मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले भने, संघीयताको जागरण अभियान चलाउनुस् « Nagarik Khabar

मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले भने, संघीयताको जागरण अभियान चलाउनुस्



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर प्रदेश परिषदको तेस्रो बैठकमा संघीयता सम्बन्धी जागरण अभियान सञ्चालन गर्न आग्रह गरेका छन् । शुक्रबार रातिसम्म बसेको अन्तर प्रदेश परिषद्को तेस्रो बैठकमा मूख्यमन्त्रीहरुको धारणा सुनिसकेपछि प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

अन्तर प्रदेश बैठकमा अर्थमन्त्रीलाई सँगै राखेर प्रधानमन्त्रीले आगामी बजेट र सरकारको नीति तथा कार्यक्रमको बारेमा जानकारी गराएका थिए । अघिल्लो वर्ष कानून निर्माणको वर्ष भएको उल्लेख गर्दै यो वर्ष मुलुकलाई समृद्धको मार्गमा लैजाने वर्ष भएकाले पनि तीन तहकै सरकारले समन्वय गर्न आवश्यक रहेको बताएका थिए ।

बैठकबाट अन्तर प्रदेश कार्यविधि पास गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । उनका अनुसार बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका बारेमा पनि छलफल भएको थियो ।
छलफलमा प्रदेशका मुख्यमन्त्री, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, जिल्ला समन्वय समिति लगायतका पदाधिकारीले प्रधानमन्त्रीलाई आफ्नो सल्लाह राखेका थिए ।

बैठकमा अघिल्ला बैठकका निर्णयको समीक्षा र सम्पादन गर्न बाँकी रहेका कामलाई संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा अघि बढाउन प्रधानमन्त्रीले निर्देशन दिएका थिए । संघ, प्रदेश र स्थानीय तहको काम–कर्तव्यलाई व्यवस्थित गर्न बनेको विधेयकलाई संसदबाट छिट्टै पारित गराउन पहल गर्ने निर्णय पनि बैठकले गरेको छ । संघको कानुन निर्माणमा केही ढिलाइ हुँदा प्रदेश कानून निर्माणमा पनि विलम्ब हुन गएको, कर्मचारी समायोजनमा भएको ढिलाइका कारण स्थानीय तहमा कर्मचारी अभाव भएको विषयलाई बैठकमा सहभागी मूख्यमन्त्रीहरुले उठाएका थिए ।

बैठकमा प्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तह एकजुट भएर विकासको एजेण्डालाई कार्यान्वयनमा लैजान मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिए । ‘हामीले आ–आफ्नो जिम्मेवारीलाई पूरा गर्दै जाऊँ, शुरुको अवस्थामा संघीयताका अभ्यास गरिरहँदा कतिपय कुरा सिक्दै, बुझ्दै जाने कुरा हो, त्यसैले संघीयता कार्यान्वयनका पहिलो वर्षमै सबै कुरा ठिक हुन्छ भन्ने होइन हामीले परिमार्जित भएर अघि बढ्नुपर्छ, यसमा हामीले अधिकारको कुराहरूभन्दा पनि जवाफदेही र जिम्मेवारीलाई साझा रूपमा अघि बढाउन प्रयास गरौँ’, अन्तर प्रदेशको बैठकमा प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले संघ प्रदेश र स्थानीय सरकारसँगको सहकार्यलाई स्थानीय सरकारको सहकार्यबाट सरकार अघि बढ्नुपर्ने सबै जिल्ला समन्वय समितिले प्रभावकारी रूपमा समन्वयात्मक ढङ्गले तीन वटै तहसँग काम गर्नुपर्ने, संघीयताका सम्बन्धमा जागरण अभियान नै सञ्चालन गर्नुपर्ने र सबै जनप्रतिनिधि त्यसमा समाहित हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: