मौसम पूर्वानुमान कसरी गरिन्छ ? (भिडियो सहित) « Nagarik Khabar

मौसम पूर्वानुमान कसरी गरिन्छ ? (भिडियो सहित)



काठमाडौँ । नेपालमा विसं २०२४ सालमा जलस्रोत तथा जलवायु विज्ञान विभाग स्थापना गरेर मौसमी सूचना सङ्कलन र जानकारी दिने प्रक्रिया सुरु भएको थियो । तर सर्वसाधारणका लागि भने ०२५ पुस १ देखि मौसमी प्रणालीका बारेमा जानकारी दिन थालिएको थियो ।

नेपालको हवाई उड्डयन क्षेत्रलाई मौसमी जानकारी दिनका लागि जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा स्थापना गरिएको हो । अहिले भने ५ सय ८७ स्टेसन मार्फत मौसमी सूचना सङ्कलन तथा जानकारी दिन थालिएको छ । झन्डै ३ सय जनशक्ति मौसम पूर्वानुमान महाशाखामा कार्यरत छ ।

मौसमी सूचनाकै आधारमा आज भोलि धेरै योजना बनाउने गरिन्छ । खेलकुद, पदमार्ग, पर्यटकीय क्षेत्र, खेती किसानीका लागि पनि मौसम पूर्वानुमान सूचना नभै नहुने हुन थालेको छ । पछिल्लो समय मोबाइल एप मार्फत भोलिको मौसम कस्तो हुन्छ ? भनेर आफ्नो योजना बनाउने युवाको आदत नै बनेको छ । पानी पर्ने पूर्वानुमान भएमा छाता, रेनकोट लगायतका ओत लाग्ने सामाग्री आफूसँगै लैजानमा पनि पूर्वानुमानले सहयोग गरेको छ ।

खुल्ला आँखाले वातावरण हेरेर मौसम पूर्वानुमान गर्ने जल तथा मौसम पूर्वानुमान विभागमा अहिले नयाँ नयाँ प्रविधि भित्राइएको छ । तर पनि विकसित देशको दाँजोमा मौसम पूर्वानुमानका लागि हामीसँग उच्चस्तरीय प्रविधि अझै भित्रिएको छैन । उच्चस्तरीय प्रविधिको अभावमा मौसम पूर्वानुमान चुनौतीपूर्ण बनिरहेको छ ।

मौसमको मापनमा विभिन्न तथ्याङ्कको अध्ययन र विश्लेषणका आधारमा गरिन्छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुजन सुवेदीले तापक्रम, वायुको अवस्था, बादलको अवस्था लगायतका कुरालाई आधार मानेर मौसम पूर्वानुमान गरिने बताए । विभिन्न देशको मौसमी सूचना प्राप्त गर्ने, स्याटेलाइट तस्बिर लगायतको विश्लेषणले पनि मौसमको पूर्वानुमान गर्न सजिलो हुन्छ ।

नेपालमा छिमेकी देश चीन र भारतका मौसमी सूचनाले समेत मौसमको पूर्वानुमानमा सघाई रहेको छ । भौगोलिक अवस्थाले पनि मौसम पूर्वानुमानमा समस्या ल्याउँछ । अहिले कसरी गरिन्छ त मौसमको पूर्वानुमान ? हेर्नुस् भिडियोमा

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: