नामिबिया र पपुवा न्युगिनीलाई पनि एकदिवसीय टोलीको मान्यता « Nagarik Khabar

नामिबिया र पपुवा न्युगिनीलाई पनि एकदिवसीय टोलीको मान्यता



विन्दहोइक (नामिबिया) । नामिबिया र पपुवा न्युगिनीले पनि एकदिवसीय टोलीको मान्यता प्राप्त गरेका छन् । नामिबियामा जारी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुई प्रतियोगितामा शीर्ष चार भित्र रहने निश्चित गर्दै आयोजक नामिबिया र पपुवा न्युगिनीले एक दिवसीय टोलीको मान्यता प्राप्त गरेका हुन् ।

यसै प्रतियोगिताबाट यस अघि अमेरिका र ओमानले पनि एक दिवसीय टोलीको मान्यता सुरक्षित गरिसकेका छन् । यी चारवटै टोलीले चार वर्षपछि भारतमा आयोजना हुने विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको रुपमा सञ्चालन हुने आईसीसी विश्वकप क्रिकेट २०२३ लिग दुई प्रतियोगिताका लागि समेत छनोट निश्चित गरको छन् ।

आईसीसीले जारी डिभिजन दुई प्रतियोगिताको शीर्ष चारमा रहने टोलीलाई एकदिवसीय टोलीको मान्यतासहित विश्वकप छनोटका लागि सञ्चालन हुने लिग दुई प्रतियोगितामा अवसर दिने निर्णय गरेको थियो । सोही नियमअनुसार अमेरिका, ओमान, नामिबिया र पपुवा न्युगिनीले आफूलाई एकदिवसीय टोलीको मान्यतासहित आगामी विश्वकपको छनोट प्रकृयामा समेत सहभागी गराउँन सफल भएका हुन् ।

आईसीसीले यो वर्षबाट विश्व क्रिकेट लिग डिभिजनको संरचना हटाएर नयाँ संरचना तय गरेको छ । जसअनुसार एकदिवसीय टोलीको मान्यता पाएका टोलीहरूले एकअर्काविरुद्ध लिग दुई प्रतियोगितामा प्रतिस्पर्धा गर्दै विश्वकपसम्मको यात्रा तय गर्न सक्ने छन् । लिग दुई प्रतियोगितामा यस अघिनै एकदिवसीय टोलीको मान्यता प्राप्त गरिसकेका नेपाल, संयुक्त अरव ईमिरेट्स (यूएई), स्कटल्याण्डसहित हालै एकदिवसीय टोलीको मान्यता सुरक्षित गरेका अमेरिका, ओमान, नामिबिया र पपुवा न्युगिनीले प्रतिस्पर्धा गर्ने छन् । दुई वर्षसम्म चल्ने लिग दुई प्रतियोगिता होम एण्ड अवेका आधारमा खेलिने छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: