अज्ञात रोगबाट हुम्लामा आठ जनाको मृत्यु « Nagarik Khabar

अज्ञात रोगबाट हुम्लामा आठ जनाको मृत्यु



काठमाडौं । हुम्लामा अज्ञात रोगका कारण ८ जनाको मृत्यु भएको छ । ताजाकोट गाउँपालिकामा ८ जनाको मृत्यु भैसकेको र अरु १० जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । मैला, मदान, दर्जो लगायतका गाउँमा अज्ञात रोगको प्रकोप फैलिएको छ । एक हप्तामा ८ जनाको मुत्यु भैसकेको प्रहरीले जनाएको छ ।

स्थानीयमा टाउको दुख्ने, छाती दुख्ने, ज्वरो आउने समस्या देखिएको छ । रोगको पहिचान नभएपछि मेला स्वास्थ चौकीका अहेब मोतीलाल जैशीले जिल्ला सदरमुकाम सीमकोटमा खबर गरेका थिए । अहिले चिकित्सक सहितको टोली प्रभावित क्षेत्रमा पुगेर शिविर स्थापनाको प्रयास थालेको छ ।  कर्णाली सरकारको पहलमा प्रभावित गाउँमा शिविर सञ्चालनको प्रयास भएको हो ।

कर्णालीका सामाजिक बिकास मन्त्री दल रावलले भाइरल इन्फुल्जा भएको आशंका गरिएपनि रोगको पहिचान नभएको बताए । उनी पनि हुम्ला पुगेका छन् । रोगबाट प्रभावितको उपचारमा कुनै कसर बाँकी नराख्ने मन्त्री रावलले नागरिक खबरलाई जानकारी दिए ।

अज्ञात रोगबाट एक हप्तामा ताजाकोट गाउँपालिका वडा नम्बर ३ का ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जिरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका बालक सञ्जिव थापा रहेका छन् । त्यस्तै वडा नं १ का ६० वर्षिय सुरजित खड्का र ७० वर्षीया कुशुमा रिठाला, वडा नम्बर २ का ५५ वर्षीय थर नखुलेका रंगे र ५ वर्षीया सुनकेसा सुनारको पनि मृत्यु भएको छ । ताजाकोटमा औषधिको समेत अभाव भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: