विश्व समुदायलाई बिआरआईमा सहभागी हुन चिनियाँ राष्ट्रपति सीको आग्रह « Nagarik Khabar

विश्व समुदायलाई बिआरआईमा सहभागी हुन चिनियाँ राष्ट्रपति सीको आग्रह



चिनियाँ राष्ट्रपति सि चिनपिङले विश्व समुदायलाई नै आफूले अघि सारेको तथा चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)मा सहभागी हुन आग्रह गरेका छन् ।

उनले चीनको सो महत्त्वाकांक्षी आयोजनामा सहभागिताका लागि विश्वका नेताहरुलाई आग्रह गरेको चिनियाँ राजधानी बेइजिङबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
बेइजिङमा जारी बिआरआई सम्मेलनलाई शनिबार सम्बोधन गर्दै राष्ट्रपति चिनपिङले सो धारणा राखेका हुन्। उनले चीनको उक्त आयोजनामा थप देशहरुलाई आवद्ध हुन आग्रह गरेको समाचारमा जनाइएको छ ।

उक्त सम्मेलनमा युरोप, अफ्रिका, एसिया, ल्याटिन अमेरिकाका विभिन्न ३७ देशका राज्य तथा सरकार प्रमुखहरु उपस्थित छन् । उनीहरु शनिबार पनि बेइजिङ नै छन् ।

तीन दिने सो सम्मेलनको शनिबारको सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति चिनपिङले भने, ‘हामीले संसारमा खुला अर्थतन्त्रको विकास गर्नुपर्छ र संरक्षणवादको विरोध गर्नुपर्छ ।’

सो सम्बोधनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इटालियन प्रधानमन्त्री गुसेप कान्ट, पाकिस्तानी प्रधानमन्त्री इमरान खान लगायतको सहभाागिता रहेको थियो ।

सो सम्मेलनमा राष्ट्रपति चिनपिङले चीन उक्त आयोजनामा बढीभन्दा बढी देशको सहभाागिता चाहेको र यसबाट विश्वका विभिन्न देश पनि लाभान्वित हुन भन्ने चाहेको धारणा राखे । साझा चासो र सबैको आर्थिक विकास चीनले यस आयोजनाबाट चाहेको उनले बताए । त्यसैले धेरैभन्दा धेरै देश एवम् कम्पनीहरुको सहभागिता यसमा होस् भन्ने चाहना आफूहरुको रहेको पनि उनले बताए ।

तर पनि कतिपय विश्वका देशहरुले चीनको यो आयोजना महत्वाकांक्षी रहेको र यसबाट चीनले संसारमा आफ्नो प्रभाव र व्यापार विस्तार गर्ने भित्री चाहना राखेको भनेर पनि आलोचना गर्ने गरेका बताइन्छ ।

उक्त सम्मेलनमा विश्वका विभिन्न ३७ देशका राष्टपति र प्रधानमन्त्री छन् भने विश्वका १४० भन्दा बढी देशको सहभागिता रहेको छ । बिआरआइलाई चीनले केही वर्षयतादेखि ठूलो महत्त्व दिँदै आएको छ । चीनको राष्ट्रपतिमा सि निर्वाचित भएपछि नै यस आयोजनालाई उनले अरु आयोजनाभन्दा बढी महत्व दिएर अघि सारेका थिए ।

चीनले हरेक दुई वर्षमा यो सम्मेलन गर्दै आएको छ । यस पटकको सम्मेलनमा पनि बेइजिङमा यस बिआरआई आयोजनाको सम्भाव्यता, यसबाट चीन र अरु विश्वका देशहरुमा पर्ने प्रभाव र फाइदाका विषयमा छलफलहरु जरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: