काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकासका समाचार नसमेट्ने टेलिभिजन र मोबाइलबाट सामाजिक सञ्जालमा विकृति फैलाएको मात्र हेर्नेहरु ‘पिँजडाका चरी’ बन्ने बताएका छन् ।
काभ्रेपलाञ्चोकका सहकारी अभियन्ता दिलीप शर्माद्वारा लिखित ‘सहकारीको सारथी’ नामक पुस्तक शनिबार विमोचन गर्दै उनले भने, ‘विकास हेर्ने दिमाग बक्समा सीमित पारेर सकुचित बन्नु हुन्न, पहिला बक्सबाट दिमाग निकाल्नुस् अनि विकास हेर्न राजमार्ग र गाउँगाउँमा दौडनुस् । टेलिभिजन र मोबाइलमा कोकोहोलो मच्चाउनेको दिमाग ‘बक्सदेखि बक्ससम्म’ मात्रै हुन्छ, त्यस्ता क्रियाकलाप हेरेर पिँजडाका चरी नहुनोस् ।’
‘सरकारको चालू योजना र निकट भविष्यका योजनाबारे राम्रोसँग बुझेपछि मात्रै आलोचना गर्नुस्,’ उनले भने, ‘सकारात्मक सोच र चिन्तनले मात्रै सही दृष्टि बन्छ, अब दृष्टि बदल्नु जरुरी छ ।’ मन्त्री बाँस्कोटाले सरकारले विद्यालय पुनःनिर्माणको कामलाई तीव्रता दिइरहेको बताए ।
उनले अधिकांश सञ्चार माध्यमले विकासका कामलाई प्रकाशन प्रसारण गर्न कञ्जुस्याइँ गरेको आरोप लगाए । मन्त्री बाँस्कोटाले वर्तमान अवस्थामा ५२ प्रतिशत नेपालीमा श्रमशक्ति भएकाले समृद्धिको अभियानमा अवसर भएको बताए ।