सभामुख महराको प्रष्टिकरण : प्रहरीलाई दबाब दिएको छैन « Nagarik Khabar

सभामुख महराको प्रष्टिकरण : प्रहरीलाई दबाब दिएको छैन



काठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रहरीद्वारा पक्राउ गरिएका व्यक्तिलाई हिरासत मुक्त गर्न आफूले दबाब नदिएको बताएका छन् । क्रिश्चियन धर्म प्रचारका क्रममा दाङमा पक्राउ परेका व्यक्तिहरुलाई छुटाउन सभामुख महराले दबाब दिएको भनी केहीं अनलाइनहरुले प्रचार गरेपछि उनले खण्डन गरेका हुन् ।

सभामुख महराको तर्फबाट आज उनका प्रेस सल्लाहकार डिल्ली मल्लले वक्तव्य जारी गरेर पक्राउ परेका व्यक्तिलाई छुटाउन महराले कसैलाई दबाब नदिएको बताएका हुन् । ‘सभामुखज्यूलाई लगाइएको उक्त निराधार आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु’, मल्लले वक्तव्यमा भनेका छन् ।

सभामुखका सल्लाहकार मल्लले क्रिश्चियन धर्मको प्रचार गर्नेहरु दाङ पक्राउ परेको घटनाका बारेमा सभामुखज्यूलाई कुनै जानकारी नै नभएको र प्रहरी तथा स्थानीय प्रशासनका कोही पनि अधिकारीसँग फोन सम्पर्क नै नभएको बताएका छन् । ‘उल्टै पक्राउ परेका व्यक्तिलाई छुटाउन दबाब दिएको भनी सभामुखज्यूको चरित्र हत्या गर्ने घृणित क्रियाकलापले निकै दुःखी बनाएको छ’, वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: