घरेलु मैदानमा टोट्टनहामको पहिलो हार « Nagarik Khabar

घरेलु मैदानमा टोट्टनहामको पहिलो हार



लन्डन । टोट्टनहाम हर्टस्परले इंङ्लिस प्रिमियर लिगअन्तर्गत आफ्नो नयाँ मैदानमा भएको खेलमा पहिलो पराजय बेहोरेको छ । टोट्टनहाम शनिबार भएको खेलमा वेष्ट हामसँग १–० ले पराजित भयो ।

पराजयसँगै टोट्टनहामलाई अर्काे सिजनका लागि युरोपियन च्याम्पियन्स लिगको छनोट मुस्किल बनेको छ । टोट्टनहामले आफ्नो नयाँ स्टेडीयममा खेलेको पाँचौ खेलमा पराजय बेहोरेको हो । अघिल्ला चार खेलमा भने टोट्टनहामले जित हात पारेको थियो, जसमा आठ गोल गरेको थियो ।

मिचेल एन्टोनीयोले ६७औं मिनेटमा गरेको एक मात्र गोल वेष्ट हामको जितमा निर्णायक बन्यो । ३६ खेलबाट ७० अंक बनाएको टोट्टनहाम अंकतालिकाको तेस्रो स्थानमा रहेको छ । यद्यपि तीन अंकले पछि रहेको चेल्सी, चार अंकले पछि रहेको आर्सनल र ६ अंकले पछि रहेको म्यानचेस्टर युनाइटेडले एक÷एक खेल कम खेलेकाले टोट्टनहामलाई मुस्किल देखिएको हो ।

इङ्लिस प्रिमियर लिग अंकतालिकाको शीर्ष चार स्थान भित्र रहने टोली युरोपियन च्याम्पियन्स लिगका लागि छनोट हुने प्रावधान रहेको छ । आइतबार आर्सनलले लेस्टर सिटी र चेल्सीले म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्दै छ । यी खेलमा आर्सनल र चेल्सी विजयी बनेको अवस्थामा टोट्टनहामलाई मुस्किल हुने छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: