नागरिकतालाई सत्ता टिकाउने माध्यम बनाईयो: सूर्यनाथ उपाध्याय « Nagarik Khabar

नागरिकतालाई सत्ता टिकाउने माध्यम बनाईयो: सूर्यनाथ उपाध्याय



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले नागरिकतालाई सत्ता टिकाउने माध्यम बनाउदै गए मुलक नै नरहने चेतावनी दिएका छन् । नागरिकता विधेयक विरुद्ध संघर्ष समन्वय समितिले शनिवार काठमाडौंमा गरेको कार्यक्रममा उनले राजनीतिक दलका नेताहरुले नागरिकतामा कडाई गर्नुको सट्टा सत्ता टिकाउने माध्यम बनाएको आरोप लगाए । उनले विदेशीलाई कसरी नागरिकता दिलाउन सकिन्छ भनी गरेका कसरत नै राष्ट्रघाती कसरत भएको टिप्पणी गरे ।
उपाध्यायले सत्ता टिकाउने सवालमा विदेशीलाई नेपाली नागरिकता दिने काम वषौंदेखि चल्दै आएको गलत प्रवृति रहेकाले त्यसका विरुद्ध आवाज नउठाए एकदिन मुलुकको अस्तित्व नै समाप्त हुने चेतावनी दिए ।
विसं २०६३ साल देखि नै विदेशीलाई नेपाली नागरिकता दिलाउने सन्र्दभमा नेताहरुले मुलुकभित्रैबाट विभिन्न प्रपञ्ज गर्ने गरेको दाबी पनि उपाध्यायको छ । उनले शान्ति सम्झौता पछि बनेको नागरिकता ऐन २०६३ का आधारमा नागरिकता बाड्ने काम नै ठूलो राष्ट्रघाती कदम भएको टिप्पणी गरे ।
अंगीकृत नागरिकका छोराछोरीलाई वंशजको नागरिकता दिनु हुँदैन भन्ने अभियान चलाउने मध्यका एक साध्यबहादुर भण्डारीले संविधान संसोधन गरेर विदेशीले नेपाली नागरिकता पाउने सम्पुर्ण प्वाल बन्द गर्नुको सट्टा सरकारले तक्मा लगाउने काम गरेको आरोप लगाए ।
संसदको राज्यव्यवस्था समितिमा नागरिकता विधेयक सम्बन्धी छलफल चलिरहेका बेला गृहमन्त्रालयको निर्देशनमा नागरिकता वितरणको काम हुन थालेपछि यसको चौतर्फी विरोध हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: