सिटीलाई पछि पार्दै लिभरपुल शीर्ष स्थानमा, गोल्डेन बुटमा सलाह र मानेको प्रतिस्पर्धा « Nagarik Khabar

सिटीलाई पछि पार्दै लिभरपुल शीर्ष स्थानमा, गोल्डेन बुटमा सलाह र मानेको प्रतिस्पर्धा



लण्डन । लिभरपुल पुनः इंङ्लिस प्रिमियर लिग अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा हडर्सफिल्ड टाउनलाई ५–० को भारी अन्तरले पराजित गर्दै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा फर्किएको हो ।

लिभरपुल शीर्ष स्थानमा उक्लदा दुई अंकले पछि परेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा झरकेको छ । यद्यपि लिभरपुलको तुलनामा म्यान सिटीले अझै एक खेल खेल्न बाँकी रहेकाले इंङ्लिस प्रिमियर लिग उपाधि होड थप रोचक बनेको छ । प्रिमियर लिगमा दुई खेल खेल्न वाँकि रहेको लिभरपुलको ३६ खेलबाट ९१ अंक पुगेको छ भने तीन खेल बाँकी रहेको सिटीको ३५ खेलबाट ८९ अंक भएको छ ।

शुक्रबार आफ्नै मैदान एन्डफिल्डमा भएको खेलमा लिभरपुलले सशक्त फुटबल खेल्दै उपाधि होडमा आफूलाई कायम राखेको हो । लिभरपुलले खेलको पहिलो मिनेटबाटै अग्रता बनाएको थियो ।

लिभरपुुलले प्रिमियर लिग अंक तालिकाको पुछारमा रहेको हडर्सफिल्डविरुद्ध प्रतियोगिताकै आफ्नो सर्वाधिक छिटो गोल समेत गर्न सफल भयो । विपक्षी रक्षकको गल्तीमा प्राप्त बललाई नियन्त्रणमा लिदै मोहम्मद सलाहले दिएको पासमा गोल गर्दै नावी केइटाले खेल सुरु भएको १५ सेकेण्डमै लिभरपुललाई १–० ले अघि बढाएका थिए ।

त्यसपछि खेलको २३औं मिनेटमा एन्ड्रयू रोवर्टशनले क्रस गरेको बलमा हेडिङ गोल गर्दै साडियो मानेले टोलीको अग्रता २–० मा पु¥याए । पहिलो हाफको इन्जुरी समयमा एलेज्यान्डर आर्नाेल्डले अगाडि दिएको बललाई सलाहले गोलमा परिणत गर्दा लिभरपुल ३–० ले अघि बढेको थियो । त्यससँगै लिभरपुल पहिलो हाफको खेलमा ३–० ले अघि रह्यो ।

लिभरपुलका लागि चौथो गोल मानेले ‘हेड’मार्फत खेलको ६६औं मिनेटमा गरे । यस्तै सलाहले खेलको ८३ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुलको जित ५–० ले पक्का बनेको थियो ।

टोलीको जितमा महत्वपूर्ण योगदान पु¥याएका सलाह र माने दुवै यो सिजन गोल्डेन बुटका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । शुक्रबारको खेलपछि सलाह र माने दुवै प्रिमियर लिगको जारी सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीका सूचीको शीर्ष दुई स्थानमा पुगेका छन् । सलाहको २१ गोल पुगेको छ भने मानेको २० गोल पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: