गुल्मीमा झाडापखाला बिरामीको सङ्ख्या १६० पुग्यो « Nagarik Khabar

गुल्मीमा झाडापखाला बिरामीको सङ्ख्या १६० पुग्यो



गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित वडागाउँको दजाकोटमा दूषित पानीका कारण गत आइतबारदेखि फैलिएको झाडापखाला शनिबारसम्म नियन्त्रणमा आउन सकेको छैन । झाडापखालावाट बिरामी हुनेको सङ्ख्या शनिवार अपरान्हसम्म १६० पुगेको उपचारमा सम्लग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले बताए ।

ती बिरामीमध्ये पाँच जनाको तम्घासस्थित गुल्मी अस्पतालमा उपचार भइरहेको र एक जनाको चितवनस्थित भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य बिरामी भने दजाकोटमै सञ्चालित अस्थायी शिविरमा उपचारपछि घर फर्कने गरेको संयोजक जिसीले जानकारी दिए । गुल्मी अस्पतालका डा उत्तम पचभैयाका अनुसार उपचार गराउन आएका पाँचैजनाको दिसा परीक्षण गर्दा सबैको दिसामा एकै प्रकारको परजीवी देखिएका कारण पानीमा सङ्क्रमण हुनसक्ने बताए ।
झडापखालाको कारण पत्ता लगाउन पानी परीक्षण गर्न विश्व स्वास्थ्य सङ्गठनको एक टोली शनिवार प्रभावित क्षेत्रमा पुग्ने गरेको छ । मुसिकोट नगरपालिकाको स्वास्थ्य शाखाले प्रभावित क्षेत्रमा स्थानीय विद्यालयमा अस्थायी शिविर सञ्चालन गरी बिरामीको उपचार गरिरहेको छ भने जिल्ला स्वास्थ्य कार्यालय र गुल्मी अस्पतालका चिकित्सक सहितका स्वास्थ्कर्मीको टोली प्रभावित क्षेत्रमा पुगेर बिरामीको उपचार गर्दै आएको छ ।
डा उत्तम पचभैयाका अनुसार अहिले त्यस क्षेत्रमा फैलिएको झाडापखाला विस्तारै नियन्त्रणमा आउन लागेको र बिरामीको अवस्था समेत सामान्य बन्दै गएकोे छ ।

प्रभावित क्षेत्रमा खानेपानीको समस्या

झाडापखालावाट प्रभावित दजाकोटको सिङ्गो बस्तीमा यतिबेला मानिसलाई पिउने पानीको समस्या भएको छ । विगत एक वर्षदेखि नियमित ८५ घरपरिवाले उपभोग गर्दै आएको पानी दूषित बनेपछि स्थानीयवासीले यति बेला उक्त पानी पिउन छाडेका छन् ।
गाउँमा पानीको मुहान नभएपछि केही टाढा रहेको तालखोला भन्ने स्थानबाट नगरपालिकाले शुक्रबारदेखि ट्याङ्करमा पानी बोकेर स्थानीयवासीलाई वितरण गर्दै आएको छ । पानीको सङ्क्रमणबाट मानिस थप बिरामी नहोउन् भनेर नगरपालीकाले उक्त स्थानमा झाडापखाला नियन्त्रणमा नआउँदासम्म शुक्रबारदेखि प्रत्येक घरपरिवालाई पिउनका लागि एक कार्टुनका दरले मिनरल वाटर उपलब्ध गराएको नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताए ।
नगरपालिकाले झाडापखालाबाट बिरामी भएकालाई उपचारका लागि आवश्यक बजेट उपलब्ध गराउने र उपचारमा कुनै कमी हुन नदिने जनाएको छ । अहिले प्रभावित बस्तीमा नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिले स्थानीयवासीलाई सरसफाइ सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन् ।
झडापखालाको प्रकोप देखिएको उक्त ठाउँका मानिसमा शुरुमा पेट दुख्ने, बेहोस हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पखाला लाग्ने र ज्वरो आउनेजस्ता लक्षण देखिएको उपचारमा सम्लग्न चिकित्सकले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: