रोहितको उत्कृष्ट ब्याटिङमा मुम्बईले चेन्नाईलाई हरायो « Nagarik Khabar

रोहितको उत्कृष्ट ब्याटिङमा मुम्बईले चेन्नाईलाई हरायो



चेन्नाई । कप्तान रोहित शर्माले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा मुम्बई इन्डियन्सले अंक तालिकाको शीर्ष स्थानमा रहेको चेन्नाई सुपर किङ्सलाई ४६ रनले पराजित गरेको छ ।

यो जितसँगै मुम्बई आईपीएल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १४÷१४ अंक भएपनि रन रेटमा दिल्ली क्यापिटल्सलाई एक स्थान पछि धकेल्दै मुम्बई दोस्रो स्थानमा पुगेको हो । यो नतिजाले मुम्बईको प्ले अफ चरणमा पुग्ने सम्भावना पनि बलियो बनेको छ ।

चेन्नाईको घरेलु मैदान चेपोकमा टस हारी पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ५५ रनको योगफल तय गरेको थियो । जावाफमा आएको चेन्नाई १७.४ ओभरमा एक सय नौं रनमै समेटिन पुगेको थियो ।

मुम्बईको जितमा कप्तान शर्माले ४८ बलमा ६७ रनको महत्वपूर्ण योगदान दिए । आफ्नो पालीमा तीन छक्का र ६ चौका प्रहार गरेका उनी म्यान अफ दी म्याच समेत चुनिए । उनीबाहेक इभिन लेविसले ३२ रन जोड्दा हार्दिक पाण्ड्या १८ बलमा २३ रन जोड्दै अविजित रहे ।

चेन्नाईका लागि भने प्रारम्भिक ब्याट्सम्यान मुराली विजयले ३८ रन जोड्न बाहेक अन्य कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । मिचेल सन्तनर २२ रन र ड्वाइन ब्राभोले २० रन प्रहार गर्दा अन्य खेलाडी दोहोरो अंकमा रन जोड्नु अघि आउट हुन पुगे ।

चन्नाईलाई सस्तो योगफलमा समेट्न मुम्बईका लासिथ मालिङ्गा एक्लैले चार विकेट लिएका थिए । पाण्ड्या र जसप्रित बुम्राले दुई÷दुई विकेट लिएका थिए । यस्तै चेन्नाईका सन्तनरले मुम्बईको दुई विकेट लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: