।९ प्रतिशत छ ।

प्रामाणिक पेशाको वर्गीकरणअनुसार रोजगारीलाई हेर्दा सबैभन्दा बढी मुख्यतः तीन वटा पेसा समूहमा रहेको पाइएको छ । सेवा तथा बिक्री, प्रारम्भिक आधारभूत सेवा र हस्तकला ९यन्त्र० र त्यससँग सम्बन्धित व्यापार गर्ने काममा रहेका छन् । सेवा तथा बिक्री गर्ने काममा २३।८, प्रारम्भिक आधारभूत सेवामा २०।३ र हस्तकलासँग सम्बन्धित काममा १९।६ प्रतिशत छ । सबैभन्दा कम उच्च तहका प्रबन्धकको पेसामा १।२ प्रतिशत मात्र रोजगारी रहेको छ । प्रबन्धक पुरुष ८६।८ र महिला १३।२ प्रतिशत छ ।

नेपालमा श्रम केन्द्रित सर्वेक्षणका रुपमा पहिलो पटक सन् १९९८÷९९ मा नेपाल श्रम शक्ति सर्वेक्षण भएको थियो । सन् २००८ मा दोस्रो तथा सन् १०१७÷१८ मा तेस्रो श्रम शक्ति सर्वेक्षण गरिएको हो । तेस्रो सर्वेक्षणका लागि २०७४ असारदेखि २०७५ जेठसम्म तथ्याङ्क सङ्कलन गरिएको थियो । यस पटकको श्रम शक्ति सर्वेक्षण अन्तर्राष्ट्रिय श्रम सङ्गठनले श्रम तथ्याङ्क विज्ञहरुको १९ औँ सम्मेलनबाट पारित श्रम तथ्याङ्कसम्बन्धी अवधारणाअनुसार सञ्चालन गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: