द्वन्द हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री थापाको निर्देशन « Nagarik Khabar

द्वन्द हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री थापाको निर्देशन



काठमाडौं । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले राज्यको सार्वभौमसत्ता राष्ट्रिय अखण्डताको सुरक्षा महत्वपूर्ण भएको बताएका छन् । धनुषाको जनकपुरधाममा आयोजित २ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दे गृहमन्त्री थापाले राज्यको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डताको सुरक्षा महत्वपूर्ण भएको विचार व्यक्त गरेका हुन । त्यसक्रममा उनले संविधान विरोधी गतिविधि हुन नदिन सबै सुरक्षा निकायले चनाखो भई अझ सक्रिय रुपमा काम गर्न निर्देशन दिए । ‘धार्मिक, क्षेत्रीय, वर्गीयलगायत कुनै पनि किसिमका द्वन्द्व हुन नपाउने गरी सुरक्षा व्यवस्था मिलाउन म सबै सुरक्षा अंगहरुलाई आग्रह गर्दछु’, उनले भने ।
२ नम्बर प्रदेशमा विद्यमान शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहेको चर्चा गर्दै गृहमन्त्री थापाले बारा र पर्सामा हावाहुरीबाट सिर्जित विपद पीडितहरुको उद्दार र राहत कार्यमा सबै सुरक्षा निकायले देखाएको सक्रियताको प्रशंसा समेत गरेका छन् । लागूऔषध दुर्व्यसनी, मदिरा सेवन लगायतबाट सिर्जित सामाजिक अपराध र समाजमा विद्यमान सामाजिक कुरीतिलाई न्यूनिकरण गर्ने कार्यमा नेपाल प्रहरीले कार्यान्वयनमा ल्याएको समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पृष्ठपोषण प्राप्त भइरहेको हुँदा यसलाई अझ सुदृढ र सबल बनाउँदै लैजानुपर्नेमा उनले जोड दिएका थिए ।
सो अवसरमा गृहसचिव प्रेम कुमार राईले प्रमुख जिल्ला अधिकारीहरु तथा सुरक्षा समितिका पदाधिकारीहरुले इमानदारीपूर्वक प्रचलित कानूनको कार्यान्वयन गर्ने तथा जनअपेक्षालाई सम्बोधन हुने गरी कार्य गर्नुपर्ने बताए । राष्ट्रसेवकहरु नै आमनागरिकका लागि अनुकरणीय बन्नुपर्ने बताउँदै उहाँले समुदायप्रहरी साझेदारी कार्यक्रम नेपाल प्रहरी मात्रको नभई शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि सबै सरोकारवाला निकायको साझा कार्यक्रम रहेको हुँदा कार्यक्रमलाई अझै सुदृढ र व्यापक बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
सुरक्षा गोष्ठिमा २ नम्बर प्रदेश अन्तर्गतका ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा विपद व्यवस्थापन सम्बन्धी जानकारी गराएका थिए । गोष्ठीमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता राम कृष्ण सुवेदी, सहसचिव ईन्दु घिमिरे, २ नम्बर प्रदेश अन्तर्गत ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू लगायत सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: